अरु पालिका झैं मुलुकको प्रमुख प्रवेशद्वार आर्थिक नगरी वीरगन्जका जनप्रतिनीधिले घोषणा गरेको प्रतिवद्धता पूरा नहुँदै अवधि समाप्त हुन थालेको छ । आर्थिक राजधानीका रुपमा रहेको वीरगन्ज महानगरपालिका मधेश प्रदेशको एक मात्र महानगर पनि हो । यो पालिकामा पनि अन्य पालिकाका जनप्रतिनीधिहरुले झैं गएको निर्वाचनका समयमा अहिलेका जनप्रतिनीधिले गरेको प्रतिवद्धता पूरा नहुँदै कार्यअवधि समाप्त हुन थालेको छ ।
दक्षिणी सीमामा अवस्थित वीरगन्जमा मुलुकको मुख्य भन्सार, एकिकृत भन्सार जाँच चौकी (आईसिपि), सुख्खा बन्दरगाह लगायत मुलुकको मुख्भ भारवहन गर्ने आर्थिक चपेटाको लपेटामा रहको महानगरको समृद्धि अपेक्षाकृत हुन नसकेको स्थानीयको गुनासो छ । आर्थिक भार वहन गर्ने यो शहर देशकै नमुना शहर बन्नु पर्नेमा वर्तमान नगरप्रमुख विजय कुमार सरावगी जस्तो नगरप्रमुखले पनि जनताका अपेक्षा पूरा गर्न नसकेकोमा महानगरवासी पूर्ण सन्तुष्ट हुन सकेनन् ।
राणा प्रधानमन्त्री वीरशम्शेरले सन् १८९७ (वि.सं. १९५४) मा बसाएको वीरगंज शहर उनकै नामबाट नामाकरण हुनु र त्यसयताको यो शहरको इतिहास पनि वीरहरुको भूमि भनी परिचित हुँदा पनि पछिल्लो महानगरको उपलब्धि सन्तोषप्रद नभएको पनि स्थानीयको दावी छ । योगदानको चर्चामा वीरगंजको नाम उच्च छ । तर त्यस अनुसारको यो शहरको समृद्धि हुन नसक्नुमा केन्द्रको हेर्ने दृष्टिकोण र स्थानीय जनप्रतिनीधिको तालमेलको अभाव रहेको प्रष्ट झल्किने स्थानीय सन्तोष जैसवालले बताए । जनप्रतिनिधि आउनु एक दशकअघि देखि वीरगंजलाई यहाँका व्यापारिहरुले ग्रेटर वीरगंज, वृहत्तर वीरगंज, सुव्यवस्थित औधोगिक शहर लगायतको नारा दिई समुन्नत शहरका रुपमा विकास गर्न केन्द्रलाई दवाव दिंदै आएका थिए । त्यो परिकल्पना साकार पार्ने स्थानीय सरकारका जनप्रतिनीधि नै आएपछि पनि अन्ततः त्यो लक्ष्य प्राप्तिमा प्रश्न चिन्ह खडा भएको जैसवाललको दावी छ ।
वीरगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा स्थानीय अशोक वैद्य रहेको समयमा यो शहरलाई सुुव्यवस्थित शहर बनाउन भनी नेपालका वर्तमान र पूर्व गरी पाँचवटा प्रधानमन्त्रीलाई एकै मञ्चमा बोलाएर लिखित रुपमका प्रतिवद्धता पनि गराइएको थियो । तर त्योे सम्झैता समेत अहिलेसम्म उस्ताको उस्तै छ । सो सम्झौता पत्रमा हस्ताक्षर गरेका मध्ये वर्तमान र पूर्व गरी चार प्रधानमन्त्री अहिलेको सत्तागठबन्धन सरकारको साझेदार सरकारका हर्ताकर्ता पनि छन् । तर यो शहरका लागि उनीहरुको योगदान सिन्को भाचे जति पनि नभएको सो कार्यक्रम गराई उनीहरुलाई हस्ताक्षर गराउने बरिष्ठ उद्योगी अशोक वैद्यको गुनासो छ ।
जनप्रतिनीधि आएपछि अझ यो शहरको मुहार फेर्न बल पुग्ने अपेक्षा गरेका उनी र अरु यहाँका उद्योगी व्यवसायीको पनि मन खुसी छैन । २०७४ साल असोज ११ गतेको मत परिणामले महानगरपालिकाको मेयर पदमा तत्कालिन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगीले १९ हजार ३ सय ९३ मत ल्याई निर्वाचित भएका थिए । उनले नेपाली काग्रेसका निकटतम प्रतिद्धवन्दी अजय कुमार द्विवेदिलाई २ हजार १ सय ९६ मतको अन्तरले पराजित पनि गरे । तर ती फोरमबाट जितेका महानगरका सबै जनप्रतिनीधि अहिले त्यो पार्टीमा छैनन् । न त उनीहरुको गएको निर्वाचनताकाको पार्टी नै वर्तमानमा अस्तित्वमा छ ? पार्टी नै अस्तित्वमा नभए पछि सो समयमा फोरममा रहेका नेता कार्यकर्ता अहिले जनता समाजवादी पार्टीका नाममा जनताका घरदैलो गर्न थालेका छन् । महानगरवासी भने पाँचबर्ष अस्तित्वमा नरहने पार्टीका पछाडी परेर न त शहरको विकास भयो ? न त ती जनप्रतिनीधिले नै निर्वाचनमा घोषणा गरेका काम पूरा गरे ? अनि उनीहरुलाई खोज्न परे पनि साविकको पार्टीको अस्तित्व नै नहुँदा खोजी गर्ने ठाउँ समेत नभएकोमा आफूहरु ठगिएको महसुस गरिरहेको महानगरवासी तर्क गर्न थालेका छन् । पान पसल र सेलुनहरुमा यस्तै समक्षिा गर्ने युवाहरु भेटिएका छन् । जनप्रतिनीधि छान्न सकस हुने उनीहरुले मध्यनेपालसँग तर्क गरे । आगामी निर्वाचनमा पार्टीको नाम नै अस्तित्वमा नरहने पार्टीभन्दा पाँच बर्ष पछि पनि खोजी गर्दा भेटिने पार्टीकै नेता कार्यकर्ता छान्नु पर्ला सेढवाका कृष्णमोहनले भने ।
यता वीरगन्ज महानगरपालिकाका नगरप्रमुख ( मेयर ) विजय कुमार सरावगीले भने ऐन कानून र कुनै नीतिगत आधार विनाको शुन्य अवस्थामा आफूहरु जनप्रतिनीधि भएको कारण धेरै समय नीति निर्माणमा नै वितेको बताए । तथापि महानगरको टाउको दुखाइका रुपमा रहेको फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साईटदेखि नयाँ वसपार्क, चिल्ड्रेन पार्क लगायत महानगरले सम्पन्न गरेको बताए । वीरगंजलाई व्यवस्थित तथा जनताले अनुभुति हुने खालको विकास गरेर देखाउने अथाह सम्भावना भए पनि पर्याप्त ऐन कानूनको अभावमा धेरै कामको सुरुवातमात्र गर्न भ्याएको उनको तर्क छ । यता जनता समाववादी पार्टीका स्थानीय नेता भने ओमप्रकाश सर्राफ भने वीरगंज महानगरको पहिचानको रुपमा रहेको पौने ४ विगाहाको माईराम पोखरी अतिक्रमण नहटाई खुम्च्याएर ११ कठ्ठामा समेटेको, नेशनल मेडिकल कलेजको बक्यौता मध्ये बाहिरी बाटोबाट १ करोडमा सल्टाएको, शिक्षक सरुवाको नाममा रकम असुली गरेको र पुनः सरुवा स्थगित गर्ने, उज्यालो वीरगंजको नाममा जनतालाई अध्यारो मै राख्ने काम गरेको दावी गर्छन् ।
संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरी चुनावमा होमिएका सरावगीको नारा थियो, संघीय समाजवादी फोरमबाट ‘अबकि बार, विकास हमनीके सरोकार ।’ भनी मेयर सरावगीको नारा ‘५ ब’ मा जोड थियो । स्थानीय तहको बेरोजगारी अन्त्य, वित्तीय सबलता, विद्यालय, बिजुली र बाटो निर्माण उनको प्रमुख प्राथमिकता थियो । ९९ बुँदाको प्रतिबद्धतामा मेयरले बालबालिका तथा शिक्षा विकासका लागि ‘स्लेट टु स्लाइड’, ‘बकरी से ब्याचलर तक’, ‘बेटी बचाई बेटी पढाइ’, महिलाको आयआर्जनका लागि सासू–बुहारी सँगसँगै, किसानका लागि हरेक खेत के पानी हरेक हात के काम अभियान सञ्चालन गर्ने आकर्षक नारा दिएको पनि स्थानीय नेपाली कांग्रेसका युवा नेता कञ्चन झाले दावी गरे । गएको निर्वाचनमा उनी समेत मेयरका विश्वासपात्र सल्लाहकार थिए ।
निर्वाचित भएको समयमा मेयर सरावगीले आफूसँग ‘भगवान’ ले दिएको सबै थोक भएकाले केही सेवा–सुविधा नलिने घोषणा गरे पनि एकवर्ष नवित्दै १ करोड ४५ लाख रुपैयाँको गाडी खरिद गरी आलोचित भएका थिए । तत्काल निर्वाचित हुँदा मेयर सरावगीले निम्न प्रतिबद्धता गरेका थिए ।
१) वीरगंजमा विगत ५० वर्षमा हुन नसकेको विकास म मेरो कार्यकालको ५ वर्षमै गर्छु ।
२) अबको तीन महिनामा अव्यवस्थित नाला, सडक र फोहोरको व्यवस्थापन गरेर वीरगंजलाई व्यवस्थित, समृद्ध र मुलुककै सर्वोत्कृष्ट महानगर बनाउछु ।
३) वीरगंज महानगरमा रहेका सबै सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यममा पठनपाठन हुने व्यवस्था गरेर बोर्डिगं स्कुल सरहको गुणस्तरीय शिक्षा प्रदान गर्नेछु ।
४) वीरगंज महानगरका हरेक गृहणीलाइ घरमै रोजगारी दिनेछु ।
५) नारायणी उपक्षेत्रीय अस्पतालमा १२ सय शैया बेडको हस्पिटल सञ्चालन गर्दै क्षेत्रीय अस्पतालको रुपमा स्तरोन्नत्ती गर्नेछु र यस अस्पताललाइ शिक्षण अस्पताल पनि बनाउनेछु ।
६) वीरगंज महानगरपालिका कार्यालयमा भोजपुरी भाषालाइ सरकारी कामकाजको भाषाका रुपमा लागु गर्नेछु ।
७) वीरगंज महानगरमा बेरोजगारीको समस्या निर्मुल पार्नेछु ।
८) वीरगंज महानगरमा रहेका सार्वजनिक जग्गा भौतिक संरचनाहरु जुन विभिन्न व्याक्ति र संघसंस्थाको कब्जामा छन्, ती सबै जग्गा र सम्पति जनताको नासो रहेकाले जनतको नासो जनताकै हातमा फिर्ता गर्न लगाउने छु ।
९) वीरगंजमा वीरगंज विश्वविद्यालय स्थापना गर्नेछु । बाकी मेरा मुद्धा र एजेण्डाहरु मेरो चुनावी घोषाापत्रमा छन् ती सबै मेरा प्रतिबद्धता मेरा लागि प्राथमिकतामा रहनेछन् ।
उक्त उनको प्रतिबद्धतालाई यतिवेला उनी एत्तर दलका स्थानीय नेताकार्यकर्ताले भने यो पटक त्यहि कुरा गरेर आफ्नो प्रचार गर्न थालेका छन् । मेयर सरावगी भने विभिन्न कारण देखाउँदै पन्छिन खोज्दैछन् । मेयरमा भने पूनः उठी आफूले प्रतिबद्धता गरेका बाँकी काम पूरा गरेरै छोड्ने उनले दावी गरेका छन् । पहिले नीति निर्माणमा बढि समय खर्चेकोले गर्दा अब खासै ऐन कानूनको अभाव नहुने हुँदा भेडेर विकास निर्माणका काम गर्न र वीरगन्जको समृद्धिको अधुरो सपना पूरा गर्न आफू एकपटकको लागि महानगरमा नै अगाडी सर्ने उनले तर्क गरेका छन् ।