स्थानीय तहको निर्वाचन नजिकिएसंगै राजनितिक दलहरु आ–आफनो एजेण्डा राख्ने जनता समक्ष राख्ने तथा एकले अर्काको कमिकमजोरी औल्याउने काममा तिव्रता भइरहेको छ । स्थानीयस्तरमा रहेका समस्या तथा समाधानका उपायको बारेमा बोल्नुपर्ने नेताहरु एक अर्कालाई आरोप लगाउनमा बढी समय खर्चिरहेका छन् । देश संघीयतामा गएपछि मा.वि. तहसम्मको शिक्षा व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ ।
शिक्षकको दरवन्दी, कितावको व्यवस्थापन, भौतिक सुधार, अनुगमन जस्ता काम स्थानीय सरकारले गर्नु पर्ने छ । निर्वाचनको समयमा शिक्षामा के सुधार ल्याउने, आफनो पालिकाको शिक्षालाई कसरी अगाडी बढाउने जस्ता योजनाहरु आउन सकिरहेको छैन । स्थानीयस्तरमा तयार गरिने पाठयक्रमको बारेमा बोल्नु समय आएको छ । तर यस्ता विषय आगामी निर्वाचनका जनप्रतिनीधि हुँ भन्नेको मथिगलमा छिरेको देखिदैन । राजनीति गर्नु भनेको केवल अरुको विरोध गर्ने मात्र नभएर आफ्नो र आफ्ना पार्टीको राम्रा कामको भिजन सार्वजनिक गर्नु पनि हो । तर आरोप प्रत्यारोपमा अडेको राजनीतिले समाज रुपान्तरण हुन सक्दैन । त्यसैले खोइ त शिक्षा क्षेत्रको सुधारका लागि निर्वाचनको मुद्दा बनाएको भन्नै पर्ने हुन्छ ?
शिक्षामा देखिएको समस्याको बारेमा कुरा गर्दा सवैले एक अर्काको जवाफदेहितामा माथि प्रश्न उठाउने गरेका छन् । शिक्षाको गुणस्तर खस्किनुको जम्मेवारी लिन कोही तयार छैनन् । शिक्षकसंग कुरा ग¥यो भने माथिलाई दोष दिदै उम्किने गरेका छन् । उनीहरु अभिभावकलाई समेत आरोप लगाउ पछि पर्दैनन् । सरकारले यो गरेन, त्यो गरेन, अभिभावकहरु एक पटक समेत विद्यालयमा आउदैनन् जस्ता कुरा गर्दै उनीहरु आफूले पढाएको विद्यार्थीको गुणस्तर ढाकछोप गर्न खप्पिस छन् । शिक्षाको गुणस्तर खस्किनुका पछाडी एकले अर्कालार्ई दोष मात्रै दिएर पुग्दैन । विद्यार्थीको भविष्य उज्जव बनाउन जागिर नै खाएका उनीहरु माथि नै सबैभन्दा बढि दोष जानु अन्यथा होइन । यसको अलावा शिक्षा क्षेत्रसंग सरोकार राख्ने सबै निकाय तथा व्यक्तिदोषी छन् नै । नेपालको सार्वजनिक शिक्षाको अवस्था यहाँ आइ पुग्नुमा उनीहरुको कमजोरी प्रष्ट छ । आखिर कहिलेसम्म अरुलाई दोष देखाएर उम्किने ? के शिक्षामा सुधार ल्याउनका लागि शिक्षकहरु सबैभन्दा बढि जिम्मेवार छैनन र ? के विद्यार्थीको भविष्यको बारेमा उनीहरुले सोच्न पर्दैन ? पहिलो सुधार त्यहिबाट हुनु पर्ने होइन ?
शिक्षकले राजनीति गरेकै कारण शिक्षाकोस्तर खस्किएको दावी गर्नेहरुको कमी छैन । पढाउने बेला विद्यालय छोडेर बाहिर जाने तथा विद्यालयमा पनि पढाइभन्दा राजनीतिको कुरा गरेर समय खर्चने अभिभावकको आरोप पनि निराधार भने होइन । विद्यार्थीको भविष्यभन्दा पनि आफनो राजनीति भविष्य खोज्ने शिक्षकहरु कहिलेसम्म विद्यालयमा अड्डा जमाएर बस्ने हो ? राजनीति नै गर्ने हो भने जागिरबाट हात धोएर पूरा समयको राजनीतिकर्मी बने भैगयो नि ।
यसमा उनीहरुलाई कस्ले रोकेको छ । राजनीति या शिक्षा यी दुई मध्ये एक पक्ष शिक्षकले रोज्न पाउँछन् । नत्र कार्वाही प्रकृया अगाडी बढाउन पनि राज्य पक्षले आँट गर्नु पर्छ । तत्कालीन स्वार्थको लागि राजनीतिक दल र नेताहरुले शिक्षक च्याप्दा मुलुकको शिक्षाको अवस्था खस्केको कुरालाई उनीहरुले नजरअन्दाज गर्न मिल्दैन । भविष्यका सन्ततिको भविष्य विगारेर तत्काल राजनीतिक नेता र दलको भविष्य बनाउने कर्मले शिक्षाको गुणस्तरमा सुधार हुन सक्दैन । यता तर्फ सबैको ध्यान जान जरुरी छ ।
विद्यालय समाजको एउटा महत्वपूर्ण अङ्ग भएकोले त्यो वातावरण विद्यालयले बनाउने र शिक्षकका नाताले त्यो जिम्मेवारी शिक्षकहरुले पनि लिने होइन र ? समाज तथा समुदायमा पढाइ लेखाइको वातावरण नबन्नुमा बढि दोष शिक्षकहरुमाथि जान्छ । समाज तथा समुदायको प्रतिनिधित्व गर्ने मानिसहरु पनि यही विद्यालयले तयार पार्ने हुँदा आम समाज तथा समुदायले पनि चासो राख्न सक्नु पर्छ । फेरि राजनीति गर्ने र निर्वाचनमा आफू राम्रो भनी डंका पिट्दै हिड्ने उमेद्वारहरुले त शिक्षा सुधारको लागि ठोस् भिजनका साथ अगाडी आउन सक्नु पर्छ ।
अनि आफू निर्वाचित भएपछि शिक्षाकोस्तर सुधार्न पहलकदमी अगाडी बढाउनु पर्छ । अनि मात्र विद्यालय शिक्षाको कमजोरी हट्दै जान्छ । यसमा अरुलाई दोष देखाएर आफु बच्नुभन्दा आफू जवाफदेही बनेर विद्यालय शिक्षाको सुधारका लागि बदलिन सिक्नु पर्छ । यसैको लागि अहिलेको निर्वाचनको कुरा गर्दै घर आँगनमा भोट माग्न आउने उम्मेदवारलाई शिक्षा विकासको बारेमा सोध्न जरुरी छ ।