निरन्तर राजनीतिमा सकृय वीरगन्जकी नेतृ रम्भा मिश्रा यो महानगरको लागि नौलो नाम होइन । उनी मधेश आन्दोलनको समयदेखि यहाँ सकृय छन् । तथापि गठबन्धनको राजनीतिक चक्करमा उनी जस्ता महिला नेतृहरु संविधानले निर्दिष्ट गरेको अधिकारबाट पनि बञ्चित भएका छन् । स्थानीय तहमा समेत एक्ला–एक्लै निर्वाचनमा जान आट नभएका कारण राजनीतिक दलहरुले गठबन्धन गर्दा महिला नेतृहरु उपेक्षामा परेको उनले बताईन । उनै वीरगंज महानगरपालिका उपमेयर पदको स्वतन्त्र उम्मेदवार रम्भा मिश्रासँग गरिएको बिशेष कुराकानी ः
१. महानगरमा अहिले कुनै पनि दलले आफ्नो पार्टीको महिलालाई पत्याएनन् किन ?
म नौ दिन काठमाण्डौमा थिए । मलाई टिकट पाउने आशामा थिए । तर दशौं दिनमा यहाँका केही जिम्मेवार व्यक्तिहरु गएर टिकट लिएर आए । पुरुष प्रधान समाज त हो । तर राजनीतिमा पनि यतिको चलखेल होला ? महिला प्रति हेर्ने नजर नै फरक होला ? काम गर्ने महिलाको लागि पनि यस्तो होला ? भन्ने सोचेको थिएन । तर सक्षम महिलाले पनि यति हेला सहनु पर्ने भएपछि अब अहिले महिलाहरु पुरानै अवस्थामा रहेको महशुस भइरहेको छ । महिला पुरुष दुर्गा माताको विचारधारालाई उल्लघंन गरेर एकलौटी रुपमा पितृसतात्मक सोचलाई यहाँ लागु गरेका छन् । त्यसलाई परास्त गर्नको लागि स्वतन्त्रमा उपप्रमुखको उम्मेदवारी दिएको छु । मैले बनाएको संगठन, व्यवहार र ३२ वटै वार्डमा काम गरेको अनुभव र त्यहाँका नागरिकको भावनालाई मर्न नदिन पनि मेरो उमेद्वारी हो ।
२. ठूलो चुनौतिका बीच प्रतिस्पर्धामा उभिनु भएको छ । जितको अपेक्षा कत्तिको छ ?
मैले काम गरेको छु । मलाई आफ्नो काम माथि विश्वास छ । मलाई मेरा वीरगंजका जनता माथि विश्वास छ । उहाँहरुले पनि हेरिरहनु भएको छ । विगत ५ वर्षदेखि यस पार्टीमा मेहनतका साथ र निष्ठाका साथ काम गरेको छु । वीरगंज महानगरलाई मैले माया गरेको छु । पितृसतात्मक सोचको कुरा गर्दा केही मान्छेको मात्र सोच हो । मलाई लाग्छ महिला पुरुष यूवा सबैले मेरो लागि साथ दिनेछन् भन्ने अपेक्षा छ । चुनाव भनेको प्रतिस्पर्धा नै हो । यसलाई चुनाव लड्ने भनिन्छ । तर यो लडाइ जुन पुरुषको सोच महिला माथि दमन गर्ने, महिलामाथि एकाधिकार गर्ने छ । त्यस्तो सोचको विरुद्धमा पनि मेरो उमेद्वारी हो । कुनै न कुनै महिलाले अगाडी सर्नै पर्ने हुन्थ्यो । म अगाडी सरेको हो ।
३. पार्टीको समर्थन विना पनि चुनाव जित्न सक्ने अवस्था छ त ?
म बागी उम्मेदवार त हैन । म चाहि स्वतन्त्रमा आफ्नो मनोनयन दर्ता गरेको छु । दलले मलाई यस कारण साथ दिन्छ कि दलको निमार्णमा वीरंगज महानगर भित्र मैले नै सबै संगठन बनाएको हो । महिला, यूवा विद्यार्थीको संगठन छ । उहाँ सबैले मलाई साथ दिनु हुनेछ भन्ने पूण विश्वास छ ।
४. वीरगंज महानगरपालिकामा नेतृत्वमा नपत्याउनुमा कतै महिलाहरु नै असक्षम त होइन ?
महिलाहरुमा त यति सक्षमता छ कि अहिलेको समयमा हरेक महिलाहरु शिक्षित छन् । मैले पनि स्नातकोत्तरसम्म अध्ययन गरेको छु । म मा पनि हरेक किसिमको सक्षमता छ । बिहानदेखि बेलुकासम्म खटेको छु । महिलामा कुनै किसिमको कमजोरी हुदैन । महिला आफैमा स्वाभिमानी, काम गर्ने भष्ट्राचार मुक्त हुन्छन् । त्यसैले पनि यसमा कहि शंका छैन । महिलाहरु आफैमा एउटा सक्षम सवल र यो देशका आधा आकाश ओगटेका नागरिक हुन् ।
५. महानगरमा किन पार्टीले नपत्याएको हो ?
वीरगंज महानगरमा कुनै पनि पार्टीले महिला उम्मेदवारलाई उपमेयरमा राखेको छैन । यो चाही हामी महिला प्रति अन्याय हो । हामी महिला हरेक आन्दोलन, हरेक क्षेत्रमा काम गर्नको लागी मात्र अगाडी आउने ? काम गर्नको लागि पुरुषहरुले हामीलाई प्रयोग गर्छन् । जब त्यसको अवसर कुनै आउँछ भने महिलालाई हेला गरेर महिलाको भूमिकालाई न्यून गरेर जुन तर वा छाली खानलाई पुरुष महोदय आउछन् । त्यसको लागि मेरो घोर विरोध छ ।
६. तपाईलाई जित्नको लागि क–कसको साथ र सहयोग चाहिन्छ ?
मलाई जित्नको लागि हरेक आमा, दिदी, बहिनी, बुवा, दाजुभाइ साथी सबैको साथ चाहिन्छ । तपाईहरु एकचोटी एकजुट हुनुस् । एउटा सोरमा हातेमालो गरेर आउनुस् । माथिका पुरुषहरुको दम्भ आफै ठिक ठाउँमा आउँछ ।
७. तपाईको मूल एजेन्डा के हो ?
महिला एकदम आधा जनसख्याको प्रतिनिधित्व गर्ने शक्ति हो । यो शक्तिलाई उपेक्षा गरेर पालिकाको समृद्धि हुन्न । केवल महिलालाई दुःख पीडा, कुरिती सहन गर्नु पर्ने बाध्यता मात्र हुनु हुन्न । त्यो मैले सबै बोध गरेको छ । किनभने म पनि एउटा महिला हँु । अर्को कुरा वीरगंजको विकासको लागि हामी सम्पूर्ण मधेशी वीरगंजमा मात्र केन्द्रित भएर आवाज उठायौं । वीरगंजको विकासको लागि हामी जस्तो पढेलेखेको महिला पनि आउनु पर्छ भन्ने हो ।
८. तपाईले उपमेयरमा जित्नु भयो भने पुरुष मेयरले काम गर्न दिन्छन् त ?
त्यो त महिलाको क्षमता माथि भर पर्छ । यदि म विजय भए भने पुरुषले मलाई पन्छाउन सक्दैनन् । किन भने म नेताको श्रीमती हैन । घरमा बसेर श्रीमानलाई चित्त बुझाएर नेता बनेको होइन । मेरो आफ्नो एउटा सोच छ । मेरो आफ्नो दृष्टिकोण छ । त्यहाँ चेक गर्न सक्छु । म सबैलाई भन्दिन । हामीलाई कसैले दबाउन सक्दैन । हाम्रो आखाँ छ, अग्रेजी, नेपाली बुझने कागज पढ्न सक्ने र लेखिएको कुरा बुझ्न सक्ने व्यक्तिलाई दवाएर काम गर्न गाह्रै पर्छ ।
९. तपाइलाई दवाव आयो र प्रलोभन दियो भने के उमेद्वारी रोकिन्छ ?
अब कुनै पनि प्रलोभनमा परेर मैले आफ्नो उम्मेदवारी चाही फिर्ता गर्दिन । किन भने मलाई थाहा छ । वीरगंज महानगरको लागि मेरो खाँचो छ । यहाँ कुनै पनि सोच नभएका मान्छेहरु आउँछन् भने वीरगंज महानगरको लागि त्यो दुर्भाग्य हुनेछ । मलाई लाग्छ मेरो आवश्यकता छ । मेरो खाँचो छ । म जसरी भए पनि जितेर आउँछु र वीरगंजको विकास गर्छु भन्ने मेरो अठोट हो ।