वीरगंज । पर्साको पर्सागढी नगरपालिकामा गाडीको इन्धन र मर्मत सम्भार खर्चमै बार्षिक ६५ लाख बजेट खर्च भएको पाईएको छ । पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव र उपमेयर अर्चना चौधरी लगायत कर्मचारीहरुले इन्धन र गाडी मर्मत खर्चमा ६५ लाख रुपैया खर्च गर्ने गरेको पाईएको हो ।
पर्सागढीले आर्थिक वर्ष २०७७/७८ मा इन्धन (पदाधिकारी) शिर्षकमा १५ लाख बजेट छुट्याएकोमा साढे १४ लाख खर्च गरेको छ भने इन्धन (कार्यलय प्रयोजन) को शिर्षक दिएर छुट्याएको २५ लाख १५ हजार बजेटमा २५ लाख रुपैया खर्च गरेको नगरपालिकाको तथ्याङकले देखाएको छ । यस्तै, नगरपालिकाले सोही आर्थिक वर्षमा सवारी साधन मर्मत खर्चको शिर्षक दिएर २५ लाख रुपैया छुटयाएकोमा साढे २२ लाख खर्च गरेको पाईएको छ ।
मेयर, उपमेयर र प्रमखु प्रशासकीय अधिकृतले मासिक रुपमा १२५ लिटरसम्म मात्रै इन्धन प्रयोग गर्न पाउने कानुनी व्यवस्था भएपनि निवर्तमान मेयर यादव, उपमेयर चौधरी लगायतका जनप्रतिनीधि र कर्मचारीले गरेको इन्धन खर्चको नाममा भ्रष्टाचार गरेको नगरपालिकाको स्रोतले जनाएको छ ।
नगरपालिकाको जेसिबी बाटोघाटो मर्मत सम्भार लगायत सानो तिनो काममा चल्ने गर्दछ । एम्बुलेन्स पनि भाडा लिएर नै जनतालाई सुविधा दिने गरेको र वडाध्यक्षहरुलाई इन्धन खर्चको बजेटबाट इन्धन नदिई पदाधिकारी सेवा सुविधाबाट वडाध्यक्ष र अन्य जनप्रतिनीधिलाई इन्धन खर्च व्यवहोरिने गरेको स्रोत बताउँछन् । तर यता, नगरपालिकाका निवर्तमान मेयर, उपमेयर लगायतका जनप्रतिनीधी तथा कर्मचारीहरुको गाडीको ईन्धनमा मात्रै बार्षिक ४० लाख खर्च गरिएको पाईएको छ ।
नगरपालिकाको क्षेत्रफल पनि खासै बढि नभएको र जनप्रतिनीधि तथा कर्मचारीहरुको लागि गाडी पनि नयाँ खरिद गरिएको हुँदा गाडीहरु बिग्रिने खासै अवस्था नरहेपनि लाखौं रकम दुरुपयोग भएको स्थानीयको आरोप छ । नगरपालिका कार्यालयका अनुसार गाडी नयाँ खरिद गरिएकाले उति विग्रने अवस्था छैन् तर पद र अधिकारको दुरुपयोग गर्दै इन्धन खर्च र मर्मत सम्भारको नाममा बढिको खर्च देखाएर लाखौं रुपैयाँ भ्रष्टाचार गरेको नगरपालिकाको कार्यालय स्रोतले दाबी गरेका छन् ।
यसरी नगरपालिकाले बार्षिक इन्धन र गाडी मर्मत सम्भारको नाममा बार्षिक खर्च गरेको ६५ लाख प्रतिवर्षको दरले तुलना गर्दा पछिल्लो ५ वर्षमा साढे ३ करोड २५ लाख रुपैया इन्धन र गाडी मर्मत सम्भारमै खर्चेको अनुमान लगाउन सकिएला । जबकी निवर्तमान मेयर यादवले चढ्ने स्कार्पियोको अनुमानित मुल्य करिब ५० लाख, उपमेयरले चढ्ने सुमो गोल्ड गाडीको मुल्य ४० लाख र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने सुजुकीको पिकअपको मुल्य ४४ लाख रहेको जनाइन्छ । यसरी तिनै जनाको गाडीको मुल्य एक करोड ५० लाखसम्म पुग्ने देखिन्छ । तर एक आर्थिक वर्षको खर्च देखिदाँ पछिल्लो पाँच वर्षमा गाडी खरिद गरिएको मुल्यभन्दा बढिको इन्धन र गाडीको मर्मत खर्च नै हुन सक्ने एक वर्षको ६५ लाखको इन्धन खर्चले अनुमान गर्न सकिन्छ ।
यस विषयमा निवर्तमान मेयर लोकनारायण यादव, निवर्तमान उपमेयर अर्चना चौधरीलाई पटक पटक फोन गर्दा पनि उनिहरु सम्पर्कमा आउन चाहेनन् ।