‘बेटी बचाईं बेटी पढाईं’ भन्ने नाराका साथ काम गरिरहेको २ नम्बर प्रदेश सरकारका मुख्य मन्त्री लालबाबु राउत गद्दीले पर्साको नगवामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पुगी विद्यार्थी भर्ना अभियानका क्रममा मनिषा कुमारी र आदिती कुमारीलाई एकछिन बोकेर अभिभावकत्व ग्रहण गरेका थिए ।
त्यसै गरी नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोख्रेलले समेत पर्साकै वीरगन्जमा आई यहाँको जेठो विद्यालय श्री विद्यापिठ उच्च मावि श्रीपुरमा पुगी विपन्न तथा दलित परिवारकै अंजली कुमारीलाई बोकेर फर्किएको पनि ५ महिना कटिसक्यो । २ नम्बर प्रदेशकै सामाजिक विकास मन्त्री नवलकिशोर साहले पनि पर्साकै अर्को आधारभूत विद्यालय पण्डित रामधेनी तिवारी आधारभूत विद्यालयमा पुगेर उसै गरे । त्यो पनि ५ महिना कटिसक्यो । तीनै जना मन्त्रीहरुले गएको बैशाख १३ गते, बैशाख ६ गते र बैशाख १५ गते पर्सामा पुगी विद्यार्थी भर्ना अभियानका क्रममा स्थानीय दलित तथा विपन्न समुदायका बालिकाहरुलाई तामझामका साथ विद्यालय भर्ना गराएका थिए । तर अफसोच, मन्त्रीहरुले एकछिन विपन्नका बालबालिका बोकेर मिडियामा छाए यता उनीहरुको अवस्था के छ भनेर समेत आजसम्म ती बच्चाको अवस्था नबुझ्नु दुःखद् पक्ष हो ।
मन्त्रीहरु त कार्यक्रममा देखा पर्ने सिजनल नेता भए पर्साका लागि । तर मन्त्रीहरुसँगै कार्यक्रम स्थलमा पुगेका स्थानीय नेताहरुले पनि नजिकैको विद्यालय सम्म पुगी ती बालबालिकाको अवस्था नबुझ्नु निकै बिडम्बना हो । मन्त्रीहरु त सिजन अनुसार नै सहभागी हुने हो । खासै उहाँहरुबाट जनअपेक्षाको काम सम्भव छैन । तर, स्थानीय नेताहरुले समेत विपन्न र विद्यालय बाहिर रहेका बालबालिकाहरुको हितका लागि निरन्तर खबरदारी नगर्नु राम्रो संकेत होइन । जनअपेक्षाका काम गर्छौं भनी जनतासामु कसम खाएको एक बर्ष पुग्न नपाउँदै जनतालाई भुलेर आफ्नो हितमा मात्र लाग्नु जनअपेक्षा विपरित कार्य भन्न हिच्किचाउनु पर्दैन ।
कार्यक्रम हुँदा लेखिएको व्यानरमा वीरगन्ज महानगरपालिका र सामाजिक विकास मन्त्रालय प्रदेश नं. २ जनकपुरधाम धनुषाले संयुक्त रुपमा गरेको भनिए पनि त्यो कार्यक्रमको खर्च समेत त्यो विद्यालयलाई नै बोकाउनु गैर जिम्मेवारीपूर्ण कर्तूत भन्दा खासै फरक पर्दैन । वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले उद्घोष गर्दै कक्षा १० सम्म आफूले खर्च व्यहोर्ने भनी अभिभावकत्व ग्रहण गरेका बच्चाहरुलाई समेत उनले समेत वास्ता नगरेको विद्यालयबाट खुलासा हुनु ठिक होइन । यसको अतिरिक्त वडा अध्यक्षले समेत लहैलहैमा एक बच्चाको अभिभावकत्व ग्रहण गरेको भनेका थिए । त्यसै गरी उद्योगी जगदीश अग्रवाल लगायत श्रीपुर उमावि र रामधेनी आधारभूत प्राथमिक विद्यालयमा धेरैले गएको बैशाखमा बच्चा बोकेर सामाजिक सञ्जाल तताएका थिए । तर आफूले बोलेको कुरा उनीहरुले समेत भूलि सकेका छन् ।
‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका यतिवेला केवल नारामा मात्र सिमित रहेछ भन्ने पुष्टि हुन थालेको छ । यसो नहुँदो हो त मन्त्री देखि स्थानीय नेता र समाजका अगुवा तथा शिक्षित वर्गले आफूले अभिभावकत्व ग्रहण गरेका बालबालिकाको हितमा निरन्तर अगाडी बढ्नु पर्छ । ती बालबालिकाले पनि विद्यालय भर्ना भएका समयमा जसरी भव्य स्वागत पाए । भोली अभिभावकत्व ग्रहण गर्ने व्यक्तिले उनीहरुबाट पनि स्वागत र सम्मान पाउने दिनलाई कम आँक्नु हुँदैन ।
थप रिपोर्ट ..
शिक्षा मन्त्री, मुख्यमन्त्री र मेयरले समेत चिन्दैनन् अभिभावकत्व ग्रहण गरेका बालबालिका