मुलुकका ६ महानगरमध्ये काठमाण्डौपछि चर्चामा रहने अर्को महानगर वीरगन्ज महानगरपालिका हो । आर्थिक रुपमा पनि वीरगन्ज मुलुक बचाउने महानगरका रुपमा दर्ज भइसकेको छ । मुलुकको प्रमुख प्रवेशद्वार भएको कारण पनि यसको महत्व अन्य महानगरकोभन्दा निकै भिन्न छ । आगामी बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा यो पालिकाको नेतृत्वका लागि उमेद्वारी दिएका व्यक्तिको चर्चा पनि अलि बढि हुने कारण पनि यहि हो । प्रतिष्पर्धाको उच्च रस्सा–कस्सीमा रहेका यहाँका ३० प्रमुखका उमेद्वारहरु मध्ये नेकपा एमालेका विजय कुमार सरावगी, जनता समाजवादी पार्टी ( जसपा ) का राजेशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का गिरिश गिरीको नाम अरु उमेद्वारसँगै अलि अगाडी जोडिने गरेको छ । चिया र पान पसल तथा सेलुन पसलमा धेरैले चर्चा गर्ने नाम मध्येका ती उमेद्वार आफ्नो उमेद्वारी र भावी योजना बारे के भन्छन् ?
विजय कुमार सरावगी ( एमाले )
२०७४ सालको स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमबाट एक पटक निर्वाचित नेता पनि हुन् विजयकुमार सरावगी । कोरोना महमारीका बाबजुद वीरगन्जको विकासको जग बसाएको उनको दाबी छ । अझै एक कार्यकाल वीरगन्जको सेवा गर्न आफू जनताको माझमा जान लागेको उनी तर्क गर्छन् ।
१५÷२० वर्षअघिको वीरगन्ज र अहिलेको वीरगन्जमा तुलनात्मक फरक भए पनि अझै धेरै जनताका काम गर्न बाँकी छ । ६२ ओटा ऐन, नियमावली, कार्यविधि र निर्देशिका तयार गरी महानगरको कानूनी पूर्वाधार निर्माणसँगै स्थानीय सरकार चलाएर जनताका विकास निर्माण र सेवा प्रवाहलाई गति दिन पहिले नेतृत्व सम्हाल्दा ३६ करोड रुपैयाँ ऋणमा डुबेको महानगरलाई ऋणमुक्त गरिएको छ । फोहोरमैला व्यवस्थापनको काममा ठूलो उपलब्धि हासिल भएको छ । खुल्ला सिमानाको कराण कोरोना संक्रमणको उच्च जोखिम बीच यसको नियन्त्रणमा अनुकरणीय काम गर्न सफल भए पनि वीरगन्जलाई आउँदा दिनमा समृद्धिको शहरका रुपमा अघि बढाउन केही काम बाँकी रहेकोले त्यो राम्रो चालकका रुपमा पुनः अग्रसर भएको छु । महानगर बनाउन आफ्नो व्यापार छोडेर आएको मान्छेलाई आउने पुस्ताको महानगर बनाउन सफा, सुन्दर र हरेक दृष्टिले सुरक्षित वीरगन्ज बनाउन बाँकी छ । मैले स्थानीय सरकार सञ्चालनलाई राम्ररी बुझ्ने र भौतिक, आर्थिक, सामाजिक विकासका योजनाको अनुभव गरेको आधारमा पनि यो अनुभवलाई वीरगन्जको दिगो विकास र समृद्धिमा रुपान्तरण गर्न नगरवासीको साथ खोजेको हो ।
विकास र समृद्धिको योजना र त्यसको कार्यान्वयनमा आगामी ५ वर्षमा गर्ने कामलाई प्राथमिकीकरण गरी शिक्षा क्षेत्र सुधारलाई निरन्तरता दिँदै नयाँ योजनाहरू ल्याउने योजना छ । वीरगञ्जलाई पूर्ण साक्षर बनाउने, कृषि र सहकारीका माध्यमबाट घर–घरमा रोजगारीको सृजना गरेर जनशक्तिलाई रोजगारीमा जोडिने लक्ष्य लिएको छु । स्वास्थ मानव पूँजी निर्माणको मुख्य आधार भएकाले स्वास्थ्य र सरसफाइलाई थप प्रभावकारी बनाउने, पूर्वाधार विकासका लागि आवश्यक स्रोतको व्यवस्थापन, पर्यटन प्रवद्र्धन, शहर सौन्दर्यीकरण र वातावरण संरक्षण, भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, करदातामैत्री कर नीति, विकासमा समुदाय र निजीक्षेत्रको साझेदारी जस्ता योजना कार्यान्वयन गर्ने छु । वीरगन्जमा व्यापार प्रदर्शनीस्थल, मण्डी, पर्यटन, सिम्रौनगढ–निजगढ–जगरनाथपुर–ठोरीसम्मको क्षेत्र समेटेर विभिन्न योजना ल्याउने र सबैको विकास हुने गरी काम बढाउने योजना पार्टीसँग सहकार्य गरी नीतिमा नै समेटेको छ । वीरगञ्जको आईसीपी र ड्राईपोर्टबीचको जग्गालाई जोडेर नयाँ वीरगञ्ज बनाउनु छ । त्यहाँ व्यवस्थित पूर्वाधार लैजानु पर्दछ । यातायात व्यवस्थापनका लागि ट्रान्सपोर्ट नगरको काम हुन सकेको छैन, जो अति आवश्यक छ । आईसीपी ड्राईर्पोट बिचको ६२ विगाह जग्गामा यो बनाउनु पर्दछ । बितेको कार्यकालमा तयार पारेको वीरगञ्जको विकासको खाकालाई नयाँ योजनासहित अगाडि बढाउने र यो शहरलाई सुन्दर र समृद्ध बनाउने मेरो योजनामा वीरगन्जवासीले एकपटक साथ दिने विश्वास लिएको छु ।
राजेशमान सिंह (जसपा)
सत्ता गठबन्धनबाट वीरगञ्ज महानगरको मेयरका उम्मेदवार जनता समाजवादी पाटीका नेता राजेशमान सिहले पनि एमालेका सरावगीले जस्तै संकल्प पत्र सार्वजनिक गरेका छन् । त्यो सँगै उनी आफै पनि वीरगञ्जको परिवर्तनका लागि, सुलभ दरको सरकारी स्वास्थ्य सेवा, शिक्षामा सबैको पहुँच, प्राविधिक शिक्षामा जोड, युवाहरुको रोजगारी, महिला सशसक्तिकरण, भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न, भौतिक पूर्वाधार निर्माण, किसानलाई सहज रुपमा मलखाद, बिउको व्यवस्थापन, जनतालाई भ्रष्टाचार रहित सुलभ दरको सेवा दिन उम्मेदवारी दिएको दावी गर्छन् ।
जनताको सुख र दुःखमा एकसाथ उभिएको र महामारीमा जनताको काँधमा काँध मिलाएर हिँडेको अनुभवले पनि अझ कार्यकारी पदमा नै पुगी जनताको सेवा गर्ने लक्ष्य रहेको उनको तर्क छ । सबैभन्दा पहिला प्रशासनिक खर्चमा कटौती गरेर बिकास बजेटमा बृद्धि गरी असारे विकासलाई नियन्त्रण गर्ने लक्ष्य छ । करको दर घटाएर दायरा बढाउने, महानगरभित्रका सार्वजनिक तथा एैलानी जग्गामा व्यावसायीक तरकारी खेती तथा माछा पालन गर्ने, महानगरलाई राजस्व दिन सक्ने सार्वजनिक संस्थानहरुको उपयोगमा बृद्धि गरी राजस्व थप गर्ने, औद्योगिक व्यावसायिक वातावरण निर्माण गरेर पालिकालाई समृद्ध बनाउने ध्येय छ नेता सिंहले भने ।
मेरो बोली र काम गर्ने शैलीले सही र गलत छुट्याएर महानगरवासीले न्याय गर्छन् भन्ने मेरो अपेक्षा हो ।
गिरीश गिरी (राप्रपा)
पत्रकारीता र लेखनले मात्र परिवर्तन गर्न नसकिने रहेछ भन्ने निष्कर्ष सहित ‘भर्खरै राजनीतिमा प्रवेश गरेका नेता गिरी महाभारतमा अर्जुनले चराको एउटा आँखा मात्रै देखेको जस्तो मेरो वीरगञ्ज शहरलाई कसरी राम्रो गर्न सकिन्छ ? भन्ने हुटहुटीले उमेद्वारी दिएको बताउँछन् । माओवादीले हत्या गरेका वीरगन्जका पूर्व मेयर स्व.गोपाल गिरीका छोरा गिरीश आफू राजनीतिमा नयाँ खेलाडी भए पनि बुबाको सपना र अधुरा काम ईमान्दार साथ पूरा गर्न राजनीतिमा आएको पनि तर्क गर्छन् । स्थानीय तहको निर्वाचनमा दलका नेताहरुलाईभन्दा पनि जनताको काम गर्ने विकल्पका रुपमा जनताले विश्वास गर्ने उनको अपेक्षा छ ।
मन नपरेका उमेद्वारलाई ‘नो भोट’ भन्न नपाउने अवस्थामा नयाँ विकल्पका रुपमा वीरगन्जवासीलाई आफूले न्याय गरेको गिरीको तर्क छ । फेरि सधैं यो किन भएन ? भनी प्रश्न सोध्ने मानिस, बिश्वका ३ दर्जन बढि देशमा घुमेर त्यहाँको विकास निर्माण हेरेको आधारमा पनि वीरगन्जको मुहार फेर्न आफैं त्यो कार्यकारी पदमा पुग्ने संकल्प र जन्मभूमिको सेवा गर्न ईच्छा जागेर प्रश्न गर्ने ठाउँमा होइन उत्तर दिने ठाउँमा आफैं पुग्नु पर्छ भनी अगाडी सरेको तर्क गर्छन् । शिक्षा क्षेत्रमा जन्मने साथ अहिले बच्चालाई तिमी कुन वर्गको हो ? भनी विभेद गर्ने शैलीलाई चिर्दै शिक्षा क्षेत्रमा गरिब र धनी बीचको खाडल हुन नदिई सबै बच्चाहरुलाई समान शिक्षा लिन अवसर प्रदान गर्दै सरकारी शैक्षिक संस्थामा नै निशुल्क शिक्षा लिन पाउने गौरवशाली नीतिलाई अगाडी बढाउँछु ।
वीरगन्ज महानगरको यो पटकको प्रतिष्पर्धालाई स्थानीय राजनीति विश्लेषकहरुले चाही ‘धनको बल’ र ‘बाहु बल’ प्रदर्शन गरेर राजनीतिक दलहरुले असल र योग्य मान्छेलाई राजनीतिमा पाखा लगाउने अवस्थालाई किनारा लगाउन गिरिश गिरी जस्ता व्यक्तिको अग्रसरता सकारात्मक रहेको चुनावी चर्चामा जोड दिन्छन् ।