पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. २ पिपराका देव नारायण राउत र राजपति देवीको पहिलो सन्तान हुन् विनोद यादव । २०३१ साल मंसिर १५ गते जन्मिएका उनी प्रिष्टोन मोडेल एकेडेमीका प्रिन्सिपल ( इन्जिनियर ) हुन् । नेपाल इन्जिनियर एशोसिएसन वीरगन्जको उपाध्यक्ष समेत रहेका छन् । दुईजना भाइहरु रहेका उनी सानै उमेरदेखि पढाइमा अब्बल भएकाले मामासँग काठमाण्डौं बसेर अध्ययन गर्ने मौका पाएको उनले बताए । २०४७ सालमा श्रमिक शान्ति मा.वि च्यासलबाट एसएलसीमा फष्ट डिभिजन ल्याउँदै गोल्ड मेडल प्राप्त गरेपछि भने पढाइका लागि कहिले पछाडी फर्केर हेर्न नपरेको उनले बताए । त्यसपछि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट आइएसी, त्यसपछि भारतीय दूतावासबाट छात्रवृत्ति पाएर अलिगढबाट बीएसी इन्जिनियरिङ्ग र त्यस पछि पनि युके कलेज अफ इन्जिनियरिङ्गबाट माष्टर डिग्री गरेको यादवले बताए । पढाइमा निकै अब्बल भई उच्च तहसम्म पुगेका इन्जिनियर तथा प्रिस्टोन मोडेल एकेडमीको प्रिन्सिपल रहेका उनै विनोद यादवसँग पछिल्लो शैक्षिक अवस्थाका बारे गरिएको विशेष कुराकानी :
१.हालको शैक्षिक अवस्था कस्तो छ ?
निजी विद्यालयहरुको वर्तमान शैक्षिक अवस्था अत्यन्तै नाजुक छ । शैक्षिक अवस्था खस्कने पहिलो कारण कोरोना कहर हो । दोस्रो कारण परिक्षा प्रणालीमा पविर्तन हुनु हो । सकारात्मक परिणाम दिने गरी निर्माण गरिएको ग्रेडिङ परिक्षा प्रणाली हो । विद्यार्थीहरुले राम्रो अध्ययन नगर्दा ग्रेडिङ परिक्षा प्रणाली नै उल्टो अर्थ दिन पुग्छ । विद्यार्थीहरुले नपढे पनि कक्षा अपग्रेडिङ गर्नु पर्ने नीति भएकोले साक्षरता दरमा संख्यात्मक वृद्धि त हुन्छ । तर शिक्षाको गुणस्तरमा वृद्धि भएको पाइदैन । हाल आएर केहि सुधार भएको छ । शिक्षाको गुणस्तरमा क्रमिक सुधार हुदै जाने छ ।
२. निजी विद्यालयहरु बीचमा प्रतिस्पर्धा हुदाँ पनि गुणस्तरीय शिक्षा नहुनुको कारण के हो ?
निजी विद्यालयहरुले गुणस्तरीय शिक्षामाभन्दा पनि विद्यालयको प्रचार–प्रसार गर्ने विषयमा बढी जोड दिएका छन् । भौतिक पूर्वाधार प्रति बढी ध्यान दिने र भौतिक व्यवस्थापनमा विद्यालयहरुले धेरै लगानी गर्ने गर्दछन् । गुणस्तरीय शिक्षा प्रति कम ध्यान दिएको देखिन्छ । विगत ३ वर्ष यता कोरोनाका कारण देखाएर नियमनकारी निकायले निस्क्रियता देखाउनु पनि पढाइ खस्कनुको मुख्य कारण हो ।
३. शैक्षिक गुणस्तर सुधार्नका लागि के गर्नुपर्छ ?
शैक्षिक मापदण्डमा भएका कमी कमजोरीहरुको सुधार गर्नु पर्दछ । नियमन निकायले समय–समयमा निजी विद्यालयहरुको अनुगमन गर्नुपर्दछ । सरकारले शैक्षिक क्षेत्रमा ल्याएको ग्रेडिङ प्रणाली खारेज गर्नुपर्छ । सरकारले शिक्षा क्षेत्रमा कम लगानी गरेको छ । भौतिक पूर्वाधारहरु निर्माणको क्षेत्रमा जोड दिएर धेरै बजेट विनियोजन गरेको छ । सरकारको नीतिमा परिवर्तन गर्नु पर्ने देखिएको छ । देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने स्थान नै शिक्षा क्षेत्र हो । गुणस्तरीय शिक्षा उपलब्ध गराउन शैक्षिक क्षेत्रलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्दछ । कक्षा १२ सम्मलाई स्थानीय शिक्षा र विद्यार्थीहरुको भविष्यको प्रवेश द्धारको रुपमा मानिन्छ । विद्यार्थीहरुलाई गुणात्मक शिक्षा प्रदान गर्न निजी विद्यालयहरुले विशेष नीति नियम बनाएर अध्ययन अध्यापन गराउनु पर्दछ । प्रदेश अनुरुप शिक्षाको नीति नियम निर्माण गरिए झनै शैक्षिक गुणस्तरमा सुधार हुन सक्दछ् ।
४. प्रिष्टोन कलेजको अवस्था कस्तो छ ?
प्रिष्टोन कलेजको स्थापना २०७५ सालमा भएको हो । इन्जिनियर्स, डाक्टर्स र विषय विज्ञ प्राध्यापकहरुको टिमद्धारा सञ्चालित कलेज हो । भविष्यमा साइन्स पढेर नै डाक्टर, टेक्निकल इन्जिनियर बन्न सहज हुने भएकाले विद्यार्थीहरुलाई गाइड गर्न सम्बन्धित विषयका विज्ञहरु नै मिलेर अध्यापन गराएउने छौं । सुरुवातको समयमा २४ जना विद्यार्थीबाट कलेज सञ्चालन गरेको हो । हालको समयमा लगभग १०० जनाको हाराहारीमा विद्यार्थी संख्या छ । संख्यात्मक रुपमा खासै प्रगति नदेखिए पनि गुणात्मक रुपमा विद्यार्थीहरुको प्रगति भएको छ । यस कलेजबाट कक्षा १२ उतिर्ण भएका विद्यार्थीहरु प्रदेश न.२ को टपर भएर फूल स्कलरसिपमा अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् । हाल इन्जिनियरिङ्ग कलेज पुल्चोक,काठमाण्डौ र स्टडी अफ इन्डियामा अध्ययन गरिरहेका छन् । गत वर्षदेखि विद्यार्थीहरुको चासोको विषयलाई मध्य नजर गर्दै म्यानेजमेन्ट र कानुन विषयको पनि कक्षा सञ्चालन गरी अध्यापन गराइरहेका छौँ ।
५.सरकारबाट छात्रावृतिको के कस्तो सुविधा प्राप्त भएको छ ?
वीरगंज महानगरपालिकाले छनोट गरेर पठाएका गरिब, दलित, जनजाति र जेहेन्दार विद्यार्थीहरु सबैलाई आन्तरिक परिक्षा लिन्छौँ । परिक्षा उर्तिण १० प्रतिशत विद्यार्थीहरुलाई मात्र प्लस टु मा भर्ना गरी छात्रावृतिमा अध्यापन गराइन्छ ।
६. गुणस्तरिय शिक्षाका लागी आवश्यक भौतिक पूर्वाधारहरु के—के हुन् ?
विद्यालयमा अति आवश्यक न्युनतम भौतिक पूर्वाधारहरु हुन जरुरी छ । बस्नको लागि डेक्स, बेन्चको व्यवस्था हुनु पर्दछ । अध्यापन गर्नका लागि उज्यालो कोठा हुनु पर्दछ । गर्मीको समयका लागि पङ्खा, बत्ति प्रत्येक कोठामा हुनु पर्दछ । प्राक्टिकल गर्नका लागि शान्त वातावरण, सु–सजित ल्याव सामाग्रीहरु भएको अलगै कोठाको व्यवस्था हुनु पर्दछ । गुणस्तरिय शिक्षाको लागि गुणस्तर प्राध्यापकका साथै गुणस्तरिय अध्ययन सामाग्रीहरुको पनि आवश्यक पर्दछ ।
७. तपाईका आगामी रणनीतिहरु के छन् ?
कलेज स्थापना भएको ४ वर्षमा केहि समय कोरोना कहरले नै बित्यो । हालसम्म यस कलेजबाट उर्तिण भएका विद्यार्थीहरुले विभिन्न इन्जिनियरिङ्ग कलेजहरुमा फूलस्कलर सिपमा पढने अवसर पाएका छन् । तर पनि विगतका शैक्षिक प्रणालीमा भएका कमी कमजोरीहरुलाई सुधार गर्दै लैजाने छौँ । प्राक्टिकलका लागि चाहिने आवश्यक भौतिक सामाग्रीहरुको थप व्यवस्थापन गर्ने योजना छ ।
८.पेशाले इन्जिनियर भए पनि तपाईको बुझाइमा शिक्षाके हो ?
शिक्षा भनेको व्यवसायभन्दा पनि सेवाको भावनाले विद्यार्थीहरुमा बाडिने ज्ञान हो । शिक्षा क्षेत्र निश्वार्थ, सहज र बिना भेदभाव रहित हुनु पर्दछ ।