सुनिता डंगोल नेकपा एमालेबाट काठमाडौं महानगरको उपप्रमुखकी प्रत्यासी हुन् । डंगोल सुरुमा स्वतन्त्र रूपमा मेयरको प्रत्यासी बन्ने खबरका कारण चर्चामा रहिन् ।
तर डंगोल लाई अन्तिम समयमा एमालेले उपमेयरको उम्मेदवार बनायो । काठमाडौंका निवर्तमान मेयर विद्यासुन्दर शाक्यको टिममा विज्ञका रूपमा काम गरेकी थिइन् ।
सन् २०११ मा मिस नेवाको ताज पहिरिन सफल उनी प्रतिभाशाली युवा नेतृ हुन् । उनले रञ्जना लिपिलाई विश्वभर फैलाउने अभियन्ताको रूपमा पनि काम गरिन् । लिपि क्वीनले चिनिने डंगोलले संसारका एक दर्जनभन्दा बढी मुलुक भ्रमण गरिसकेकी छिन् । उनले सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी छिन् ।
यिनै क्षमता र विशेषताको बलमा ३० वर्षीया डंगोल भूगोल र भर्चुअल दुवैतर्फ उत्तिकै ‘भिजिबल’ छन् । नेपाल भाषा विज्ञको रूपमा टेलिभिजनमा समेत काम गरेकी उनी वाक्कलामा पनि पोख्त छिन् । आफ्नो प्रस्तुतिका कारण पनि उनी युवा पुस्ताबीच चर्चाको पात्र बनेकी छिन् ।
नेकपा एमालेले काठमाडौं उपत्यकामा स्वतन्त्र र युवा उम्मेदवारप्रति मतदाताको आकर्षणलाई ध्यान दिएर उनलाई उपमेयरको उम्मेदवार बनाएको अनुमान गर्न सकिन्छ । यो निर्णय गरिरहँदा पार्टीमा लामो समयदेखि क्रियाशील धेरै नेता पाखा लागेका छन् ।
डंगोल पार्टीको मतसँगै स्वतन्त्र मत समेत आफूलाई आउने दाबी गर्छिन् । ‘काठमाडौंका बासिन्दाको माया हामीले पाइरहेका छौं, पार्टीको शक्ति त छँदैछ’ डंगोल भन्छिन्, ‘न्युट्रल भोट हेर्ने हो भने पनि अहिले देशभर युवा पुस्तालाई मौका दिनुपर्छ भन्ने आवाज आइरहेको छ ।’
मतदाताको यही चाहनालाई सम्बोधन गर्दै पार्टीले आफूलाई अवसर दिएको बुझाइ उम्मेदवार डंगोलको छ । उनी भन्छिन्, ‘पार्टीको यही निर्णयका कारण जो कुनै पनि पार्टीमा हुनुहुन्न, उहाँहरू पनि एमालेप्रति आकर्षित हुनुभएको छ । सौजन्य अनलाईनखबर