निर्वाचन भन्ने बितिकै अहिले आम मानिसको दिमागमा पैसा, पावर, ठेक्कादार, डन, रमाईलो गर्ने, नेताहरुको आम जनतासंग झुठो कसम वा प्रतिवद्धता, एक दिन भए पनि नेता जनताको घरमा पुग्ने समय भन्ने कुरा निकै चर्चामा छ । तन्नेरी नविन सिलवाल पनि निर्वाचनमा प्रतिस्पर्धा के को ? भन्ने प्रश्न गर्छन् । हुन पनि हो अहिले निर्वाचनमा पार्टीका नीति र पार्टीका सैद्धान्तिक मुद्दाभन्दा पनि यहि पैसा, पावर, डन, नेताको झुठा आश्वासन र जसरी पनि निर्वाचन जित्ने प्रपञ्च यो वाहेक केही उच्चस्थानमा छैन ।
निर्वाचनको बेलामा कुन उम्मेदवारले पार्टीलाई कति रकम बुझाएर टिकट पायो ? कुन उम्मेदवारले कति खर्च गर्न सक्छ ? वा देशका चर्चित डन कुन पार्टीबाट टिकट पाउँदैछन् ? यस्ता चर्चा बढि हुने गर्छन् । स्वच्छ निर्वाचनका लागि योग्य उम्मेदवार, पार्टीहरुमा कुन पार्टीको नीति सिद्धान्त स्तरीय भन्ने प्रतिष्पर्धा यो समयमा हुनु छोडेको छ । अहिले पैसा र पावरको प्रतिस्पर्धा भइरहेको देखिन्छ । आखिर निर्वाचनमा प्रतिस्पर्धा के को ? पैसा, पावर वा एजेन्डाको ? आफ्ना एजेण्डा स्थापित गराउने पछिल्लो समयमा राजनीतिक संस्कार सकिसकेको छ । अब जसरी पनि जित, त्यसका लागि पैसा र पावरवाला भन्ने बिषयले अड्डा जमाइसकेको छ । अनि कसरी हुन्छ ? जनताका लागि एजेन्डा स्थापित ? खोइ त स्वच्छ प्रतिष्प्रर्धा ? खोइ त राजानीतिक संस्कार र ईमान्दारिता ?
अहिले निर्वाचनमा दलहरूले उम्मेदवारी दिएका पात्रहरूलाई हेर्दा पार्टीका पुराना र ईमान्दार कार्यकर्ताले निराश हुनुपर्ने अवस्था आएको छ । अहिलेको निर्वाचनमा पनि पैसा र पावरको प्रशस्त प्रयोग भएको छ । विगत लामो समयदेखि राजनीति गर्नु भन्दा पनि पार्टी परिवर्तन गर्ने पैसावाला, सरकारी कर्मचारी भएर सरकारी ढुकुटीमा रजाई गरेका तथा पैसावाला व्यक्तिहरूले निर्वाचनमा टिकट हात पारेका उदाहरण छन् । लामो समयसम्म पार्टीमा योगदान गरेका कार्यकर्ताले भने यो अवसर पाउन सकेनन् । टिकट पाउने बेलामा उनीहरूलाई दलको नेतृत्वले पछि पारेको देखिन्छ । कतिपय टिकट आकांक्षीले अन्तिम अवस्थामा दल बदल गरेको पनि देखिएको छ ।
त्यसैले कुनै पनि उम्मेदवार दलको सिद्धान्तभन्दा पनि पद प्राप्ति पछि हुने उपलब्धिमा बढ्ता ध्यान दिने गर्छ । जसरी होस् निर्वाचन जित्न सक्ने, खर्च गर्न सक्ने र दलको नेतृत्वलाई पैसा दिएर खुशी पार्न सक्ने उसको ध्यान यता तानिएको छ । पार्टीले व्यक्तिको खोजी पनि त्यस्तै पथभ्रष्ट व्यक्तिलाई खोजेको देखिएको छ । यो प्रवृत्ति विगत केहि समयदेखि नेपाली राजनीतिमा विकसित हुदै गएको छ । अहिले उम्मेदवार बनेका कतिपय व्यक्तिलाई सर्वसाधारणले बुझ्न सकेका छैनन् । पहिलेदेखि नै उनीहरूले स्थानीय तहमा काम गर्दै आउन पाएको भए जनताहरुले उनीहरुलाई कामको आधारमा मत दिने नदिने कुरा हुन्थ्यो । आखिर अहिलेको निर्वाचनमा प्रतिस्पर्धा के को हो त ? जनताहरु यो पनि बुझ्न खोजिरहेका छन् ? कस्तो व्यतिmलाई चुन्ने ? कस्तो व्यतिmलाई छान्ने ?
पहिला–पहिला स्थानीयस्तरमा काम गरेका नेताहरुले उम्मेदवार बन्न पाउथे र स्थानीयस्तरमा काम गरेर राष्ट्रिय राजनीतिमा आइपुग्दा तिनले आफूलाई उपयोगी साबित गराएका हुन्थे । तर पछिल्ला वर्षमा सिधै व्यवस्थापिका संसदमा निर्वाचित भएर आएका व्यक्तिहरूको भूमिका प्रभाकारी देखिदैन । झन् यसपटक पैसाको बलमा टिकट पाएर स्थानीय तहमा जित्नेहरूबाट अहिले राष्ट्रिय राजनीतिमा पनि विकृति आइरहेको छ । स्कूल सञ्चालक, बैंकर, क्रसर उद्योगी, अन्य स्वार्थ समूहका व्यक्तिहरूले संसदमा आफ्नो हित रक्षाका लागि गरेको लबिङ्क र तदानुकूलको कानुन निर्माण प्रक्रिया सार्वजनिक भइसकेको छ । सार्वजनिक दबाब र आलोचना पछि मात्र उनीहरूले आफू अनुकूल बनाउन खोजेका केही प्रावधान परिवर्तन भए । तिनले आफूलाई निरन्तर आफ्ना उद्देश्यमा लगाइरहेको देखिएको छ ।
स्थानीय तहमा पनि उद्योगी, व्यवसायी, स्कूल सञ्चालक वा अन्य स्वार्थ समूहमा लागेकै व्यक्ति संलग्न हुँदा अपेक्षित परिणाम नआउन सक्छ । वास्तविक अर्थमा स्थानीय तहलाई सशक्त तुल्याउन इमान्दार र भरपर्दो नेतृत्व चयन हुनु आवश्यक हुन्छ । पैसाकै बलमा टिकट पाएका र दल तथा स्थानीय समाजलाई योगदान नगरेका व्यक्तिले विजय हासिल गर्ने अवस्था आयो भने परिणाम सकारात्मक हुने छैन । यस्तै पैसा र पावरवालाले मात्र निर्वाचनमा टिकट पाउने हो भने कम पैसा भएका व्यक्तिले निर्वाचनमा भाग लिनै नसक्ने अवस्थामा परिवर्तन पनि हुनेछ । र आम जनतामा काम गरेर नेता बन्नु भन्दा पनि पैसा र पावरको आधारमा नेता बन्ने प्रतिस्पर्धा चलेको छ । निर्वाचन लोकतन्त्रको गहना हो । त्यसैले पैसाभन्दा पनि मुद्दा, भिजन भएका जनप्रतिनिधि खोजी यसको हुनुपर्ने हो । अब पनि बहस यो कोणबाट सुरुवात नगर्ने हो र ?