वीरगंज । नेकापा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हामीले सिंगो नेपाललाई नै समृद्ध बनाउन चाहेको बताएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ एमालेको मुख्य नारा रहेको बताउँदै अध्यक्ष ओलीले सबै नेपाली जनतालाई सुखी नेपाली बनाउने जिम्मेवारी एमालेको काँधमा रहेको बताए ।
नेकपा एमाले पर्साले मंगलबार वीरगंजमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हामीले पुग्न खोजेको गन्तव्य, यात्रा नै सुखी नेपाल र समृद्ध नेपाली भएको पुनः दोहो¥याउँदै तराई मधेश, पहाड र हिमाल सबै ठाउँमा पक्की र चौडायुक्त सडक र दुर्गम ठाउँमा हेली प्याड हुनु पर्ने बताए ।
नेपाल जलस्रोतको धनी मुलुक भएकोले विधुतिकरणमार्फत देशलाई आधुनिकीकरण गरेर यहाँका नागरिकले आफूले बाल्नेदेखी अस्पताल, उद्योगधन्धा कलकरखाना लगायतमा पनि प्रयोग गरेर भारत, भुटान, म्यानमार र श्रीलंका जस्ता देशहरुमा विधुत बिक्रि गर्ने काममा हामी लागेको बताए । आफूलाई मधेश विरोधी भन्नेहरुलाई निशाना साध्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले म ६० वर्षदेखि मधेशमै बसेको छु, मलाई भैँसी चराउन आउँछ, चापाकल पनि गाढ्न आउने बताउँदै मधेशसँगै पहाड, हिमाल, तराई सबैको विकास भएपछि मात्रै एमालेको एजेण्डा सुखी नेपाली समृद्ध नेपालको नाराले सार्थकता पाउने दाबी गरे ।
अध्यक्ष ओलीले हाम्रो पालामा शुरु गरिएको विकास निर्माणको काम अहिलेको गठबन्धनको सरकारले रोक्न लगाएको आरोप लगाएका थिए । उनले हरेक पालिकामा एक–एकवटा अस्पताल बनाउने, एकैपटक २ सय भन्दा बढी सडक बनाउने लगायतको योजनाहरु रोक्न लगाएको आरोप लगाए ।
नेकपा एमालेका जिल्ला अध्यक्ष जय प्रकाश थारुको सभापतित्वमा समपन्न कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मी, धोवनि गाऊँपालिकाका उपाध्यक्ष पारस कुर्मी, नेपाली कांग्रेसका बहुदरमाई नगरपालिकाकी उपमेयर गायत्री देवी यादव र उनका श्रीमान राजदेव यादव लगायतकाले पार्टी प्रवेश गरेका थिए ।
मधेश प्रदेशका प्रदेश अध्यक्ष रघुविर महासेठ, प्रदेश इन्चार्ज ज्वाला साह, सचिवालय सदस्य प्रभु साह, केन्द्रिय सदस्य प्रभु हजरा, राजकुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो ।