बैशाख आधा महिना पनि नबित्दा मध्यतराईमा अहिले नै गर्मीले जनजीवन प्रभावित हुन थालेको छ । मध्यतराईका पर्सा, बारा र रौतहट लगायतका जिल्लाहरुको जनजीवन गर्मी सुरु हुँदै कष्टकर बन्दै गएको हो ।
मध्येबर्षामा यस्तै गर्मी बढ्दै जाने हो भने यो बर्ष थेग्न नसकिने हुनसक्ने स्थानीयले बताए । बिहानैदेखि चर्को घाम लाग्ने तथा तातो हावा चल्ने भएकोले यहाँको जनजीवन समयभन्दा निकै चाँडो गमाइसकेको उनीहरुको भनाइ छ । गर्मी बढदै जाँदा पर्साको सदरमुकाम वीरगंज, बाराको सदरमुकाम कलैया र रौतहटको सदरमुकाम गौर लगायतका बाक्लो बस्ती भएको शहरहरुमा मध्यान्ह सर्वसाधारणको चहल पहल घटेको छ । एक्कासीको चर्कोघाम र तातो हावाका कारण सर्वसधारणलाई बिहान पनि घरबाट बाहिर निस्कन कठिनाई हुने भएको स्थानीय निरञ्जन जैसवालले बताए ।
एक्कासी गर्मी बढ्दा यहाँका सरकारी कार्यालयहरुमा पनि विगतको तुलनामा सेवाग्राहीहरुको संख्यामा कमी देखिन थालेको उनको भनाइ छ । ती सरकारी कार्यालयहरुमा टाढाबाट सेवा लिन आउने सेवाग्राहीहरु चर्को घाम र प्रचण्ड गर्मीका कारण सेवा लिनभन्दा शीतल खोजेर हिड्न बाध्य हुने गरेको जैउवालले बताए । केही सातादेखि बढेको गर्मी तथा सुख्खा यामका कारण पर्सा जिल्लामा मात्रै डेढ दर्जन बढी घरमा आगलागीका घटना भएका छन् । ग्रामीण भेगमा काठ र फूसका घरहरु बढि हुनेहुँदा र बारुण यन्त्रको असुविधा हुँदा तस्ता घरमा लागेको आगो नियन्त्रणमा लिनुपूर्व धनजनको बढी क्षति भइसक्ने पनि स्थानीयको तर्क छ ।
सुख्खायाम र गर्मीका कारण मानिसको शरीरमा पानीको मात्रा कम भई टाउको दुख्ने, झाडा पखाला लाग्ने, रिंगटा लाग्ने जस्ता लक्षणहरु बढी देखिने नारायणी क्षेत्रीय अस्पतालका डाक्टर उदयनारायण सिंहले बताए । आउ, ज्वरो, झाडापखाला, टाइपाइड पानीको कमी र जोन्डिसका विरामीको संख्या अहिले ह्वात्तै बढेको छ । पहिलाको तुलनामा अहिले बिरामीको संख्या पनि दैनिक ४०/५० जनाभन्दा बढी थपिएको उनको भनाइ छ । अहिले खास गरी झाडापखालाकै विरामीहरु बढि आइरहेको चिकितसक सिंहले बताए । बिरामीहरु अधिकाँश ८ वर्ष मुनिका बालबालिकाहरु र बृद्धबृद्धाहरु बढि भएको उनको भनाइ छ । बढदै गएको गर्मीको प्रतिरोध गर्न नसक्दा बालबालिकाहरुमा झाडापखाला र ज्वरोका बिरामीको संख्या अप्रत्यासित बढेको नारायणी अस्पतालका चिकित्सकहरुले बताए । गर्मीसँगै छालामा देखिने रोगहरु पनि बढेको अस्पतालको ओ.पि.डि सेवामा खटेको चिकित्सकहरुको भनाइ छ ।
मौसम प्रतिकुल भए पनि यता नेपाल विधुत प्राधिकरणले भने लोडसेडिङको तालिका विना नै पटक–पटक विजुलीबत्तीको लाइन काटिदिंदा सर्वसाधारण अझ मारमा परेको स्थानीय विष्णु कुमारले बताए । नयाँ शैक्षिक सत्र सुरु भएसंगै अहिले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु जुनसुकै समयमा प्राधिकरणले विद्युत काटिदिएको कारण लेखपढ गर्न नपाएर समस्यामा परेका छन् । अधिंकाश सरकारी विद्यालयहरुमा जेनेरेटरको व्यवस्था नहुने र दिउसो लाइन काटिदा विद्यार्थीहरु प्रत्यक्ष मारमा परेको उनले बताए ।
गहुँ लगायतका नगदेवाली उठाउन पर्ने यस क्षेत्रका किसानहरुलाई झन बिहानैदेखि लागेको चर्को घाम र रापले सताएकै छ । यसको अलावा चैते धान रोप्ने यो सिजनमा सिंचाइ सुविधा नभएका किसान एक्कासी बद्लिएको मौसमले अन्यौलग्रस्त रहेको पर्साको रामनगरीका किसान चन्द्रमोहन साहले बताए । यता गर्मी बढेसँगै बजारमा भने चिसो पेय पदार्थको विक्री वितरण निकै फष्टाएको छ । काक्रो, उखु, दही, लस्सी, कोल ड्रिङ्ग्स, भूर्इं कटहर, सतुवा लगायतका झोलिलो बढि हुने सामानको पनि कारोबार बढेको स्थानीय व्यापारी उमेश कुश्वाहाले बताए ।
गर्मी सुरु भए पनि वीरगंजमा विभिन्न ठाउँमा निःशुल्क रुपमा पानी खुवाउदै आएको समर्पण सेवा, कलवार कल्याण सेवा लगायतको संस्थाहरुले बिग्रदै गएको धाराको मर्मत सम्भार नगर्दा सर्वसधारण, बटुवाहरु चाही पानी खानबाट समेत बञ्चित भएका छन् । सर्वसधारणको सुविधाका लागी वीरगनजको आदर्शनगरमा भने स्थानीय मारवाडी समुदायको सहयोगमा बटुवाहरुलाई निःशुल्क जल खुवाउने गरेको जल सेवाकी उर्मिला देवीले बताइन् । गर्मी सिजन सुरु भएपछि बजार क्षेत्रमा भने विभिन्न व्यक्ति र संस्थाहरुले विगतका बर्षहरुमा निशुल्क पानी वितरण गर्दै आएका थिए । यो बर्षभने त्यस्तो सेवा प्रायः चालु नभएको स्थानीयले बताए ।