हातमुख जोड्नैको लागि वा दुई छाक पेटभरी खानकै लागि नेपालमा रोजगारीको खोजी बारे चिन्ता नगर्ने सायदै कमै परिवार होलान् । जसलाई आजको भन्दा पनि भोलीको अवस्था बारे सोचेर चिन्तित हुन परेको छ । गरिवीको मारमा परेका थुप्रै यस्ता परिवार छन् । जस्ले पेटभरी खान र शरिरमा आङ्ग ढाक्ने वस्त्र बाहेक अन्य कुरामा अर्थात शिक्षा, स्वास्थ्य, मनोरन्जन, लगाएतका कुरामा सोच्न समेत फुर्सद छैन । गरिवीले उनिहरुलाई यति सामान्य जीवन जिउन बाध्य बनाएको छ कि बालबच्चाको उचित पोषण, शिक्षा, स्वास्थ जस्ता संवेदनशील कुरामा समेत ध्यान पुग्न नसकिरहेको अवस्था छ ।
व्यक्तिको योग्यता र क्षमता र दिन प्रतिदिन बद्लिरहेको समय अनुसार एउटा सपना हुन्छ । आफ्नो बस्ने घर, आवश्यकता अनुसारको शिक्षा आरामदायी जनजीवन सुरक्षित भविष्यलाई लिएर हरेक मानवले आफ्नो सपनालाई पुरा गर्न हरतरहबाट चिन्तन गरिनै रहेको हुन्छ । अझ अहिलेको समय र परिस्थितीले सृजना गरेको जीवनशैलीलाई प्राकृतिक विपत्ति र कोरोना कहर जस्तो भयानक परिस्थितिको भोगाईको कारण मानवीय चालचलन अस्तव्यस्त भएको अवस्थामा रोजगारीले ठूलो महत्व मात्रै दर्शाउदैन । अर्थतन्त्रमा समेत यसले प्रत्यक्ष असर पारिरहेको हुन्छ ।
इतिहास तर्फ फर्केर हेर्दा ठूलो महामारी विफरदेखि लिएर अहिलेको कोभिड १९ सम्मको विश्वव्यापी महामारीको कारण राज्यले ठूलो क्षति व्यहोर्नेु परेको छ । महामारीको कारण मानवीयसँगै आर्थिक क्षेत्रमा भएको क्षति अत्यन्तै ठुलो छ । जस्को भरपाई दशकौसम्म पनि हुन सक्ने अवस्थामा छैन । हालको महामारीले मै हुँ भन्ने शक्तिशाली देशहरुलाई पनि धान्नै नसक्ने गरि कमजोर बनाइरहेको छ । हाम्रो जस्तो सानो मुलकको अवस्था कस्तो होला सजिलैसँगै अनुमान लगाउन सकिन्छ । अर्थतन्त्रमा रोजगारीको ठूलो भूमिका रहेको हुन्छ ।
रोजगारीले नै मानवीय जीवनस्तरलाई उकास्दै गरिवी निवारणको लागि सहयोग पु¥याउँछ । यसो त नेपालमा रोजगारी सृजना तथा बेरोजगारीको ठोस तथ्याङ्ग यकिन गर्न सकिदैन । फेरि पनि श्रम सर्वेक्षणलाई नै रोजगारी सम्बन्धीको तथ्याङ्ग मानेर हेर्दा ठ्याक्कै रोजगारीको शिलशिलामा सडक पेटी र गल्लिमा युवाहरु प्रत्येक बर्ष कम्तिमा १६ लाखदेखि २० लाखसम्मको संख्यामा रोजगारीको खोजीको लागि दौडिरहेका हुन्छन् । ती मध्ये करिव ५ % प्रतिशतले मात्रै स्वदेशमा रोजगारी पाउने गरेका छन् । बाँकी युवा शक्ति रोजगारीको खोजीको शिलशिलामा बिदेश तिर वा खाडी मुलुकमा जान बाध्य छन् । त्यसमा पनि योग्यता भएका शिक्षित युवाहरुले पनि योग्यता दक्षता र क्षमता अनुसारको रोजगारी नपाईरहेको अवस्था छ । नगरौ भने घर व्यबहारले बाधेर राख्नेभन्दा न्युन तलबमा पनि काम गर्न पर्ने बाध्यता भएका युवाहरुको जमात बेग्लै छ ।
यसरी हेर्दा शिक्षित अनि अशिक्षित बेरोजगारीहरुको संख्या देशमा धेरै छ । नेपालमा झण्डै ८६ लाख व्यक्तिले उनिहरुको शिप दक्षता र क्षमता अनुसारको काम नपाएको अवस्था छ । दुख र कष्ट गरि आफ्ना बाबु आमाले खाई नखाई गरेको पढाएको छोरो हातमा प्रमाणपत्र बोकेर रोजगारीको खोजमा निस्किदाँ उस्ले भने जस्तो रोजगारी पाउन नसकेको अवस्था हाम्रो आँखा अगाडीमा प्रष्ट छ । खाडी तथा अन्य मुलुकमा रोजगारीको खोजको लागि पलायन भएका युवा मध्ये ७४ लाख मास्टर डिग्री गरेका, २ लाख १६ हजार स्नातक तह गरेका, करिब ४ लाख प्लस टु गरेका र १५ लाखभन्दा बढी एस एल सी र लाखौको सख्यामा साधारण पढेलेखेका युवाहरु रहेका छन् । यो भनेको संख्यात्मक हिसाबले हेर्दा र राज्यका आँखाले हेर्दा कसरी हेर्ने सोचनीय कुरा हो ।
काम र मामको शिलशिलामा विदेश गएका मध्ये ३३ % ले सम्झौता पत्रमा लेखिएको अनुसार काम नपाएर ठगि कम्पनिमा काम गर्न बाध्यछन् । जो काम अनुसारको ज्याला पाउन नसकेको स्थिति छ । अर्काे तर्फ बाध्यकारी श्रमको कारण पिडीत भएका थुप्रै गुनासाहरु मात्रै छैनन् । करिब १० प्रतिशत युवाहरु अनेक पिडा झेलेर लाखौ पैसा डुबाएर खाली हात घर फर्केको अवस्था छ । उसो त राज्यले संस्थागत रुपमा १ सय ७ वटा देशको लागि आवत जावत खुल्ला गरेको छ । जस मध्ये ९ ओटा मुलुकसँग सुन्य लागतमा जान सक्ने व्यवस्था पनि गरेको छ । तर राज्यले संम्झौता गरेको भए पनि बैदेशिक रोजगारीको लागि दलाली मेनपावरबाट ठगिएका, लुटिएका थुप्रै उदाहरण छन् । जो बिभिन्न शिर्षमा पैसाको बिटो बुझाएर उल्टै पक्रिने डरले भागि भागि हिडेका छन् युवाहरु ।
रोजगारीको लागि बिदेशमा पुगेर आफ्नो पहिचान नै थाती राखेर काम गर्ने हाम्रा युवा अनि भाषा नबुझेर र तोकिएको काम नपाएर जे काम गर्न दिन्छ सोहि काम गर्नपर्ने बाध्यताका कारण पिडितहरु पनि कम छईनन् । रोजगारीको शिलशिलामा देशको श्रमशक्ति मात्रै होईन गुमाईरहेको छईन । श्रम शक्तिसँगै उस्को पहिचान, माटोको गन्ध समेत बाहिरिएको हुन्छ । यो हेक्का सबैलाई हुन जरुरी छ ।