मिनाक्षी कर्माचार्य गुप्ता वीरगंजवासीमा प्रायः परिचित नाम हो । जिवन ज्योति विद्यालयकी प्रिन्सिपल समेत रहेकी उनी २०२७ सालमा कृष्णसागर कर्माचार्य र मुनादेवी कर्माचार्यका कोखबाट जन्मिएकी हुन् । दुई छोरी र एक छोरा सहित श्रीमान्सँगै बस्दै आएकी उनी तीनदशकदेखि शैक्षिक क्षेत्रमा सकृय छन् । शिक्षा क्षेत्रमा सकृय महिलाको छवि बनाएकी गुप्ता अहिले भने वीरगंज महानगरपालिका वडा न. ९ को वडा अध्यक्ष पदमा प्रतिस्पर्धी छन् । धेरै स्थानीय तहमा महिलाले अवसर नपाएको गुनासो आइरहेको समयमा एमालेले महानगरपालिकाकै बजार क्षेत्रको महत्वपूर्ण वडामा महिलालाई वडाध्यक्षमा नै अगाडी सारेको छ । यो अवस्थामा वडाको नेतृत्वका लागि प्रतिष्पर्धी मिनाक्षी गुप्तासंग निर्वाचनमा केन्द्रित रही मध्यनेपाल सन्देशले गरेको बिशेष कुराकानी :-
१) शिक्षण पेशामा आवद्ध तपाई एक्कासी राजनीतिमा आउनु कारण के हो ?
आफ्नो वडामा विकास गर्न आएको हो । समाजमा रहेका हरेक मानिसमा सकारात्मक परिवर्तन ल्याई समृद्ध समाजको निर्माण गर्नका लागि म राजनीतिमा आएको हो ।
२) तपाईलाई नै वीरगन्ज महानगरपालिका वडा नम्बर ९ का मतदाताले भोट किन दिने ?
आफ्नो वडाका महिलाहरुलाई समृद्ध बनाउन, महिलाहरुलाई शिक्षा तथा सीपमूलक तालिम दिई उनीहरुको क्षमता अभिवृद्धि गर्न, वीरगंज वडा न. ९ को समग्र विकास र समृद्धिमा अग्रणी भूमिका खेल्दै यहाँका नागरिकको गरिबी, विपन्न र पछौटेपनलाई हटाउँदै शिक्षाको अवसर प्रदान गर्न तथा वीरगन्जका सबै वडामध्ये वडा नम्बर ९ लाई नमूना वडा बनाउन संकल्प सहित आएकोले भोट मलाई दिनुहुन्छ भन्ने मेरो अनुरोध हो ।
३) अरु तपाईका एजेण्डाहरु के के छन् ?
वडाका बेरोजगार युवा तथा महिलाहरुका लागि रोजगारी दिने कार्यक्रम ल्याउने छु । अव्यवस्थित रहेका सडक, नालाहरुको निर्माण गर्ने छु । विपन्न वर्गका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा पु¥यउन आवश्यक व्यवस्थापन गर्छु, स्वास्थ्य, शिक्षा, खानेपानी तथा वडा विकासका लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्ने मेरो लक्ष्य छ ।
४) एमाले पार्टीमा तपाई क्रियाशिल हो ?
म शिक्षण पेशामा आबद्ध भई शैक्षिक क्षेत्रको माध्यामद्धारा समाज सेवा गरेको व्यक्ति हो । पार्टीमा खुलेर सुरुदेखि नलागे पनि राजनीति प्रति मेरो झुकाव नभएको भन्ने होइन । अझ एमालेको कार्य गर्ने ठोस शैली र नेतृत्वकर्ताको क्षमताले मलाई यो पार्टीमा नजिक बनाएको हो । अनि स्थानीयस्तरमा म बाट पार्टीले बोकेको नीति र कार्यशैलीमा म योग्य हुनसक्छु भनी निश्चय गरेर मलाई टिकट दिएको हुन सक्छ । मलाई दिएको जिम्मेवारीमा पार्टीभित्र रहेर निरन्तर काम गरेका व्यक्तिहरुको पनि प्रतिष्ठा बढ्ने नै काम गर्ने मैले पनि संकल्प गरेको छु ।
५) पुरुष उमेद्वारहरुसंग प्रतिस्पर्धा गरिरहँदा कसरी क–कसको सहयोग भए सहज हुने ठान्नु भएको छ ?
वडा अध्यक्ष पदमा विजय हुन सबै वडाका मतदाता दाजुभाइ र महिला दिदी बहिनीहरुको साथ चाहिन्छ । वडाबासीको अमूल्य मत विना महिला पनि त अगाडी बढ्न सकिदैन नि । त्यसैले मेरो सफलतासँगै वडावासीको सफलताको पहिलो खुट्किलोमा सबैको साथ अपरिहार्य रहन्छ । यसो भए भएमात्र सम्पूर्ण वडाबासीको विकास र समुन्नत समाजको आधार पनि तय हुन सक्छ ।
६) अन्त्यमा तपाई आम जनतालाई के भन्नुहुन्छ ?
आफ्नो वडाको विकास गर्न र समृद्ध समाजको परिकल्पना साकार पार्न एक पटक महिलाको नेतृत्वलाई पनि अवसर दिनुहवस् भन्न चाहन्छु । मेरो नेतृत्वमा वडा आए समग्र महानगरकै गरिमा माथि उठाउन पनि पहल गर्छु । त्यसैले आफ्नो अमूल्य मत दिई विजयी बनाउनु होस् । म पनि तपाईहरुको विश्वास र सपनालाई साकार पार्न प्रतिवद्ध रहन्छु ।