मुलुक यतिवेला दोस्रो पटक हुन गइरहेको स्थानीय तहको निर्वाचनले निर्वाचनमय भएको छ । यही बैशाख ३० गते हुन गइरहेको दोस्रो पटकको स्थानीय तहको निर्वाचनका लागि मतपत्र समेत जिल्ला–जिल्ला पठाउने काम सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाइसकेको छ । गएको बैशाख ११ र १२ गते उमेद्वारको मनोनयन पत्र दर्ता भएपछि भने निर्वाचन हुँदैन कि भनी शंका गर्नेहरु ढुक्क भएका छन् । निर्वाचनमा होमिएका उमेद्वारहरु भने अहिले आक्रामक प्रचार शैलीमा केन्द्रित छन् । उनीहरुको प्रचार शैलीले आचार संहिताको भने ठाडो धज्जी पनि उडाइरहेको छ । खुल्ला प्रचारका लागि दलको दल–दलमा फसेका र स्वतन्त्र उमेद्वारहरु भने उमेद्वारी दर्तासँगै मतदाता रिझाउन मतदाताको घर, आँगनमा बिहान बेलुका नभनी पुगिरहेका छन् ।
गएको निर्वाचनमा विजयी भएर पनि मतदाता र सर्वसाधारणको घर आँगन नपुगेका नेता कार्यकर्ता समेत अहिले हस्याङ्ग फस्याङ्ग गर्दै मतदाताको शरणमा पुगिरहेका छन् । कति पय ठाउँका उमेद्वारले त पैसा नै खुट्टामा राखेर समेत मतदाता ढोगेको पनि उदाहरण बाहिर आइरहेको छ । मतदाता सामु ‘त्वम् शरणम्’ हुने र प्रचार गर्ने शैली विभिन्न भएजस्तै आफू निर्वाचित भएपछि यो वडा, यो ठाउँ र यो पालिकालाई समृद्ध बनाउँछु भनी प्रतिवद्धता गर्ने पनि उनीहरुको प्रचार शैलीभन्दा एक कदम अगाडी छन् । अहिले उमेद्वारहरुले आम नागरिक सामु जनाएका प्रतिबद्धता मध्ये २५ प्रतिशत मात्र पनि काम पूरा हुने हो भने नेपालको विकास र समृद्धिको पहुँच विश्वका धेरै मुलुकको दाँजोमा निकै माथि पुग्ने थियो ।
कागजी प्रतिवद्धतामा भ्रष्टाचार रहित पालिका, सुशासनले सुसज्जित पालिका र सर्वसाधारणका काम विना अर्घेल्याई फटाफट गर्ने, पालिकास्तरीय सडक सञ्जाल बनाउने, शुद्ध खानेपानीको व्यवस्था गर्ने, चौविसै घण्टा नकट्ने विजुली बत्ती, सरसफाइमा अब्बल, बृद्धबृद्धालाई सामाजिक सुरक्षा भत्ता घर–घरमा पु¥याउने, उनीहरुलाई स्वास्थ्य सेवा समेत घरैमा दिने र कतै त स्मार्टसिटी शहर गाउँ बनाएरै छोड्ने जस्ता प्रतिबद्धता छताछुल्ल छन् । बोलीमा दल र तिनका नेता कार्यकर्ताले जनता झुक्याउने हर्कत खुवै गरेका छन् ।
यो सुन्दा लाग्छ अब हाम्रो गाउँ शहर कहिले पछि फर्केर हेर्न नपर्ने समुन्नत भइसक्यो जस्तो लाग्छ । पालिकाका जनप्रतिनीधि बन्न ईच्छुकले गर्न मिल्ने नमिल्ने कामका दायराभन्दा निकै पर प्रतिबद्धता जनाउन भ्याइसकेका छन् । अनि निर्वाचित भएर यिनीहरु मध्येबाटै जानेहरुले आफूले नै पहिले गरेको प्रतिबद्धता पूरा गर्न सक्दैनन् ।
अहिले प्रतिबद्धता जनाउनेलाई आफू कुन पदमा उठेको हुँ ? मेरो कामको दायरा कति छ ? भन्ने हेक्का त छँदै छैन । निर्वाचनका बेलामा सबै काम गर्ने जनाउने उमेद्वारहरु मध्येबाटै केही विजयी भएर जनताका जनप्रतिनीधि बन्छन् । अनि बल्ल थाहा हुन्छ । उनीहरुको कामको दायरा, बजेटको अवस्था अनि निर्वाचन ताका गरिएको अथाह खर्चको हेक्का । निर्वाचन जित्न जति पनि खर्च गर्न उत्साहित हुने मध्येबाटै निर्वाचित हुने भएपछि सर्वप्रथम जनप्रतिनीधिहरुबाट आफ्नै खर्चको जोहो गर्न जुट्ने परिपार्टी नयाँ होइन ।
त्यसैले अहिलेका प्रतिबद्धता १० प्रतिशत पनि पूरा गर्न उनीहरुलाई हम्मेहम्मे पर्छ । यो कुराले दलहरु पनि जनताको नजरमा दोचारे मात्र ठहरिन्छन् ।
निर्वाचनका बेला गर्ने खर्च कटौति र अनावश्यक प्रतिवद्धताको सुधार नगरे मुलुक फेरि पनि निर्वाचनका मुखमा प्रतिबद्धतामा मात्र समृद्ध हुन्छ । व्यवहारमा उस्ताको उस्तै ।