महिला हिंसा न्युनिकरणका लागि सरकारी, गैरसरकारी निकायबाट कार्यक्रम संचालन गरिएको भए पनि महिला हिंसा रोक्न सकिएको छैन । दिन प्रति दिन महिला हिंसाका घटनाहरु घटेकै छन । महिला हिंसा बिरुद्ध नेपालमा कानुन बने पनि त्यस्को शसतm रुपमा कार्यन्यवन हुन नसकेको कारणले पनि महिला हिंसामा चाहे जतिको उपलब्धि हासिल गर्न नसकेको महिला अधिकारकर्मी निभा सिंह बताउनु हुन्छ । महिला हिंसाका घटनालाई राजनितिकरण गर्ने, गाउ घरमै मिलाउन खोज्ने तथा परिवारको ईज्जतसंग जोडने गरेकोले पनि महिला हिंसामा संलग्नलाई कार्वाही हुन नसकेको उनी बताउछिन । महिला हिंसामा पिडक परिवारकै भएका कारण पनि महिला हिंसाका घटनामा कडा कार्वाही हुन नसकेको हो ।
महिला हिंसा हुनुको कारणहरु थुप्रै छन त्यसमा शैक्षिक अवस्था , सामाजिक संस्कार, धार्मिक संस्कार, आर्थिक अवस्था । जसका कारण पितृ सत्तात्मक सोचले ग्रसित हाम्रो समाज र समाजमा लागु भएका मूल्य मान्यता हो । एउटा कार्यक्रमबाट यस्ता सदियौ देखि चल्दै आएको परम्परा परिवर्तन गर्न सकिदैन । यसका लागि सयम लाग्न सक्छ तर यस्ता घटनामा संलग्न पिडकलाई कानुनमा तोकिए बमोजिमको कार्वाही गर्न सकियो भने अरुले यस्तो अपराध गर्नबाट डराउछन । महिला हिंसाको घटनामा घर परिवार, श्रीमान् सासु ससुरा नै बढी संलग्न भएको पाईन्छ । महिला हिंसा तथा यस्ता अपराधमा संलग्न हुनेलाई कानुनले तोकेको कार्वाहीको बारेमा पनि आम जनतालाई अझ प्रभावकारी रुपमा चेतना जगाउन र कानुनी कार्वाहीलाई प्रभावकारी रुपमा अगाडी बढाउने की ।
लैङ्गिक एवं महिला हिंसाबाट मुक्त हुनका लागि परिवारका सदस्यहरु त्यसमा पनि विशेषगरी अहिलेका पीडक पक्षहरु छोरीचेलीको जीवनप्रति आशावादी, सकारात्मक, समझदार र विवेकशील हुनु आवश्यक छ । सासु पक्षले बुहारी पक्षलाई व्यवहार गर्दा होस् या आमा पक्षले छोरी पक्षलाई व्यवहार गर्दा होस, यी पनि हाम्रै परिवारका सदस्य हुन् र यी पनि हामी जस्तै महिला हुन् भन्ने कुरालाई उच्च प्राथमिकता दिएर तदनुरुप सहृदयीपूर्ण व्यवहार गर्नु आवश्यक छ । छोरीचेलीले हिंसा ब्यहोर्नुको पछाडि पर्दा बाहिर वा भित्र आमा एवं सासुको भूमिका कतै न कतै रहेको स्थितिलाई नकार्न सकिदैन । जब आमा र सासुबाट समेत सहयोग हुुदैन, त्यतिबेला धेरै छोरीबुहारीहरु दाजुभाइ र लोग्नेबाट पीडित भएको अवस्था देखिन्छ । त्यसैले छोरी सिर्जना, ममता र सौन्दर्यको खानी हुन् भन्ने कुरालाई आत्मसात गर्दै र हामीले हेप्दै आएकी छोरीचेलीहरु यो दुनियामा नभइदिएको भए दुनिया कस्तो हुन्थ्यो होला भन्ने कुराको समेत आकलन गर्दै छोरीचेली प्रतिका हाम्रा सोच र दृष्टिकोणहरु पुनरावलोकन गर्नु आवश्यक छ ।
लैङ्गिक हिंसाको अन्त्य एवं न्यूनीकरणका लागि लैङ्गिक हिंसाका पीडक पक्षहरुलाई हदैसम्मको दण्ड सजाय हुने गरी ऐन कानूनमा भएको व्यवस्था बमोजिम कार्वाही गर्न त्यत्तिकै आवश्यक छ । हिंसाका पीडकहरु खुलेआमा पटक–पटक हिंसा जन्य क्रियाकलापमा सहभागी हुदा पनि खुलेआमा छाती फुलाएर हिड्ने, सजाय पाए पनि एकाध दिन मामाघरमा गएजस्तो मात्रै हुने र बरु उल्टै हिंसाजन्य क्रियाकलापको सुराकी गर्दा हिंसाका पीडक पक्षबाट भयभित भएर बाच्नु पर्ने अवस्थामा महिला हिंसा घट्न सम्भव देखिदैन । यसका साथै समग्र सामाजिक दृष्टिकोण पनि महिला हिंसामा परेका पीडितको पक्षमा दरो र खरो तरीकाले उभिनुको विकल्प देखिदैन । यद्यपि हालको अवस्था त्यस्तो छैन बरु उल्टै समाजले पीडक पक्षलाई संरक्षण दिएको अवस्था छ ।
लैङ्गिक हिंसाको पूर्ण अन्त्य अहिले नै अलि कठिन छ । शारीरिक हिंसा नभए पनि मनोवैज्ञानिक हिंसाजन्य क्रियाकलापहरु कतिपय विकसित देशहरुमा पनि जिउदै देखिन्छन् । तथापि उल्लिखित कुराहरुलाई ध्यान दिएर कार्यान्वयन गर्ने हो भने न्यूनीकरण भने सम्भव छ । लैङ्गिक हिंसाको न्यूनीकरणको उत्कर्ष नै लैङ्गिक हिंसाको अन्त्य हो जस्तो लाग्छ । साच्चि लिङ्गको विभिन्नताको कारणले कसैले पनि हिंसा ब्यहोर्नुपरेन भने त्यतिबेला घर समाजमा अशान्ति, विग्रह, अपमान र युद्धजस्ता अमानवीय तत्वहरुको बीऊ पनि भेटिदैनथ्यो होला । महिला हिंसाका घटनामा संलग्नलाई कानुनी कार्वाहीको गर्न आवश्यक देखिन्छ । एउटा घटना भन्दा पनि समग्ररुपमा महिला हिंसाको घटनालाई कम गर्ने, पिडकको मनोबल नबढने खालको आवश्यक देखिन्छ ।