प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्ति गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले डा. गंगा प्रसाद उप्रेतीलाई आगामी चार बर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त गर्नुभएको छ । यसैगरी सदस्यमा जगत प्रसाद उपाध्यायलाई नियुक्त गर्नुभएको छ । उप्रेती यस अघि पनि सोही पदमा कार्यरत हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओलीले उपकुलपति डा.उप्रेतीलाई आजै सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । सदस्य उपाध्यायलाई कुलपति उप्रेतीले पद तथा गोपनियताको सपथ गराउनु भएको छ ।
सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समाजलाई साहित्य र साँस्कृतिक हिसाबले उजिल्याउने काम गर्नु पर्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले नेपाली वाङमयका अनेक ढाँचालाई प्रतिष्ठानले प्रष्फुटन गराउनु पर्ने बताउनुभएको छ । “साहित्यिक अभियान, राजनीति, शासन सञ्चालन, उत्पादन र बोलिचालीका अनेक ढाँचालाई व्यवस्थित गर्ने काम प्रतिष्ठानको हो” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
नेपालको सामाजिक मूल्य मान्यता विश्वमा नै अनुपम रहेको बताउनुभएको छ । नेपालमा जस्तो सामुहिक परिवार विश्वमा कतै पनि नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “यो प्रणालीबाट धेरैे संस्कार सिक्न सकिन्छ ।”
प्रधानमन्त्री ओलीले नेपालका साँस्कृतिक पर्वहरुले सामाजिक सम्बन्धलाई मजवुद बनाउने काम गरेको बताउनुभयो । सामाजिक रुपमा, पारिवारिक रुपमा कहिले कुनै प्रकारले द्वन्द्व, झगडा भइहाले पनि चाडपर्वले त्यसलाई पुन स्थापित गरिदिने प्रधानमन्त्री ओलीको भनाइ छ । “दिदीभाइबीच झगडा भएतिजले मिलाइदिन्छ । दाजु भाइ बीच झगडा भए दशैंले मिलाइदिन्छ । दाजु बहिनीबीच झगडा भए तिहारले मिलाइदिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रा सामाजिक पर्वहरुले सम्बन्धलाई पुन मरमत गर्ने काम गरेका छन् ।”