जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने पद वडाध्यक्षमा राजनीतिक दलहरुले प्रौढ उम्मेदवारलाई प्राथमिकतामा राखेको देखिएको छ ।
निर्वाचन आयोगका अनुसार ६ हजार ७४३ वडाध्यक्षका लागि ३२ हजार ४८२ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ४३ जनाको एकल उम्मेदवारी परेपछि निर्वाचित हुने पक्का भएको छ । बाँकी ६ हजार ७०० वडाध्यक्षका लागि ३२ हजार ४३९ जना प्रतिस्पर्धामा छन् ।
प्रारम्भिक विवरण अनुसार, वडाध्यक्षका लागि प्रौढ उम्मेदवारको संख्या अत्यधिक छ । ४१ देखि ६० वर्षसम्मका उम्मेदवार १७ हजार ५३६ छन् । त्यसपछि युवा छन् । २१ देखि ४० वर्षका उम्मेदवार ११ हजार ७४७ छन् ।संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा नभएका कतिपय कामहरु राज्यको प्रतिनिधित्व गर्ने सबभन्दा सानो इकाइ वडा कार्यालय हो, जसको नेतृत्व वडाध्यक्षले गर्छन् । स्थानीय तह पुनर्संरचना गरेपछि त्यतिबेलाका गाविसहरु र नगरपालिकाका वडाहरु अहिलेको वडा कार्यालयमा परिवर्तन भएका छन् ।यस्तो महत्वपूर्ण पदमा राजनीतिक दलहरुले महिलालाई भने नगन्य मात्र उम्मेदवार बनाएका छन् । ३२ हजार ४८२ उम्मेदवारमध्ये ९४५ मात्र महिला छन् ।
दलहरुले वडाध्यक्ष पदमा सबैभन्दा कम अनुपातमा महिला उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।
प्रमुख र उपप्रमुखमध्ये कुनै एक पदमा महिला हुनुपर्ने बाध्यकारी छ । तर वडाध्यक्षमा त्यस्तो बाध्यकारी नभएका कारण दलहरुले पुरुष उम्मेदवारलाई प्राथमिकता दिएका छन् ।
कहाँ बढी छ उम्मेदवारी
वडाध्यक्ष पदमा सबभन्दा बढी उम्मेदवारी जनकपुरधाम उपमहानगरपालिकामा परेको छ । २५ वडा रहेको त्यहाँ ३०४ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यसपछि काठमाडौं महानगरपालिकामा ३२ वडाध्यक्षका लागि २१० जनाको उम्मेदवारी छ । वीरगञ्ज महानगरपालिकामा ३२ वडाध्यक्षका लागि २०४ जनाको उम्मेदवारी छ ।
तर महिलाको सहभागिता पनि कम छ । निर्वाचन आयोगका अनुसार ४२४ वटा स्थानीय तहमा मात्रै वडाध्यक्षमा महिला उम्मेदवारी परेको छ । काठमाडौं महानगरमा २३ र धरान उपमहानगर १६ महिलाले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । जनकपुरधाम उपमहानगरमा १६ र पोखरा महानगरमा ११ जना महिलाले वडाध्यक्षमा उम्मेदवारी दिएको पाइएको छ ।वडाध्यक्ष पदमा ४ हजार २८४ स्वतन्त्र उम्मेदवार छन् । सबभन्दा बढी जनकपुर उपमहानगरमा ११४ उम्मेदवारी परेको छ । त्यसपछि गढीमाईमा ४७ र काठमाडौं महानगरका विभिन्न वडामा ४२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । करिव डेढ सय स्थानीय तहमा भने वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार छैनन् ।
४३ वटा वडामा भने वडाध्यक्ष निर्विरोध भएका छन् । कतिपयमा तालमेलका आधारमा त कतिपय वडामा गाँउस्तरीय सहमतिमा समेत वडाध्यक्षहरु चुनिएका छन् । ठूला स्थानीय तहमा वडाध्यक्षको प्रतिस्पर्धा पनि तीव्र देखिन्छ ।
केके हुन्छ वडाध्यक्षको जिम्मेवारी
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा वडाध्यक्षहरुलाई ७ प्रकारको जिम्मेवारी तोकिएको छ ।
वडा समितिको अध्यक्ष भई काम गर्नेदेखि वडाको विकास निर्माण, सिफारिस तथा प्रमाणिकरण अनि अरु अतिरिक्त कामहरु वडाध्यक्षको हो । उनीहरुले वडा सदस्यहरुको समन्वयमा टोल र समुदायको विकास निर्माणको कामका साथै वडाको शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रगत विकासका काम समेत गरिरहेका हुन्छन् ।
सौजन्य ः अनलाईन खबर