धेरै महिला र पुरुषले पितृसत्तात्मक सोचका आडमा कहीँ न कहीँ हजारौँ कोपिलाहरु फक्र्रन नपाउदै चुडिनु परेको छ । कोपिलाहरु मात्र होईन सबै उमेर समुहका महिलाहरुलाई पनि अप्रत्यक्ष रूपमा हिसा हुनुमा सघाएको छ ।
दिनरात आउने समाचारले दण्डहिनताले पराकाष्ठा नाघेको अनुभूति हुन्छ । अपराधीहरू शक्तिकेन्द्रको आडमा झनै हौसिएका हुन् कि झैँ लाग्छ । दण्ड सजाय दिने निकाय नै अपराधीका मनोबल हुन् झैँ लाग्न थालेको छ । अब यो कहिलेसम्म ? कति बालिका, किशोरी, वृद्धा र आममहिला यस्ता हिंसाको सिकार भइरहने ? हाम्रो सामाजिक संरचनामा बलात्कारको घटनादेखि एसिड आक्रमण सम्मका घटनामा महिला पीडित र पुरुष पीडकका रूपमा देखिन्छन् । यस्ता घटना प्रायः जाँडरक्सी, लागुऔषध दुव्र्यसन, व्यक्तिगत रिसीबी आदिका कारणबाट हुने गरेको प्रत्यक्ष रूपमा देखिए पनि कहीँ न कहीँ यो पितृसत्तात्मक मानसिकतासँग जोडिएर आउँछ । यस्ता अधिकांश घटनामा सिंगो पुरुष समुदाय नै लज्जित हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ । सबै पुरुष बलात्कारी वा अपराधी पनि हुँदैनन् र सबै महिला निर्दोष पनि हुँदैनन् ।
तर, वास्तवमा पुरुषसँग जोडिएर आउने यस्ता घटनामा पितृसत्तात्मक सोचका महिलाको व्यवहार र भनाइले मलजल गरेको पक्कै छ । अनेक बहानामा पर स्त्री गमन, बालिका तथा किशोरी बलात्कार गर्न सहज बनाइ दिएका छन् । चरित्रका सवालमा महिला र पुरुषलाई दुई थरीमा व्याख्या र परिभाषा समाजमा सिर्जना गरिएको छ । पुरुषले यति त गरिहाल्छ नि, के नै नौलो भो र ? सबैले गरेकै छन्, ऊ मात्र हो र ? भन्ने गरिन्छ । श्रीमतीले यौनसुख दिइन, अनि त परस्त्री गमन ग¥यो भनेर उसका हरेक जघन्य अपराधलाई सामान्य गल्तीका रूपमा लिइन्छ । हाम्रो समाजमा बलात्कारपछि अपराधी निर्धक्क हिँड्ने अवस्था यस्तै सोच र भनाइका उपज पनि हुन् । त्यसैले बलात्कारीका लागी कानुन अत्यन्त कडा बन्नुका साथै यसलाई जघन्य अपराधका रूपमा परिभाषित गरिनुपर्छ ।
दिनरात आउने समाचारले दण्डहिनताले पराकाष्ठा नाघेको अनुभूति हुन्छ । अपराधीहरू शक्तिकेन्द्रको आडमा झनै हौसिएको लाग्छ ।
अपराधी मनोवृत्तिका पुरुषले आफ्नो सिकार ६ वर्षकी बालिकादेखि ७० वर्षकी हजुरआमालाई बनाइरहेका छन् । किनकि उनीहरूले यस्ता कुकृत्यलाई दण्डनीय अपराधका रूपमा स्विकारेकै छैनन् । पत्र पत्रिकामा बालिका वा किशोरी बलात्कार पछि समाचारसँगै आउने दुई हातले अनुहार छोपिएका चित्रले पनि बलात्कारीलाई भन्दा पनि पीडितलाई थप पीडित बनाउने कार्य गरिरहेको देखिन्छ । यस्ता चित्रले बलात्कृत हुनु लाजको विषय हो भनी बिस्तारै स्थापित गर्दै लगेको छ । बलात्कारपछि पीडकले पाउने वा पाएको कानुनी तथा सामाजिक सजायको चर्चा कम र बलात्कारको व्याख्या बढी गरिन्छ । बलात्कारका घटनाको चर्चा गर्दा बलात्कृतको चरित्रमाथि बढी नै प्रश्न उठाइन्छ । केही समय अगाडिसम्म वैवाहिक बलात्कारलाई सामान्य मान्ने हाम्रो समाजमा अहिले कानुनले यसलाई दण्डनीय भनी परिभाषित गरेको छ, मनदेखि जरो गाडेर रहेको पितृसत्तात्मक सोचले यसलाई मानेको छैन, त्यसैले पनि प्रायः वैवाहिक बलात्कारका मुद्दामा सामाजिक सञ्जालमा व्यक्त भावनाले यौनचाहना पुरुषको मात्र अधिकार हो र महिला भोग्या मात्र हुन् भन्ने आशय व्यक्त भएको देखिन्छ ।
अपराधी प्रवृत्तिका पुरुषले पितृसत्ताका धरोहर महिला तथा पुुरुषलाई छहारी बनाई शक्तिकेन्द्र र प्रशासनको आडमा अपराध लुकाउन वा गर्न नसकून् भन्नेमा सजग हुनु आवश्यक छ ।अपराधी उम्किन नपाओस् भन्ने सजगता आवश्यक छ । अर्कातिर शक्तिकेन्द्रको आडमा यस्ता अपराधी उम्काउन र निर्दोषलाई बलीको बोको बनाउन अनेकौँ रणनिती रच्ने गरिएको देखिन्छ । यस्ता घटना, परिघटनाले समाजमा दण्डहीनता बढ्दो छ र यस्तो स्थितिमा अपराधी मनोवृत्ति चलमलाएको छ, हौसिएको छ । जब बालिका र किशोरी बलात्कृत हुन्छन यहाँ पीडित र उनको पूरै परिवारको चरित्रमाथि नै प्रश्न उठाइन्छ । हामी कता जाँदै छौँ ? अपराधीलाई बचाउन नाटक रचिन्छ । एउटी किशोरीलाई यौन सम्बन्धको प्रस्ताव स्वीकार नगर्दा एसिड आक्रमण गरिन्छ, मारिन्छ । अर्की किशोरीलाई प्रेम प्रस्ताव स्वीकार नगर्दा उस्तै तरिकाले एसिड आक्रमण गरिन्छ, पूरै अनुहार जलाइन्छ, अंगभंग बनाइन्छ । अपराधी कानुनको घेरामा पुग्दासमेत, तिनै किशोरी माथि थप आरोप लगाइन्छ, पीडा दिइन्छ र अपराधीलाई राहत दिइन्छ र जेलबाट निस्किएपछिका लागि सामाजिक प्रतिष्ठा कायम गर्ने वातावरण बनाउँदै लगिन्छ ।
कानुनको कठघरामा आइपुगेका अपराधीलाई पनि अनेक बहानामा ढाकछोप गरिन्छ । कैयौँ महिलाको न्यायका लागि अपराधीलाई कडा सजायको भागी बनाउने र अपराधीको मन काँप्ने गरी पूरा अवधिको सजाय काट्ने स्थिति सिर्जना भएमा आपराधिक मनोवृत्ति अवश्य कम हुन सक्छ ।