विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पर्सेली संचारकर्मीहरुले वीरगन्जमा पनि दिवस मनाएका छन् । प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघको सभाहलमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरी यहाँ पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको हो ।
सो कार्यक्रममा पर्सेली पत्रकारहरुले संघीय लोकतान्त्रिक शासन व्यवस्थामा पनि नेपाली पत्रकारको अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत हुन अझै नसकेको बताए । यो बर्ष ७५ वटा प्रेस हनन्का घटना हुुँदा २ सय ७२ जना सञ्चारकर्मी र ९ वटा सञ्चार गृह पीडित भएका छन् ।
उक्त घटनामा आबद्ध २ सय ७२ जना संचारकर्मीहरु मध्ये संचारकर्म तर्फ आकर्षित पत्रकार महिलाहरु मध्ये पनि ३३ जना पीडित भएकोमा पर्सेली पत्रकारहरुले चिन्ता व्यक्ति गरे । पत्रकारहरु माथि हुने भौतिक हमला र पेशागत असुरक्षा दुबैले पत्रकारहरुलाई त्रासमा राखेको उनीहरुले तर्क छ ।
नेपालका पत्रकारहरु हिंसामा परेको तथ्याँक नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईले संकलन गरेको छ । यो तथ्यांक अनुसार यो वर्ष पत्रकारहरुले पेशागत सुरक्षाको अभाव जनाउँदै ३ सयभन्दा बढी उजुरी दर्ता गराएका छन् । प्रेस स्वतन्त्रता हनन्का ७५ वटा घटना हुँदा सबैभन्दा बढी घटना मुलुकको राजधानी रहेको बागमती प्रदेशमा नै हुनुले पनि चिन्ता बढाएको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछानेले बताए । बागमती प्रदेशमा मात्र त्यस्ता घटना ५४ वटा छन् । ‘यो प्रेस स्वतन्त्रता माथिको ठाडो चुनौति हो’ उनले भने ।
सुदूरपश्चिम प्रदेशमा भने यो बर्ष प्रेस स्वतन्त्रता हनन्का घटना भएका छैनन् । यो अर्थमा अन्य सबै प्रदेशलाई सुदूरपश्चिम प्रदेशले राम्रो पाठ पनि सिकाएको छ । प्रदेशहरुको समग्र अवस्था हेर्ने हो भने १ नम्बर प्रदेश र मधेस प्रदेशमा ६–६ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएको नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले बताए । त्यस्तै कर्णाली प्रदेशमा ५ र लुम्बिनी तथा गण्डकीमा २–२ वटा घटना भएको नेपाल पत्रकार महासंघसँग तथ्याँक छ ।
प्रेस स्वतन्त्रता हनन्का घटना अघिल्लो वर्षको ४५ वटामात्र भएका थिए । यो कुरा नेपाल पत्रकार महासंघको अभिलेखमा पनि उल्लेख गरिएको छ । तर यो बर्ष भने अझ घटना बढि हुनु थप चिन्ता थपिएको महासचिव बन्जाराको भनाइ छ ।
पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुघ्न नेपालले दिवसका दिन मात्र नभई अरु समयमा पनि पत्रकारहरुले यस्तो कुरामा ध्यान दिई घटनाहरु न्यूनिकरण गर्न पर्ने सुझाव दिए । नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य तुलसी भण्डारीले प्रेस स्वतन्त्रता हनन्का घटनाको पछिल्लो अवस्थाले संघीय लोकतान्त्रिक शासन व्यवस्थामा पनि पत्रकारहरु सुरक्षित हुन नसक्नु चिन्ताको बिषय भएको बताए । पत्रकार महासंघकै तथ्याँकमा दर्ज भए अनुसार यो वर्ष ३ जना पत्रकार गिरफ्तारीमा पर्नु र आक्रमण, दुव्र्यवहार र धम्कीबाट २९ जना पत्रकार पीडित हुनु राम्रो संकेत नभएको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले बताए ।
पेशागत असुरक्षाको मार ३१ जना पत्रकारले खेप्नु अर्को विडम्बना उदृत गर्दै उनले कानून बनाएर प्रेस स्वतन्त्रतालाई संकुचन गर्न खोज्ने काम ३ पटक सरकारहरुबाटै भएको बताए । जीयालाल साहले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता पनि अध्यक्ष तिवारीले गरेका थिए ।