वीरगंज । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको समय तोकेसंगै पर्सा जिल्लामा पार्टी अदल बदल गर्ने परिपार्टी बढ्यो । जसमा अधिकांश नेताको रोजाई जसपा र एमाले रहयो । पर्सामा जसपाबाट निर्वाचित क्यौं नेता कार्याकर्ता एमाले रोजिसेकका छन् भने जसपाले पनि लोसपा पर्साका दिग्गज नेताहरुलाई जसपामा प्रवेश गराई सकेको छ ।
स्थानीय तहमा चुनाव लड्न पार्टीको सिद्धान्त र विचारभन्दा पनि टिकट पाउँने होडले पर्साको बहुदरमाई नगरपालिकाका नगर अध्यक्ष सिंगासन साह तेली पनि पछिल्लो समय एमालेसंग वार्तामा जुटेको जसपा र एमाले दुबै तर्फका नेता बताउँछन् । गत स्थानीय निर्वाचनमा मेयर पदमै चुनाव लडेका पन्नालाल साहले नै टिकट पाउने आंशका देखेपछि सिंगासन साह बहुदरमाई नगरपालिकाको मेयर पदमा लड्न टिकटको लागि करिब २० दिन पहिले लगातार ४/५ दिनसम्म एमाले पार्टी पर्साका जिल्ला अध्यक्ष प्रभु हजरा, पूर्व सांसद राजकुमार गुप्ता लगायतका नेताहरुसंग छलफल गरेको जसपा र एमालेका नेताहरु नै बताउँछन् ।
सुरुमा एमालेले सिंगासन साहलाई टिकट दिन स्वीकारी सकेपनि बहुदरमाई–४ बहुअरीका वडाध्यक्ष रामरेखा सिंह लगायतका कार्यकर्ताहरुलाई चुनाव लड्न एमालेले टिकट दिन नसकिने भनेपछि पार्टी प्रवेश कार्यक्रम विथोलियो । एमालेले कुनै हालतमा वडा नं. ४ मा वडाध्यक्षका आंकाक्षी सुरेन्द्र यादवको टिकट काट्न नसकिने दाबी गरेपछि सिंघासन साहको एमाले प्रवेश गर्ने कुरा बिथोलिएको थियो । तर पछि आफूले एक्लै मेयरको मात्र टिकट पाए पनि सम्पुर्ण समर्थकहरुसहित एमाले प्रवेश गर्ने जसपाका नगर अध्यक्ष साहले भने पनि राजनीतिक योग्यता र स्वयम निर्णय लिन नसकी अरुको कुरामा चल्ने, बोल्ने रवैया देखेपछि एमालेले साहलाई पार्टीमा नभित्रयाएको एमाले पर्साका नेता बताउँछन्। पहिलेदेखी नै एमालेबाटै मेयरमा लड्न टिकट पाउँने कसरतमा रहेका लोसपा पर्साका चर्चित नेता शिव पटेललाई नै अन्नतः एमालेले मेयर पद लडाउन पार्टी प्रवेश गरायो ।
गत स्थानीय चुनावमा कांग्रेसबाट टिकट नपाएपछि सिंगासन साह पार्टी छोडेर स्वतन्त्र चुनाव लडेका थिए । त्यसपछि संघीय र प्रदेशको चुनावमा संघीय सांसद बिमल श्रीवास्तव र जसपा पर्साका अध्यक्ष रामनरेश यादव तत्कालिन संघीय समाजवादी पार्टीमा प्रवेश गराएको जसपा पर्साका नेता बताउँछन् । कांग्रेसमा हुँदा अहिलेका प्रदेश सांसद राजेश्वर साहका नजिकी रहेका साहले जसपा प्रवेश गरे पनि प्रदेश सभा सदस्य पदको लागि पर्सा क्षेत्र नं. २ को ‘क’ बाट रामनरेश यादव र राजेश्वर साह बिच भएको दुई पक्षीय लडाईमा सिंघासन साहले मौन समर्थनमा राजेश्वर साहलाई नै सघाएको नाम नराख्ने शर्तमा जसपाका एक जना नेताले बताउँछन् ।
कांग्रेसका राजेश्वर साहसंग रामनरेश यादव झिनो मतले मात्रै पराजित भएका थिए । यादव जितेको भए मधेश प्रदेश सरकारमा मन्त्री बन्ने चर्चा पनि धेरै थियो । तसर्थः बहुदरमाईको मेयरको टिकट सिंगासन साहले नै पाए हार वा जितपछि पार्टीमा नै बसी रहने विश्वास नरहेको जसपाका नेताहरुकै आशंका छ । तर, यता पन्नालाल साह चुनावमा हार व जित जे भए पनि पार्टीको साथमा सधै काँधमा काँध मिलाएर चल्ने देखिदा टिकट पनि पन्नालाल साहलाई नै दिईनु पर्ने दबाब बढ्दै छ ।
अतः जसपाका एक नेताका अनुसार चैत्र २० गतेसम्म कसले टिकट पाउँने भन्ने कुरो टुङ्गो पनि लागि सक्नेछ । तर एउटा कुरा के साफ छ भने सिंगासन साहले टिकट पाएको खण्डमा पन्नालाल साह पनि जसरी भएपनि चुनाव लड्ने नै मुड बनाएका छन् र पन्नालाल साहले पनि टिकट पाएको खण्डमा सिंगासन साहले पनि जसरी भए चुनाव लड्ने नै पक्षमा देखिएका छन् । तर, पार्टीले जसलाई टिकट दिन्छ उसैको साथमा नगरको सबै संगठन र कार्यकर्ता रहने पनि ती नेताले दाबी गरेका छन्। तसर्थः कांग्रेस र एमाललेमा अब ठाउँ पाउन नसकिने अवस्था भएपछि टिकट नपाएको खण्डमा यी दुई मध्ये कसैले पनि पार्टी छोडेर स्वतन्त्र वा अन्य पार्टीबाट चुनाव लडे पनि जित्ने सक्ने कुनै सम्भावना नरेहको र संगठनलाई पनि कुनै फरक पर्न नसक्ने जसपाका नेताहरुले बताएका छन् ।