वीरगंज । पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव र प्रमुख प्रशासकीय अधिकृत भरत यादवले निजी व्यक्तिलाई पालिकाबाट तलब खुवाई लाखौंको विकासे बजेट लुटेको पाईएको छ । पर्सागढीका मेयर यादवको घरको भान्सामा काम गर्ने र प्रमुख प्रशासकीय अधिकृत भरत यादवको घरको निजी स्कार्पियो चलाउने चालकलाई पालिकाबाटै लाखौं बजेट खुवाईएको पाईएको हो ।
मेयर लोक नारायण यादवले आफ्नो घरको भान्साको काम गराउने मनोज कुमार सहनीलाई कार्यालय सहयोगीको नाममा प्रतिमहिना १९ हजार ६ सय ४१ को दरले तिन महिनामा ५८ हजार ९ सय २४ रुपैयाँ, घरको अन्य काम गराउने आफ्ना नजिकका व्यक्ति रामबाबु यादवलाई कुस्ती प्रशिक्षकको नाममा प्रति महिना १२ हजार दुई सय ७६ रुपैयाको दरले तीन महिनामा ३६ हजार ८ सय २८ रुपैया तलब खुवाएको नगरपालिकाको स्रोतले देखाएको छ ।
बारा निवासी प्रमुख प्रशासकीय अधिकृत भरत यादवले आफ्ना घरको स्कार्पियो चालक बाराकै कलैया उपमहानगरपालिका–१२ निवासी बिरेन्द्र यादवलाई पालिकाबाट प्रतिमहिना २२ हजार एक सय ८८ रुपैयाको दरले तीन महिनामा ६६ हजार ५ सय ६६ रुपैयाँ तलब खुवाएको पालिकाको तथ्याङकले नै देखाएको छ । अधिकृत यादवले आफ्ना बर्डिगाडको रुपमा राखेका बाराकै अर्का रामेश प्रसाद यादवलाई कार्यालय सहयोगीको नाममा १९ हजार ६ सय ४१ रुपैयाँको दरले तीन महिनामा ५८ हजार ९ सय २४ रुपैयाँ तलब खुवाएको पाईएको छ ।
चालु आर्थिक वर्षमा पर्सागढीमा अधिकृत भरत यादव आएदेखी नै घरको गाडी चालक बिरेन्द्र यादव र आफ्ना आफन्त पर्ने रामेश यादवलाई कार्यालय सहयोगीको नाममा बर्डिगाड राखी तलब खुवाउँदै नगरपालिकाको बजेट दुरुपयोग गरेको नगरपालिका स्रोतले जनाएको छ ।
आफ्ना नजिकका र घरायसी काम गर्ने दुई जनालाई मेयर यादवले अबैधानिक तरिकाले विकासे बजेटबाट तलब खुवाउँदै आएको देखेपछि अधिकृत यादवले पनि आफ्नो हिस्सेदारी वापत घरको गाडी चालक र बर्डिगाडलाई कार्यालय सहयोगीको नाममा तलब खुवाएको बुझिएको छ । जबकी नगरपालिकामा पहिलेदेखी नै मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको गाडी चलाउने सावरी चालक रहेका छन् । जसमा प्रमुख प्रशासकीय अधिकृत यादवको सवारी चालक पुर्ण कमार श्रेष्ठ रही लतब खाँदे आएको तथ्याङमै देखिन्छ । तर अधिकृत यादवले पदको आडमा बिरेन्द्र प्र. यादवलाई पर्सागढीको सवारी चालकको नाममा तलब खुवाई बजेट दुरुयोग गर्ने गरेका छन् ।
आफ्नो घरको काम गराउनेलाई पालिकाबाट तलब दिने प्रश्नमा मेयर यादवले यो गलत कुरा भएको बताए पनि नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृतले सवारी चालक हुँदा हुँदै अन्यलाई पनि त्यहीबाट तलब खुवाईदै गरेको विषयमा बोल्न चाहेनन् ।
यता प्रमुख प्रशासकीय अधिकृत भारत यादवको मोबाईल स्वीच अफ रहेको पाईयो ।