मुलुकको प्रमुख प्रदेशद्वार वीरगंजको विभिन्न ठाउँमा ढाट राखेर अवैध तरिकाले सवारी साधानहरुसँग रकम संकलन गर्ने काम भइरहेको छ । यो काम नयाँ भने होइन । त्रिभुवन राजपथ अन्तर्गत पर्ने यहाँका सडकमा नियम विपरित ठेक्केदार मार्फत कर संकलन भइरहेको हो ।
स्थानीय प्रहरी पनि यो कुरामा मुखदर्शक देखिएको छ । स्थानीय सरकारले सिमित ठाउँको जिम्मेवारी दिएको भनी टेण्डर लगाएर ठेकदारमार्फत रकम संकलन गर्न नमिल्ने ठाउँमा पनि ढाट नै राखेर रकम संकलन गराइरहेको स्थानीयको गुनासो छ । वीरगंज मुख्य भन्सार कार्यालय, आईसिपी र इनर्वाबाट निस्कने सवारीहरुमा हाकाहाकी नियम विपरित आर्थिक संकलन हुने गरेको उनीहरुको भनाइ छ । पर्सामा वीरगंज महानगरपालिका र बारामा जीतपुरसिमरा उपमहानगरपालिकाले स्थानीय सडक उपयोगिता शुल्क भनि तोकेरै विभिन्न सहायक सडकहरुमा ठेक्का दिएकोमा ठेक्केदारहरुले त्रिभुवन राजपथ मै ठेक्का उठाइरहेको पाइएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ को उपदफा २ (घ) बमोजिम सडक उपयोग (शुल्क) ठेक्का वीरगंज महानगरपालिकामा आयरा निर्माण सेवा र जितपुर सिमरा उपमहानगरपालिकामा प्रभु साहले ठेक्का पाएका छन् । वीरगंजमा आयरा निर्माण सेवाका राज प्रताप सिंहले लिएको ठेक्का विरेन्द्र पटेलले आफ्ना हर्ताकर्ता लगाएर जबरजस्ती उठाइरहेका छन् भने जितपुरमा प्रभु साहले पाएको ठेक्का वीरगंज महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष हबिव मियाँका छोरा अलिराज मियाँले आफ्ना नजिकका युवाहरु परिचालन गरी जबरजस्ती उठाइरहेको प्रत्यक्षदर्शीले बताए । नियम विपरित भइरहेको यस्ता कार्यको समाचार संकलन गर्न जाँदा ठेक्केदारहरुले भने धाक धम्की सहित क्यामरा खोप्न समेत अग्रसर हुने गरेको केही पत्रकारले पनि खुलासा गरे ।
वीरगंज महानगरपालिकाले दिएको ठेक्कामा आफ्नो क्षेत्राधिकार मिचेर विरेन्द्र पटेलको समुहले ड्राईपोट सडकखण्ड अलौ चोक, बहुअरी चोक, अपौनी चोक, जगरनाथपुर चोक र ईनर्वास्थित वीरगंज भन्सार भएर परवानीपुर तर्फजाने ट्रकबाट रजत जयन्ती चोक, प्रतिमा चोक र गण्डक चोकमा करका नाममा आर्थिक संकलन गरिरहेका छन् । उता जितपुर सिमरा उपमहानगरपालिकाले दिएको क्षेत्राधिकारभन्दा त्रिभुवण राजपथ मै वडा अध्यक्षका छोरा अलि मियाँले परवानीपुर, नितनपुर चोक लगायतको सडक खण्डमा ढाठ लगाएर जबरजस्ती कर संकलन गरिरहेको छ ।
जबकी जितपुर सिमरा उपमहानगरपालिकाले बारामा सिमरा डुमरवाना सडक, पूर्वपश्चिम राजमार्गको ५ किलोमिटरदेखि राजघट्टा सम्मको सडक, त्यस्तै जीतपुर चोकदेखि टेडा रोड सडक, जितपुर–फतेपुर सडक, नितनपुर–बेहरा सडक, शिवशक्ति घ्यु, नितनपुर एग्रो केम सडक, आरएमसी सडक, नन्दन गणपति सडक, त्रिवेणी सिम पैक, नेशनल हेल्थ सडक, जैतापुर भोडाहा सहजनाथ, अमलेखगंज रतनपुरी, बन्जरिया–इनर्वासिरा, परवानीपुर भलुही सडक खण्डमा पनि आर्थिक संकलन गर्न तोकेरै दिएको छ ।
यता वीरगंज महानगरपालिका नगर कार्यपालिकाको कार्यालय वीरगंजले समेत महानगर सडक खण्डको गण्डक नहर चोक, रजतजयन्ती गेटको उत्तरतर्फ, एकीकृत चेकपोष्ट भन्सार एरियाभन्दा बाहिर, भिस्वा चोक, रेल्वेलाइन सडक इनरवाइपास, लक्षमनवा नहर छेउ, मिलन चोक, रानीघाट पुल, ल्याण्डफिल साइट, पदम रोड, विन्दवासनी चोक, रामगढवा चोकमा कर संकलन गर्न तोकेरै दिएको छ । तर अवैध रुपमा रकम संकलन गरिरहेको छ । महानगर भित्र पर्ने सडकमा उठाउनु पर्ने कर भारत तथा तेस्रो मुलुकबाट आउने मालबाहक ट्रकबाट संकलन गरिरहदाँ सम्बन्धित निकायको मौनताले भारतीय चालकहरु बढी प्रभावित भएको जानकारहरुको तर्क छ ।
अवेर राति प्रहरी कै संरक्षणमा अवैध रकम तिर्नु परेको चालक संतोष प्रजाको भनाइ छ । भारत तथा तेस्रो मुलुकबाट आयात हुने सामान बोकेर वीरगंज भन्सार, आईसिपि, ड्राइपोर्ट लगायत क्षेत्रबाट आउने प्रत्येक ट्रकसंग वीरगंज महानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिले अवैध रकम उठाएर देशकै बेइजति गरेको पनि वीरगन्जका बुद्धिजिबीहरुले तर्क गरे । जिल्ला प्रशासन कार्यालय पर्साले भने यस विषयमा नोटिस भएकाले सम्बन्धित जिल्ला प्रहरी र महानगरलाई पत्र लेखेर कार्वाही प्रकृया अगाडी बढाउन निर्देशन दिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले दावी गरे ।
आर्थिक भारवहन सवारीबाट नियमसँगत रुपमा राजश्व संकलन गर्ने भनिए पनि स्थानीय सरकार समेत मौन रहेको देखिन्छ । तोकेरै मापदण्ड दिए पनि ठेक्केदारहरुले मनोमानी रकम उठाइरहदाँ स्थानीय सरकारले नियमन नगरेको प्रष्ट छ । यो बिषयमा वीरगंज महानगर र जितपुरसिमरा उपमहानगर खासै खुलेर बोलेनन् । हामी बुझ्छौं दायरा बाहिर कोही गएको रहेछ भने सचेत गराउँछौं ती स्थानीय तहले जनाए ।