बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदावरी दर्ता भएसंगै पर्सामा जनताको घरदैलोमा जुट्ने उम्मेवारहरुको लर्काे लागेको छ । यसैबिच पर्साको सखुवा प्रसौनी गाउँपालिकामा पनि घरदैलो गर्ने, भोट माग्ने र जनतालाई रिझाउने काममा प्रत्येक उम्मेवारहरु तिब्र गतिमा अगाडी बढेका छन् । नेकपा एमालेबाट सखुवा प्रसौनी गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका युवा नेता यसवन्त यादवको पनि चर्चा चलिरहेको छ । गत स्थानीय निर्वाचनमा स्वतन्त्र लडेका यादव यसपालिका नेकपा एमालेबाट उम्मेदवार भई निःवर्तमान गाँपा अध्यक्ष लगायतलाई कडा टक्कर दिएको सर्वसधारणको बुझाई छ । उनै उम्मेदवार यसवन्त यादवसंग उम्मेदवारी किन र के का लागि लगायतका बिषय बारे गरिएको कुराकानी जस्ताको त्यस्तैः
१) तपाईको उम्मेदवारी के का लागि ?
विगत ५ वर्षमा सखुवा प्रसौनीमा निर्वाचित जनप्रतिनिधीहरु जनचाहना अनुसार काम गर्न सकेका छैनन् । सखुवा प्रसौनीमा जनतालाई विकास निर्माणको समस्या, शिक्षा, स्वास्थ्य क्षेत्रमा कुनै सुविधा नभएको र युवाहरु चरम बेरोजगारीको उत्कर्षमा छन्। यी सबै समस्या सामाधान गर्ने अठोटका साथ मेरो उम्मेदवारी दिएको छु । मैले मुख्यतः विकास निर्माणको काम अगाडी बढाउन एउटा निश्पक्ष जनप्रतिनिधीको रुपमा स्थापित हुनलाई मैले उम्मेदवारी दिएको छु ।
२) जनताले तपाईलाई नै भोट किन दिने ?
गत निर्वाचनमा मधेश आन्दोलनको रापतापमा कुनै राजनीति पृष्ठभूमि नै नभएका र हिजोको दिनमा दुई नम्बरको काम गरि व्यापारी भएकाले जनतालाई झुक्याएर भोट त लिए । तर जनताको चाहना र भावना अनुसार कुनै पनि काम गरेनन् । सखुवा प्रसौनीमा भ्रष्टाचार चरम सिमा नाघेको छ । जुन बेला बखत म लगायत नेकपा एमालेका टिमहरुले गर्दै आएको बिरोध प्रदर्शनले सबै जनताहरुलाई अवगत नै छ । मुख्यतः निवर्तमान गाउँपालिका अध्यक्ष लगायतले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा गरेको भ्रष्टाचार, बेईमानीप्रति नेकपा एमालेले एउटा प्रतिपक्षको भूमिका खेली खबरदारी गर्दै हरेक जनतालाई सचेत गराउँदै आएका छौं । पालिकाको हरेक क्षेत्रको भ्रष्टाचारको बारेमा जनतामाझ हामीले उजागर गर्दै आएकाले यसपालिको चुनावमा जनताले शुद्ध राजनीतिकर्मीलाई जिताउने मुड बनाईसकेका छन् । सखुवा प्रसौनीवासीले यसपालि एमालेलाई नै जिताउने मनोबिज्ञान बनाएका छन् । त्यसकारण म नै जित्छु भने आशा र विश्वास छ ।
३) सखुवा प्रसौनी गाउँपालिकालाई समृद्ध बनाउने यहाँको एजेण्डा के के हुन ?
पहिलो प्राथमिकता नै भ्रष्टाचारमुक्त गाउँपालिका । पर्सामै सबैभन्दा बढि सखुवा प्रसौनी गाउँपालिकामा भ्रष्टाचार भएको छ । २० वर्षदेखी जनप्रतिनीधी विहिन रहेको स्थानीय तहमा जनप्रतिनीधी आएदेखी नै ३० देखी ४० प्रतिशत कमिश्न लिएर काम गरेको हुनाले निश्चित रुपमा भ्रष्टाचार देखिएको छ । गाउँपालिकामा किसान र बेरोजगारीको समस्या उत्कर्षमा छ । यहाँका दलित समुदाय र सुकुम्बासीका समस्या पनि धेरै छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा पनि जनताको सहज पहुँच हुन सकेको छैन् । दैनिक कमाई गरि खाने गरिब परिवारलाई अहिले पनि शिक्षा र स्वास्थ्य सुविधा लिन धेरै टाढा जानु पर्ने अवस्था छ । गरिबलाई पढाउन र उपचार गराउन धेरै नै समस्या छ । तसर्थः संविधानले स्थानीय तहलाई दिएको अधिकारभित्र रहेर बेरोजगारी समस्या सामाधान गर्दै गुणस्तरीय शिक्षा र पालिकास्तरमै स्तरीय उपचारको व्यवस्थापन गर्नेछु ।
४) यहाँ नै जित्ने आधार के हो ?
गाउँपालिका अध्यक्षको बोली, व्यवहार र बिचार राणा शैलीमा चल्दैछ । ५ वर्षको कार्यकालमा जनतासंग प्रत्यक्ष रुपमै कहिल्यै नभेटेर जनताको समस्या नबुझेको र जनताको विकासे बजेटमा व्यापक भ्रष्टाचार गरेको छ । मैले विगतदेखी नै जनताको दुःख, सुखमा हातोमालो गर्दै निरन्तर आवाज उठाउँदै आएको छु । जनताको समस्या आफ्नो समस्या सम्झेर बोकेको छु । जनताले चाहेको, इच्छाएको काम जनप्रतिनिधीहरुले गर्न नसक्दा मैले नै जित्ने आधार देखेको छु ।