बच्चाहरुलाई धेरै सताउने समस्याका रुपमा कान पाक्ने समस्या हुन्छ । कान पाक्ने समस्या बालबालिकामा बढी देखिन्छ । यस्तो हुनुको कारण भने बालबालिकाको भित्री घाँटीको माथिल्लो भाग र कानको मध्यभाग जोड्ने नली छोटो, सिधा र फराकिलो हुने गर्नाले हो । बालबालिकामा नाक बन्द हुँदा, नाक भित्र र घाँटीको माथिल्लो भागमा मासु पलाउँदा तथा रुघाखोकी तथा पिनास हुँदा पनि कान पाक्ने समस्या हुने गरेको चिकित्सकहरु बताउँछन् ।
स्तनपान गरिरहेका बच्चा वा नवजात शिशुलाई आमाले सुतेरै दूध खुवाँउँदा पनि यो समस्या हुने गरेको पाइन्छ । कानको मध्य भागमा संक्रमण हुँदा कान बन्द हुने, नसुन्ने, कान कराउने, दुखाईको कारण ज्वरो समेत आउने सम्म हुने गरेको पनि चिकित्सकहरुको भनाइ छ । बालबालिकाको समग्र विकासमा असर गर्ने रोग मध्येको कान पाक्ने रोगले विस्तारै भित्री कान र टाउकोको हड्डी तथा मस्तिष्कको झिल्लीसम्मलाई असर गर्ने बाल रोग विशेषज्ञ डा अशोक दासले बताए । यस्तो बेला कानको लोती चलाउँदा वा थिच्दा अत्याधिक पीडा भई बच्चाहरु बढि पीडा भएको महसुस गर्ने हुन्छन् । कान पाक्ने समस्या एच इन्फुएन्जा, न्युमोकोकस, स्टाफाइलोकोकस अरियस आदि किटाणुहरुबाट हुने गरेको चिकित्सकको भनाइ छ । बालबालिकाको कान पाक्ने समस्या र समाधानको उपायको बारेमा आशाराम अस्पतालका वीरगन्जका संचालक समेत रहेका उनै बालरोग विशेषज्ञ डा. अशोक दाससंग गरिएको कुराकानी :-
१) बालवालिकामा कान पाक्नुको कारण के हो ?
कान पाक्ने समस्या गाउँ घरमा बढी हुन्छ । यसको प्रमुख कारण भनेको कान सफा गर्नु पर्ने ठाउँमा तेल ईयर ड्रप जस्ता तरल पदार्थ प्रयोग गर्नाले हुन्छ । कानएक मुखे बाटो हो । जस्ले गर्दा कान पाक्ने समस्या हुन्छ । अर्को भनेको बच्चालाई सुताएर स्तनपान गराउँदा कानमा दुध पर्छ । दुध एउटा किरा पर्ने माध्यम हो । दुधमा केही प¥यो भने तुरुन्तै किरा पर्छ । त्यस्तै तेल हाल्दा कान बाहिर भएका फोहरहरु पनि तेलसंगै भित्र जान्छन् । ती सबै कानको पर्दामा गएर बस्छन् । यस्ता पदार्थहरु कान भित्र पर्दा वा हाल्दा नै कानमा संक्रमण हुने सम्भावना बढि हुन्छ ।
२) कान पाक्ने लक्षणहरु के के हुन् ?
काना पाक्दाको लक्षणहरु भनेको सबैभन्दा पहिला कान सुनिने, कान दुख्ने, कानको अघिल्लो भाग रातो हुने र अन्तिममा घाउ भएर कानको पर्दा च्यातिई पीप बग्न थाल्ने हुन्छ ।
३) कान सफा गर्न प्रयोग गरिने ईयर बर्ड कत्तिको उपयुक्त हो ?
इयर बर्ड ठूलो व्यक्तिको कानको अकार अनुशार बनाईएको हुन्छ । यदि यसले बच्चाको कान सफा गर्ने हो । भने उनीहरुको कान बाहिर भएको फोहोरलाई अझ भित्र लैजाने काम गर्छ । हामीकहाँ बच्चाको लागि ईयर बर्ड बनेको छैन । तर त्यसको लागि सलाईको पछाडि पट्टीको भागलाई पातलो बनाए र वा कुनै पातलो सिन्कामा कपास बेरेर त्यसलाई पानी वा अरु कुनै कानमा असर नगर्ने तरल पदार्थले भिजाएर सफा गर्न सकिन्छ ।
४) कानको सरसफाईमा कसरी ध्यान दिने ?
घाउ भएपछि उपचार गर्नुभन्दा घाउँ हुन नदिनु नै सबैभन्दा राम्रो हो । जनावरहरुमा कहिल्यै कान पाक्दैन । त्यसको कारण भनेको उनीहरु सुतेर स्तनपान गर्दैनन् र कानमा तेल हाल्दैनन् । हामीले नुहाउँदा कहिले काही कानमा पानी पसे जस्तो हुन्छ । तर केही समय पछि त्यो आफै झर्छ किनकी त्यो पानी भित्र गएको हुँदैन । हाम्रो कानको वनोट नै यस्तो छ कि त्यसमा हत्तपत्त केही जादैन । त्यसैले बाल्यावस्था होस् वा वयस्क कानमा तेल लगायतका तरल पदार्थहरु हाल्नु हुदैन ।
५) कान सफा राख्ने घरेलु उपायहरु केही छन् कि ?
यसको घरेलु उपचार भनेको नै ५ दिन वा एक हप्तामा कानको सफाई गरिरहनु पर्छ । कान पाक्यो भनेर तेल अथवा सिउडीको रस कानमा हाल्नु भनेको आफै बोक्सी आफै झाक्री बन्नु जस्तै हो । कान पाकी सकेपछि सिउडीको रस वा तेल हालेर केही हुँदैन । त्यसले केही समयलाई आराम दिए पनि कानको जालीलाई नै प्वाल पार्ने गरी असर गर्छ । यदी कान पाकेको छ भने कानको डाक्टरको सल्लाह अनुसार ड्रपहरु प्रयोग गर्नु पर्छ ।
६) कति समयको अन्तरमा कानको हेरचाह वा डा. कहाँ चेक जाँच गराउ जानु पर्छ ?
हाम्रो शरीर, आँखा, दात जस्तै कानको रेगुलर चेकअप गर्नु पर्छ भन्ने छैन । सामान्य रुपमा घरमै गरिने सरसफाईबाट नै यसको चेकअप भइरहेकै हुन्छ । कानको लागि मात्रै कुनै विषेश समय वा जाँच भन्ने हुदैन । होसियारी र सरसफाई भने घरमा नै निरन्तर गर्नु पर्छ ।
७) अन्त्यमा थप केही भन्न चाहनु हुन्छ ?
कान हाम्रो सम्वेदनशिल अंग हो । हामीले यसको राम्रो हेरचाह गर्नु पर्छ । त्यसैले म हरेक बच्चालाई सुताएर स्तनपान नगराउन र कानमा तेल लगायतको तरल पदार्थ नहाल्नु सुझाव दिन्छु । यी सबै कारणले नै कान पाक्ने समस्याहरु निम्तिन सक्छन् । मानिसको शरीरको कान र अनुहारमा आएको घाउहरु निकै सम्वेदनशिल हुन्छन् । अनुहारको नशाको प्रत्यक्ष सम्पर्क टाउकोसंग हुने भएकाले कान तथा अनुहारमा आएका घाउहरुलाई चलाउनुभन्दा पहिले सोच विचार गरेर चिकित्सकको परामर्श लिएर मात्र अगाडी बढ्नु पर्छ ।