राजनीतिक संवादको अभियानका रुपमा थालिएको अलिकति उज्यालो’ अभियान वीरगन्जमा पनि हुने भएको छ । राजनीतिक दलका नेता र कार्यकर्ताका लागि चुनावी चहलपहल उच्च भइरहँदा आम मानिसमा त्यति उत्साह र आशा नदेखिएको वेला कला, साहित्यबाट थोरै उत्साह थप्ने अभियान हुने भएको हो ।
राजनीति आम मानिसको गहिरो सरोकार रहने कुरा भए पनि त्यो ओझेल पर्दै गर्दा अभियान सुरु गरिएको आयोजकले जनाएको छ । अभियान अन्तरगत नाटक, कविता, चित्रकारी र हाँस्य प्रस्तुति मार्फत मानिसहरुमा निराशाका बीचमा आशाको खोजी गर्ने राजनीतिक चेतनाका कुराहरु राख्न खोजिएको आयोजक संस्था मध्येका ‘हाम्रो अभियान, पर्साका संयोजक शिवनाथ यादवले बताए ।
नेपालका बिभिन्न सहरहरुमा आयोजन गर्ने क्रममा ‘अलिकति उज्यालो’ अभियान शुक्रबार वीरगन्जमा हुने उनको भनाइ छ । बिहीवार पर्साको पोखरिया बजारमा र बाराको सदरमुकाम कलैयामा नाटकहरु प्रदर्शन हुने र अर्को दिन शुक्रवार वीरगन्जमा एकदिने बिभिन्न कार्यक्रमहरु ग्रिने आयोजक मध्येका यादवले बताए ।
काठमाडौंको प्रतिष्ठित नाटक समूह ‘शिल्पी थिएटर’ र युवाहरुको सहभागितामा सामाजिक गतिविधिमा सक्रिय संस्था तन्नेरी चाँसो पनि यसको आयोजक रहेको जनाइएको छ । वीरगन्जको होटोल कुमु प्यालेसको प्राङ्गणमा शुक्रवार आयोजना हुने विभिन्न कार्यक्रममा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनी हुने छ ।
साँझ ४ बजेदेखि आधा घण्टा कविता वाचन पनि गरिने आयोजकले जनाएको छ । त्यसको आधाघण्टापछि हाँस्य प्रस्तुति र अन्त्यमा साँझ ६ बजेदेखि ७ बजेसम्म शिल्पी थिएटरको नाट्य प्रस्तुति हुने आयोजकको भनाइ छ । स्थानीय रुपमा भोजपुरी प्रतिष्ठान वीरगन्ज, संस्कृति र मध्यनेपाल मिडिया प्रालिले कार्यक्रमको संयोजन गर्नेछन् ।
वीरगन्जमा आफुहरुले यसअघि पनि नाटक प्रदर्शन गर्दा यहाँका मानिसहरुमा उत्साह र कलाप्रतिको प्रेम देख्न पाइएको शिल्पी थिएटरका संचालक कलाकार घिमिरे युवराजले बताए ।
यसपाली आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नाटक लिएर फरक माहोलबीच आउन पाउँदा निकै उत्साहित रहेको उनको भनाइ छ । युवराजको भनाईमा कला र सम्वादको माध्यमबाट लोकतन्त्रलाई बलियो बनाउने प्रयत्न ‘अलिकति उज्यालो’ अभियान हो । ‘हामी संवादमा विश्वास गछौँ, प्रश्न र उत्सुकता भएनन् भने संवादअघि बढ्दैन उनी भन्छन् ।
लोकतन्त्रमा हरेक मानिसका लागि ‘प्रश्न गर्ने ठाँउ’ सिर्जना गर्नु अपरिहार्य छ । लाग्छ कला र सिर्जना यस्तो ‘ठाँउ’ हो जहाँ दर्शक वा सहभागीहरुको मनमा प्रश्नहरु जन्मन्छन्, उत्सुकताहरु आउन थाल्छ,’ ‘अलिकति उज्यालो’ । नाटक, चित्रकला र अन्र्तक्रियात्मक छलफलबाट हामीले बाँच्न चाहेको समाजको बारेमा कुरा गछौँ’ घिमिरे युवराजले भने ।
चारवटा शहर विराटनगर, वीरगन्ज, भरतपुर र बुटवलमा अभियान गर्न लागेको आयोजकले जनाए । ‘पूरा भएका वाचा, पूरा नगरिएका बाचा वा झुट बोल्नेहरुका बारेमा पनि कुरा गछौँ । खासमा हामी उज्यालोको खोजीमा छौँ,’ बिराटनगरमा कार्यक्रम सम्पन्न गरी वीरगन्ज आउनुअघि युवराजले भने ‘आउनुस, नाटक हेरौं, चित्रकला हेरौं, कविता सुनौं र हामीबीचका धेरै प्रश्नहरुबीच छलफल गरौं ।