नेपाली कांग्रेस पर्साको नाम लिनासाथ वीरगन्जकी शान्ति कार्की ‘शान्ती दिदी’ को नाम जोडिहाल्छ । जिल्लाको वीरगन्ज–१६ तेजारथ टोलमा जन्मिएकी उनी जीवनभर नेपाली काँग्रेस पार्टीमा जोडिएर राजनीति गर्दै समाज सेवामा लागेकी छन् । ९३ बर्षको उमेरमा पनि वीरगन्ज महानगरको उपप्रमुख पदमा रही नगरवासीको हितमा नेतृत्वपंतिमा रहँदै आएकी उनी १४ वर्षको उमेरदेखि पञ्चायती व्यवस्थाको विरुद्धमा राजनीतिमा होमिएको वीरगन्जका जानकारहरु नै बताउँछन् ।
प्रजातन्त्र प्राप्तिका लागि सर्घष गर्दा शान्ती दिदीले बर्षांै जेल जीवन बिताएको उदाहरण धेरैलाई थाहा नै छ । पञ्चायत कालिन शासकको यातना र पीडालाई खेपेकी उनी अविवाहित नारी पनि हुन् । आफ्नो विवाहको पर्वाह नगरी राजनीतिमा जीवन होमेकी शान्ति दिदीको समर्पणलाई उनको पार्टीले भने जीवनको उत्तरार्धमा मात्र बल्ल सम्झियो र वीरगन्ज महानगरको उपप्रमुख हुने अवसर पाइन् । फेरि स्थानीय तहको निर्वाचन नजिकिएसँगै गएको पाँच बर्ष कार्यकालको अनुभव र आगामी लक्ष्यका बारे वीरगन्ज महानगरकी निष्ठावान चेली वा वीरगन्जकी शान्ति दिदीसँग मध्य नेपालले गरेको बिशेष कुराकानी ः
१) पाँच बर्ष वीरगंज महानगरपालिकाको उप–प्रमुख भएर काम गर्दाको ठोस अनुभव के रह्यो ?
वीरगंज महानगरपालिका नेपालकै विकास र निकाशको गन्तब्य हो । म वीरगंजवासी हु भन्न गौरव हुने आधार मेरो जन्मभूमि हो । म उपमेयर हुनु अगाडी पनि सामाजिक संस्थामा रहेर जनताको सेवा गरेकै थिए । कार्यकारी पदमा पुगेपछि जनता प्रति ठोस सेवा गर्ने मेरो चाहनामा उपमेयरको पदको दायराले रोकिदियो । अहिलेको नीतिले मेयरका जति पनि हातखुट्टा फैलाउन मिल्ने तर उपमेयरको लागि सिमित अधिकार दिंदा मेरो जीवनभरको चाहना ठोस रुपमा प्रकट गर्न अप्ठ्यारो भयो । मलाई वीरगन्जवासीले आफ्नो अमुल्य मत दिई उपमेयर पदमा जिताउनु भए अनुसार पदको अधिकारले ठोस काम गर्न नपाउँदा अपसोच लागेको छ । पार्टीले पुनः जिम्मेवारी दिए र वीरगन्जवासीले साथ दिए म अब कानूनी दायरा परिवर्तन गरेर पनि जनताले देखिने काम गर्न पछि पर्दिन । कुनै विकास निर्माण कार्यका लागि उपमेयरले चलाउन पाउने बजेटको भूमिका छैन । न्यायिक क्षेत्रमा महानगरपालिकामा उजुरी परेका २९४ वटा मुद्दा मध्ये २०५ वटा मुद्दा न्याय निरुपण गर्न सफलता मिल्यो । न्याय कमिटीबाट फैसला भएका मुद्दा चित्त नबुझी जिल्ला अदालतमा जाँदा ५ वटा मुद्दा महानगरपालिकाको न्याय कमिटी फैसला अनुसार नै सदर भएको छ ।
२) वीरगंज भनेको नेपालकै विकास र निकाशको गन्तब्य हो भन्नु भयो ? वीरगन्जको विकाश हुन नसक्नुका कारणहरु चाही के हुन् ?
वीरगंज महानगरपालिमा सोचे जस्तो समृद्ध हुन नसक्नुको मुल कारण भनेको यहँका भत्केका बाटो, गुणस्तरीय शिक्षाको अभाव र समाजको पनि केही कमजोरी रह्यो । केहि हदसम्म विकास भए पनि यहाँ जातीय भेदभाव, दाईजो प्रथा जस्ता रुढीबादी परम्परा अन्त्य हुन नसक्दा वीरगंज महानगरपालिका विकासको अग्रपंतिमा पुग्न नसकेको हो । नगरका लागि ठूला–ठूला विकासका योजनाहरु ल्याउन लागि पर्नु, नगर भित्रका साना–साना विकास निर्माणका कामलाई महत्व नदिनु मूल कारण हो । अव त पढे लेखेका युवाहरु समाजको विकासको लागि परेका छन् । विकासका लागि सामाजिक अगुवा भन्नेहरुले पनि आफैले पनि विकासका काममा थप सकृयता देखाउँदा जनप्रतिनीधिलाई थप दवाव पुग्छ र यो महानगरपालिकाको विकास तिब्र रुपमा हुन्छ ।
३) आगामी निर्वाचनमा पार्टीले अगाडी सारे फेरि वीरगंज महानगरपालिकाको कुनै पदमा आकांक्षी हुनुहुन्छ ?
विगत ५ वर्षे कार्यकालमा पार्टी र जनताको हित विपरित हुने कुनै पनि काम गरेको छैन । संविधान र पदको अधिकार भित्र रहेर जनताको लागि काम गरेको छु । १४ वर्षको उमेरदेखि राजनीति क्षेत्रमा लागेको हो । आजसम्म पार्टी संगठन र बिना भेदभाव जनताको काम र सक्दो सहयोग गरेको छु । आगामी निर्वाचनमा टिकटका लागि पार्टी अध्यक्ष र पार्टीका केहि नेताहरुसंग पनि कुराकानी गरेको छु । सम्भव त फेरि पनि वीरगंज महानगरपालिकाको उपमेयर पदका लागि मैले नै टिकट पाउँछु भन्ने विश्वस्त छु । यदि पार्टीले अगाडी सारे निश्वार्थ ढंगले जनताको सेवा गर्न कुनै कसर बाँकी राख्दिन । पार्टीबाट म भन्दा राम्रो राजनीति बुझेका र काम गर्न सक्ने कुनै व्यक्ति उपमेयर पदको लागि अगाडी सर पद त के राजनीतिबाट नै अब सन्यास लिन्छु ।
४) वीरगंज महानगरपालिकाको फेरि उप—मेयर पदका लागि उमेदवारी पाउनु भयो के काम गर्ने अठोट छ ?
धेरै जसो पार्टीमा कांग्रसबाटै गएका व्यक्तिहरु पदमा छन् । पार्टीमा लामो समयसम्म बस्न एकदमै गाह्रो छ । पहिला ४ वटा पार्टी मात्रै थिए । अहिले त्यही पार्टी फुटेर धेरै वटा भएका छन् । ती सबै पार्टीका व्यक्तिहरुले मलाई चिनेका छन् । मैले कहिले पनि शिक्षादेखि लिएर कुनै क्षेत्रमा पनि भेदभाव गरेकी छैन । म एउटा संजालको पनि अध्यक्ष हँु । त्यहाँ सवै पार्टीका महिलाहरु छन् । त्यसमा मैले कहिले पनि भेदभाव गरिन । किन भने महिला महिला नै हो । हुन त हरेक पार्टीका आ–आफनै सिद्धान्त हुन्छन् । तर महिला एकजुट हुनु पर्छ भने मेरो सिद्धान्त हो । विगत कार्यकालमा जनताले आशा गरेका आवश्यक काम र आफुलाई गर्न इच्छा भएका विकास निर्माणका कामहरु गर्न छुटे । ती सबै ठोस काम गर्ने योजना छ ।
५) यहाँले अहिले गर्नु भएको प्रतिवद्धताहरु पुरा गर्न माथिको साथ दिनु हुन्छ ?
जनताहरुलाई मैले बोलेको कुराहरुको पक्का विश्वास छ । किन भने वहाँहरुलाई थाहा छ की म जे बोल्छु त्यो गर्छु । तर सरकारले संविधान संशोधन गर्नु पर्छ । उपमेयरलाई पदको कुर्सी मात्र होइन । विकास निर्माणका क्षेत्रमा पनि काम गर्ने अवसर र बजेट निर्धारण गरिदिनु पर्छ । अनि मात्र जनतासँग गरेको प्रतिवद्धता पुरा गर्न सहज हुन्छ । हालको संविधानमा उपमेयरको काम विकासका एजेन्डा तर्फ नभई न्याय कानुन तर्फ मात्र सिमित छ । महिलाहरु इमान्दार हुने आफ्नो काम कर्तव्य प्रति बफादार रहि काम गर्ने भएकाले अधिकार पाए उमेदवारले सहजै जनतासंगको प्रतिवद्धता पुरा गर्न सकिन्छ ।
६) मधेश प्रदेशमा कर्मथलो बनाएर अगाडी बढिरहनु भएको छ, अन्य ठाउँको तुलनामा यहाँका यो प्रदेशका महिलाहरु पछाडी पर्नुको कारण के पाउनु भयो ?
मधेश प्रदेशका महिलाहरुको मात्रै समस्या होइन । नेपाल मै महिलाहरु पिछडिएका छन् । यो प्रदेशका महिलाहरु पिछडिनुको कारण जकडेर बसेको यहाँको रुढीबादी परम्परा र ग्रामिण क्षेत्र भएर पनि हो । तर पनि यहाँका महिलाहरु अब पढाइ लेखाइमा आइए, विए गर्न थाले । पछाडि परेको त हाम्रो रुढीबादी सोच र समाज मात्र हो । अहिले पहिलेको तुलनामा घुंघट प्रथा, बालविवाह जस्ता कुरीतिहरु कम हुँदै गएका छन् । अहिलेका छोरी बुहारीहरु प्राय शिक्षित नै छन् । मलाइ लाग्छ मधेश प्रदेशको विकास गर्नको लागि अहिले चुनावमा प्रत्येक वडाबाट २ जना महिलाहरु अनिवार्य गरिए पछि जुन अधिकार प्राप्त भएको छ । अब सवै वडाका महिलाहरु मिलेर आफनो क्षमता र समाजको विकास गर्न पनि सक्छन् भन्ने विश्वास छ ।
७) मधेश प्रदेशमा महिलाहरुको शसक्तिकरणका लागि के गर्नु पर्छ जस्तो लाग्छ ?
ठाउँ ठाउँमा विद्यालय, अस्पताल खोल्ने । स्वास्थ्य क्षेत्रमा पनि महिलाहरुलाई अगाडी बढाउने । त्यस्ता ठाउँमा महिलाहरुलाई नियुतिm गर्ने, शिक्षा र विकासका काममा हरेक पुरुषहरु सरह महिलाहरुलाई पनि अगाडी बढाउने गर्नु पर्छ । अनि ग्रमिण भेगका महिलाहरु आर्थिक अभावका कारण अझै पनि दैलोबाट पाईला सार्न सकेका छैनन् । तिनीहरुलाई पनि चेतनास्तर बढाउँदै विभिन्न काममा सरिक गर्न पर्छ । शिक्षाबाट आफ्नो विकास मात्र होईन पुरै गाउँको विकास गर्नु उनीहरुलाई पनि जोड्नु पर्छ । महिला र बालबालिकाको विभाग र संगठनहरुमा पनि उनीहरुलाई समावेश गर्नु पर्छ । दलित जनजाती समुदायका पढे लेखेका महिलाहरुलाई उचित ठाउँमा अवसर दिएर ती समुदायको विकासमा पनि उनीहरुलाई उदाहरणीय प्रस्तुत गर्न सक्नु पर्छ । महिलाका लागि हरेक ठाउँमा आरक्षण सिट पनि सुरक्षित गर्नुपर्छ ।
८) अन्त्यमा तपाई वीरगंज वासीलाई के भन्न चाहनु हुन्छ ?
यदि मैले सवैको साथ पाए फेरि पनि जित्ने छु । म वहाँहरुलाई धन्यवाद दिन चाहान्छु । मैले सामाजिक क्षेत्रमा गरेको योगदान र सेवालाई वीरगंजवासी जनताले मूल्यांकन गरिदिनु भयो । उपमेयर जस्तो गरिमामय पदमा आफ्नो अमूल्य मत दिएर विजयी बनाउनु भयो । जुन उद्धेश्य र विकासका लक्ष्य बोकेर उपमेयरको कुर्सीमा पुगें । तर सोचे अनुरुप विकास निर्माणका लागि ठोस काम गर्न सकिएन । नेपाल सरकारले संविधान सम्सोधन गरी मेयर र उपमेयर दुबैलाई नगर विकास र निर्माणका क्षेत्रमा काम गर्न बराबरी बजेट विनयोजन गरे मात्र जनभावना अनुसार विकास निर्माणका काम गर्न सम्भव हुन्छ ।