सन्दिप लामिछाने र करन केसीको सानदार प्रदर्शनमा नेपालले मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा थाइल्याण्डलाई १४० रन ( डी/एल मेथड ) ले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिंग गर्दै नेपालले दिएको १७३ रनको बिजय लक्ष्य लिएर मैदान उत्रिएको थाइल्याण्डले ९.३ ओभरमा ९ विकेट गुमाउन पुग्दा वर्षाले खेल रोकिएपछि पुनः खेल सुचारु हुन नसक्दा नेपाललाई डी/एल मेथडको आधारमा बिजेता घोषित गरिएको हो ।
१७३ रन लक्ष्य पछ्याउने क्रममा कुनैपनि थाई ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।
थाईल्याण्ड इनिंग तहसनहस पार्न सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट (३-१-८-५) हात पारॆ । यस्तै खेलको प्लेयर अफ द म्याच समेत चुनिएका करन केसीले ३ ( १.५-०-२-३ ) विकेट तथा ललित राजबंशीले १ विकेट ( २-०-२-१ ) लिए ।
प्रतियोगिता अन्तर्गतनै यसअघि सम्पन्न मलेसिया बिरुद्धको खेलमा सन्दिपले ५ विकेट हात पारेका थिए । यस्तै आफ्नो पहिलो खेलमा नेपालले म्यान्मारलाई हराउँदा सन्दिपको नाममा ४ विकेट रहेको थियो ।
करन केसीको विस्फोटक ब्याटिंग
खेलको पहिलो इनिंगको समाप्तिमा नेपालले ७ विकेट गुमाएर १७२ रन जोडेको थियो । नेपालको इनिंगममा करन केसीले सर्वाधिक ४० तथा शरद भेषवाकरले व्यक्तिगत ३४ रनको योगदान गरे ।
बायुमास ओभल मैदानमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपाललाई ओपनरद्वय बिनोद भण्डारी र अनिल कुमार साहले राम्रो सुरुवात दिएका थिए । आक्रामक लयमा देखिएका दुवै ओपनरले सुरुबाटनै ठूला सट खेल्दा नेपालले राम्रो सुरुवात पायो ।
बिनोद भण्डारी मात्र ८ बलमा १५ रन (२ चौका, १ छक्का) तथा अनिल कुमार साह १७ बलमा २५ रन (५ चौका) जोड्दै आउटहुँदा नेपालले मात्र ५.३ ओभरमा ५४ रन जोड्न २ विकेट गुमाएको थियो ।
त्यसपश्चात भने तेस्रो विकेटका लागि प्रतियोगितामा पहिलो पटक ब्याटिंग गर्न उत्रिएका शरद भेसवाकर र दिपेन्द्र सिंह ऐरीले ३३ रनको साझेदारी गर्दै नेपाली इनिंगलाई उकास्ने प्रयास गरेका थिए । दिपेन्द्र सिंह ऐरी २६ बलमा ३ चौका र १ छक्का सहित व्यक्तिगत ३० रनको स्कोरमा आउट भए ।
कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लभन्दा अगाडी ब्याटिंग गर्न मौका पाएका आरिफ शेख मात्र ८ रनको स्कोरमा पभेलियन फर्किंदा नेपालले ११३ रन जोड्न ४ विकेट गुमाएको थियो । यस्तै शरद भेसवाकर समेत ३४ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए ।
इनिंगको अन्त्यतर्फ कप्तान पारस खड्का समेत ठुलो सट प्रहार गर्ने चक्करमा मात्र ५ रनको स्कोरमा आउट हुँदा नेपाल १२१/६ को खराब अवस्थामा पुगेको थियो । पारस खड्काको विकेट पछि टोलीले ७ रन थप जोड्दा ज्ञानेन्द्र मल्ल समेत व्यक्तिगत ७ रनमा पभेलियन फर्किएका थिए ।
अन्त्यमा अविजित रहँदै करन केसी र सोमपाल कामीले महत्वपूर्ण ४४ रनको साझेदारी गरेका थिए । त्यसक्रममा करन केसीले बिष्फोटक ब्याटिंग गर्दै मात्र १४ बलमा ४० रन प्रहार गरे जुन क्रममा ४ छक्का र २ चौका प्रहार गरे । इनिंगको अन्तिम ओभरमा करनले लगातार ३ छक्का प्रहार गरेका थिए । सोमपाल भने व्यक्तिगत ४ रनमा अविजित रहे ।
अल-राउण्ड प्रदर्शन गर्दै करन केसी बने ‘प्लेयर अफ द म्याच’
थाइल्याण्डको बलिंगतर्फ पेयुपुथ संगनार्डले सर्वाधिक ४ विकेट हात पारेका थिए । आफ्नो ४ ओभरको स्पेलमा संगनार्डले २१ रन खर्चिएर ४ विकेट आफ्नो नाम गरेका थिए । यस्तै भिचन्थन सिंहले २ विकेट आफ्नो हात पारे ।
खेलमा करन केसीले ब्याटिंग र बलिङ्ग दुवैमा योगदान दिए पछि प्लेयर अफ द म्याच चुनिएका छन्।
राष्ट्रिय टिमको लागि २०१५ देखि खेल्न थालेका करन दोश्रो पटक प्लेयर अफ द म्याच चुनिएका हुन्। यस अघि उनि आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत क्यानडासंग चमत्कारिक अविजित ४२ रनको इनिंग खेल्दा प्लेयर अफ द म्याच चुनिएका थिए।