एएफसी फुटसल एसियन कप छनोटमा नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको छ ।
उज्वेकिस्तानका लागि रोपिभ इख्तियोरले २ गोल गर्दै नेपाललाई निराश बनाएका हुन् ।खुस्नीद्धिन निसोनोले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै उज्वेकिस्तानलाई अग्रत दिलाएका थिए ।खेलको ५ औं मिनेटमा रोपिभ इख्तियोरले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यस्तै, खेलको ११ औं मिनेटमा उज्वेकिस्तानका उस्मोनोभ अक्बरले गोल गर्दै पहिलो हाफमा नै खेल उज्वेकिस्तानको पकडमा लगे ।नेपालका लागि खेलको २८ औं मिनेटमा मणी कुमार लामाले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरे ।
तर ३२ औं मिनेटमा रोपिभ इख्तियोरले व्यक्तिगत दोश्रो गोल गर्दै उज्वेकिस्तानको जित पक्का गरे ।
दोस्रो हाफको अन्तिम मिनेटमा उज्वेकिस्तानका गोलरक्षक रभ्सन इलिबेभले गोल गर्दै उज्वेकिस्तानलाई ५–१ को जित दिलाएका हुन् ।खेलको २९ औं मिनेटमा खेम सुमित श्रेष्ठलाई फाउल गर्दा नेपालले फ्रि किक पाएको थियो । फ्रि किकमार्फत पाएको अवसरलाई पासका माध्यमद्वारा सरोज तामाङले हानेको बल पोष्टको बारमा लाग्दै बाहिरियो ।
यसअघि एएफसी फुटसल छनोटमा नेपाल सन् २०१७ मा र २०१९ मा उज्वेकिस्तानसँग क्रमश स् १४–१ र ४–१ ले पराजित भएको थियो । २०१९ मा मणि कुमार लामाले गोल गरेको र यस पटक पनि उनै मणिले गोल गरे । उनी एपीएफबाट फुटबल खेल्छन् ।
खेलमा पराजित भए पछि नेपालका प्रशिक्षक गौरव बस्नेतले नेपालले राम्रो प्रदर्शन गरे पनि गोल गर्न नसक्दा पराजित हुनु परेको बताए ।
‘दोस्रो हाफमा हामीले धेरै मौका पायौं । तर उपयोग हुन सकेन केही बारमा लागेर फर्किए । आजको खेलमा हामीले बलियो प्रतिस्पर्धा दिएका हौं तर उज्वेकिस्तान भाग्यशाली सावित भयो’, नेपालका प्रशिक्षक गौरव बस्नेतले भने ।
उनले आगामी खेलमा ताजकिस्तान र अफगानिस्तानसँग रणनीति परिवर्तन गर्दै राम्रो खेल्ने बताए । प्रशिक्षक बस्नेतले नेपालले मैत्रीपूर्ण खेल नखेलेका कारण पनि गाह्रो भएको बताए । ‘हामीले यस्तो मैदानमा मैत्रीपूर्ण खेल खेलेका थिएनौं । किर्गिस्तानमा खेलेको दुई मैत्रीपूर्ण खेल पनि यस्तो मैदानमा थिएन, पिचमा थियो, त्यसले पनि समस्या भयो ।’
नेपाले दोश्रो खेलमा भोलि ताजकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।