वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्र मुलुकको सबैभन्दा ठूलो औद्योगिक कोरिडोर क्षेत्र हो । यो क्षेत्रका उद्योगको उत्पादनले मुलुकका आम जनताको ठूलो आवश्यकता पूर्तिलाई सहज बनाएको छ । खाद्यान्न मात्र नभई लत्ताकपडा, सिमेन्ट, फलामे डण्डी ( रड ) लगायत हरेक प्रकारका सामान उत्पादन हुने यो कोरिडोर क्षेत्रका १ सयभन्दा बढि ठूला उद्योगहरु पछिल्लो समयमा सरकारको नीति सहि नहुँदा फेरि समस्यामा भोग्न बाध्य छन् ।
ठूला–साना सबै उद्योगको उत्पादन सहज भए मात्र मानवीय आवश्यकताका बस्तुहरुको पूर्ति सहज हुन्छ भन्ने कुरा मुलुकको मूल नीति हाँक्ने राजनीतिकर्मीहरुलाई कहिले हेक्का भएन । फलतः त्यसको प्रत्यक्ष असर जसरी पनि जनतामा नै पुग्ने गरेको छ ।
यो कुरामा राज्य बेखबर देखिनु साह्रै दुःखद् पक्ष हो । यति वेला मुलुकमा स्थानीय तहको निर्वाचन हुने र धेरै नेता गाउँ घरमा नै रहने समय भएकोले जनस्तरका समस्या अर्थात भूँई तहका समस्या ती नेता कार्यकर्तालाई नितान्त जानकारी हुनु पर्ने हुन्छ ।
तर जनतासँग अर्थात उद्योगी व्यापारीहरुसँग पनि हरेक दिन भेटघाट हुने समयमा ती राजनीतिको बेसुरे राग अलाप्ने उनीहरुलाई स्थानीयस्तरका वास्तविक समस्याको ख्याल रहन्न ।
केवल एकअर्काको आरोप प्रत्यारोपमा मात्र रमाउने आलाकाँचा नेता र पाँच बर्ष पनि पार्टीको नाम एउटै कायम राख्न नसक्ने छद्मभेषी राजनीतिकर्मीहरुको छाँयामा देशकै पुरानो र आम जनताको भरथेग योग्य औद्योगिक कोरिडोर क्षेत्र अहिले पनि समस्या ग्रस्त छ ।
कोरोनाको नकारात्मक असरपछि बल्ल लयमा फर्कन थालेको ‘वीरगन्ज पथलैया औद्योगिक कोरिडार’ क्षेत्रका उद्योगको उत्पादन क्षमता अप्रत्यासित रुपमा खस्कनुमा गठबन्धन सरकारको अदूरदर्शी नीति प्रष्टै छ ।
त्यो नीति सहि भए यहाँका ठूला उद्योग प्रतिष्ठानहरुको आफ्नो क्षमताको २५–३० प्रतिशत मात्र सञ्चालन क्षमताबाट स्वतः उत्पादन खस्कने थिएन । यत्रो उत्पादनमा ह्रास आउँदासम्म चुईंक्क नबोल्ने अपरिपक्क नेताहरुलाई अब जनताले आफ्नो हात काटेर भोट दिनु पर्ने समय नजिकिदै छ । ‘नेपाल विद्युत् प्राधिकरणद्वारा ६६ केभिएको औद्योगिक प्रसारण लाईनमा जोडिएका उद्योगहरु दिनको अघोषित १२ घण्टासम्म लोडसेडिङ्ग र झण्डै ५–६ पटक ट्रिपिङ्गको समस्या भोग्न बाध्य छन् । यसको निदान खोज्न तल्लो तहबाट पनि पहल कदमी लिइनु गलत होइन ।
तथापि जनताका सरोकारका बिषय सधैं ओझेल पारेर आरोप–प्रत्यारोपमा मात्र रमाउने राजनीतिकर्मीहरुबाट जनताले धेरै ठूलो अपेक्षा गर्न सक्दैनन् । यस्तो परिस्थितिमा त राजनीतिकर्मीहरुले जनस्तरमा भएका साना–साना समस्यालाई पनि केलाएर जनताका बीचमा हामी यस्तो समस्या हल गर्छौं या गर्न प्रयास गछौं भन्न सक्नु पथ्र्यो ।
नहुने कुरामा भने फाल्तु तर्क गरी आफ्नो समय र सर्वसाधारणको समय वित्थामा खर्चेका जिम्मेवार ठाउँमा बस्ने व्यक्तिलाई जनताले च्वाट्ट छोड्न पनि सक्दैनन् । यो बाध्यतालाई सधैं प्रयोग गर्ने मात्र रवैया अब त बन्द गरिनु पर्छ ।
नत्र परिवर्तित व्यवस्था विरुद्ध नफर्कने राजनीतिक दल भनिएको राप्रपाको जनलहरले परिवर्तनकामी शक्ति भनिएका राजनीतिक दल र राजनीतिकर्मीहरुको भावना विपरित व्यवस्था परिवर्तन गर्न बेर लाग्दैन । नेपालमा जे नहुने हो राजनीतिक वृत्तमा त्यहि भइरहेको पनि छ । त्यसैले पहिले आफ्नो कमि कमजोरी र वरिपरिका समस्याको समाधान खोज्ने परिवर्तनकामी शक्ति हौ भन्नेहरुले अग्रसरता देखाउनु पर्छ । नत्र पछि नपत्याएको शक्तिले नै हुत्याउन समय लाग्दैन ।