पर्सामा १४ वटा पालिका मध्ये १३ वटा पालिकाका प्रमुखहरु लाजस्पध हार व्यहोरेका छन् । २०७४ सालको निर्वाचनमा भारी मतदिएर जिताएका जनप्रतिनिधिहरुले जनताको मन जित्ने काम नगरेका कारण यस निर्वाचनमा तिनिहरु फालिएका हुन् । पर्साको एक महानगरपालिका ३ वटा नगरपालिका र १० वटा पालिका मध्ये १३ वटा पालिकाका प्रमुखहरु पराजित भएका छन् ।
पोखरिया नगरपालिका
पर्सा जिल्लाको पोखरिया नगरपालिकामा गत स्थानीय तह निर्वाचन २०७४ मा तत्कालिन नेपाली जनता दल पार्टीबाट उम्मेदवारी दिएका दिपनारायण रौनियारले ३ हजार २६ मत ल्याई निर्वाचित भएका थिए । भने यस निर्वाचनमा उनलाई साख जोगाउनै धौ धौ पर्यो । यस निर्वाचनमा उनले २ हजार ४ सय ३३ मतको अन्तरले नेकपा एमालेका प्रधुमन चौहानसंग पराजित भएका छन् । पोखरिया नगरपालिकामा नेकपा एमालेका प्रधुमन चौहानले ५ हजार ५ सय ५४ मत ल्याएर विजयी भएका छन् ।
यस्तै, नेकपा एमालेकी रुबीकुमारी ठाकुर ५ हजार १ सय ९५ मत प्राप्त गरि उपमेयरमा विजयी भएकी हुन । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार रहना खातुन ३ हजार ९ सय २९ मत ल्याएकी थिईन । गत स्थानीय चुनावमा संघीय समाजवादी फोरम नेपाल (हालको जसपा)बाट उपमेयरमा निर्वाचित भएकी सल्मा खातुनलाई पार्टीले टिकट नदिदाँ चुनाव लडिनन् । तर तिनको पार्टीले लाजस्प्द हार व्यवहोरेका छन् ।
बहुदरमाई नगरपालिका
यस्तै बहुदरमाई नगरपालिकामा गत निर्वाचनमा नेपाली कांग्रेसबाट ३ हजार ४ सय ८१ मत ल्याई मेयरमा निर्वाचित भएका नितेन्द्र साह पनि पराजित भएका छन् । यसपालिको निर्वाचनमा उनि प्रतिश्पर्धामा समेत टिक्न सकेका छैनन् । जनता समाजवादी पार्टीका सिंगासन साह तेली यस नगरपालिकामा ६ हजार ४ मत ल्याई मेयर पदमा निर्वाचित भएका छन् । नेकपा एमालेका मेयर उम्मेदवार शिव पटेल ५ हजार ६ सय ५८ मत ल्याई अर्थात ३ सय ४६ मतले पराजित भई यसपालिकामा दोस्रो प्रतिद्वन्द्वीको भुमिका रहे ।
नेकपा एमालेबाट उपमेयरमा सुष्मा कुमार कुशवाहा ६ हजार ६ सय ४० मत ल्याई विजयी भएकी हुन । यस्तै, नेपाली कांग्रेसबाट उपमेयरकी उम्मेदवार सोनामति देवी यादवले ५ हजार ५ सय २५ मत ल्याई दोस्रो प्रतिद्वन्द्वी बनेकी हुन । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट ३ हजार ८ सय १८ मत ल्याई निर्वाचित भएकी गायत्री देवी यादव उनको कार्यदक्षताले पनी पार्टी परिवर्तन गरेपनि उनले टिकट पाइनन् ।
पर्सागढी नगरपालिका
गत स्थानीय निर्वचन २०७४ मा नेपाली कांग्रेसबाट मेयर र उपमेयर दुबै पद जितेका पर्सागढीमा यसपालि नेकपा एमालेले किल्ला गाडेको छ । पर्सागढीमा मेयर, उपमेयर दुबै पद नेकपा एमालेले जितेको छ । ३ हजार ९ सय ६५ मत ल्याई मेयरमा जितेका लोकनारायण यादवको यसपालिको निर्वाचनमा लाज्जास्पद हार भएको छ । गत स्थानीय निर्वाचनमा ६७ मतले पराजित भएका नेकपा एमालेका गोकर्ण पाठक यसपालिको निर्वाचनमा नेपाली कांग्रेसका लोकनारायण यादवभन्दा २ हजार ८ सय ९१ मत बढि ल्याएर निर्वाचित भएका छन् । यस्तै गत निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित निवर्तमान उपमेयर अर्चना चौधरीलाई ४ हजार १ सय ८६ मतान्तरले हराउँदै नेकपा एमालेकी पूजा चौधरी उपमेयरमा निर्वाचित भएकी हुन । निवर्तमान उपमेयर अर्चना चौधरी ३ हजार ४ सय ३० मत पाएकी छिन भने नेकपा एमालेकी पूजा चौधरी ७ हजार ६ सय १६ मत ल्याई उपमेयरमा निर्वाचित भएकी हुन् ।
कालिकामाई गाउँपालिका
कालिकामाई गाउँपालिकामा यसपालिको निर्वाचनमा जनता समाजवादी पार्टीका सबैभन्दा कान्छो उम्मेदवार २१ बर्षिय बशिष्ट पटेल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन । उनले नेपाली कांग्रेसका अजय कुमार पटेललाई एक सय ७ मतको अन्तरले पराजित गर्दै विजय भएका हुन । गत स्थानीय निर्वाचनमा नेपाली जनता दलबाट २ हजार १९ मत ल्याई निर्वाचित भएका नथुनी प्रसादको गत वर्ष नै निधन भएको थियो । यस निर्वाचनमा उनको दल प्रतिश्पर्धामा समेत अटाएनन् ।
यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी राजमती बरैनीले जसपाबाट उपमेयरकी उम्मेदवारी दिएकी सहानी खातुनलाई एक सय ३१ मतान्तरले हराएकी छिन् । कांग्रेसबाट निर्वाचित उपमेयर राजमती बरैनीले ३ हजार ९ सय ८२ मत पाएकी थिईन भने उनका प्रतिद्वन्द्वी जसपाकी सहानी खातुनले ३ हजार ७ सय ५१ मत प्राप्त गरेकी थिईन ।
जगरनाथपुर गाउँपालिका
यस्तै, पर्साको जगरनाथपुर गाउँपालिकामा नेपाली कांग्रेसबाट मेयरमा श्रीकान्त यादव र उपमेयरमा बबिता सिंह निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार रहेका निवर्तमान गाउँपालिका अध्यक्ष जालिम मियाँका भाई महमद सलिम मंसुरलाई एक हजार ८ सय २३ मतको अन्तरले कांग्रेसका श्रीकान्त यादव ५ हजार ७ सय ४९ मत ल्याई निर्वाचित भएका छन् । यस्तै, नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार मिरादेवी कुर्मीलाई २ हजार १ सय ८६ मतको अन्तरले हराउँदै नेपाली कांग्रेसकी बबिता सिंह उपमेयरमा निर्वाचित भएकी हुन । नेपाली कांग्रेसबाट निर्वाचित बबिता सिंहले ५ हजार ५ सय ३१ मत ल्याएकी छिन भने नेकपा एमालेकी मिरादेवी कुर्मीले ३ हजार ३ सय ४५ मत ल्याएकी छिन् । गत स्थानीय निर्वाचनमा सोही गाउँबाट नेकपा माओवादीबाट जालिम मियाँ ३ हजार ४ सय १ मत ल्याई अध्यक्षमा निर्वाचित भएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी तत्कालिन संघीय समाजवादी फोरम नेपाल (हालको जसपा) बाट कृष्णमोहन यादव ३ हजार ३७ मत पाएका थिए । यसपालिको निर्वाचनमा कृष्ण मोहन यादव तेस्रो स्थानमा रहेका छन् । गत स्थानीय निर्वाचनमा तत्कालिन फोरम नेपालकी विशमिला खातुन ३ हजार १ सय ४१ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएकी थिईन् ।
बिन्दवासिनी गाउँपालिका
यस्तै, बिन्दवासिनी गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमोद तिवारी ४ हजार एक सय ४१ मत ल्याई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार रहेका विवेक कुमार चौरसियालाई ६ सय ७३ मतको अन्तरले पराजित गरेका छन् । गत स्थानीय निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम नेपाल (हालको जसपा) का श्रीलाल साहले नेपाली कांग्रेसका चन्द्रकिसोर बरईलाई ८ मत अन्तरले हराउँदै जितेका थिए । तर यसपालिका निवर्तमान अध्यक्ष साह चौथो प्रतिद्वन्द्वी भएका छन् ।
यस्तै, बिन्दवासिनी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी ज्योतिदेवी चौरसियाले नेकपा माओवादी केन्द्रकी सुनिता चौरसियालाई ७९ मतको अन्तरले पराजित गरेकी छिन् । एमलेकी ज्योति चौरसियाले २ हजार ३ सय ६६ मत ल्याएकी छिन भने माओवादीकी सुनिता चौरसियाले २ हजार २ सय ८७ मत ल्याएकी हुन । जबकी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वचित निवर्तमान उपाध्यक्ष किरण देवीले २ हजार ९ सय १३ मत ल्याई तत्कालिन फोरम नेपालकी उर्मिला देवीलाई ८ सय १० मतको अन्तरले पराजित गरेकी थिईन । तर यसपालिको निर्वाचनमा निवर्तमान उपाध्यक्ष किरण देवी तेस्रो प्रतिद्वन्द्वी भएकी छिन् ।
सखुवा प्रसौनी गाउँपालिका
यस्तै, पर्साको सखुवा प्रसौनी गाउँपालिकामा निवर्तमान गाउँपालिका अध्यक्ष प्रदीप जयसवाललाई एक हजार ८ सय ३१ मतको अन्तरले पराजित गर्दै नेकपा एमालेका यशवन्त यादव विजयी भएका छन् । जसपाका उम्मेदवार निवर्तमान अध्यक्ष प्रदीय जसयवालले ४ हजार ८ सय १० मत प्राप्त गर्दा नेकपा एमाले यशवन्त यादवले ६ हजार ६ सय ४१ मत ल्याई निर्वाचित भएका हुन । गत स्थानीय निर्वाचनमा निवर्तमान अध्यक्ष जयसवालले नेकपा एमालेका उम्मेदवार निर गिरीलाई एक हजार ४३ मतको अन्तरले ३ हजार ६ सय ५७ मत ल्याई निर्वाचित भएका थिए ।
यस्तै, यस पालिकाको उपाध्यक्षमा जनता समाजवादी पार्टीकी शर्मिला बिष्टले जसपा परित्याग गरि एमाले गएकी निवर्तमान उपाध्यक्ष फूलमित कुमारी थरुईनलाई ८९ मतको मतान्तरले पराजित गर्दै विजयी भएकी छिन् । जनता समाजवादी पार्टीकी शर्मिला बिष्टले ४ हजार ८ सय ६७ मत ल्याएर विजयी भएकी हुन । जबकी गत स्थानीय निर्वाचनमा तत्कालिन फोरम नेपाल (हालको जसपा) बाट चुनाव लडेकी फूलमति देवी थरुईनले नेकपा एमालेकी केदार कुमारी विश्वकर्मालाई ८ सय २१ मतको अन्तरले ३ हजार ६ सय ७२ मत ल्याई निर्वाचित भएकी थिईन् ।
पकहामैनपुर गाउँपालिका
यस्तै, पकहामैनपुर गाउँपालिकामा नेपाली कांग्रेसको वडादेखी पालिका अध्यक्ष, उपाध्यक्षसम्म पुरै प्यानल नै विजयी भएको छ । जसपाबाट निर्वाचित पकहामैनपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष विजय चौरसियालाई नेपाली कांग्रेसका सुरेश प्रसादले २ हजार एक सय ५६ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन । निवर्तमान अध्यक्ष चौरसियाले २ हजार ५ सय २९ मत ल्याउँदा कांग्रेसका सुरेश प्रसादले ४ हजार ६ सय ८५ मत ल्याएर विजयी भएका हुन । गत स्थानीय निर्वाचनमा चौरसिया एक हजार ७ सय ३५ मत ल्याई विजयी भएका थिए भने नेकपा माओवादीका सुरेश मेहता एक हजार ५ सय ५४ मत ल्याई दोस्रो प्रतिद्वन्द्वी भएका थिए ।
यस्तै, नेकपा एमालेकी कुमारी निर्मला चौरसियलाई २ हजार २ सय ६९ मतको अन्तरले पराजित गर्दै नेपाली कांग्रेसकी शरफुन नेशा ४ हजार एक सय ४१ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएकी हुन् । नेकपा एमालेकी निर्मला चौरसियाले एक हजार ८ सय ७२ मत प्राप्त गरेकी छिन् ।
धोबिनी गाउँपालिका
यस्तै, पर्साको धोबिनी गाउँपालिकामा नेपाली कांग्रेसका बशिष्टनारायण प्रसाद कुर्मीलाई जनता समाजवादी पार्टीका मदनप्रसाद चौहानले २० मतको अन्तरले पराजित गरि विजयी भएका छन् । जसपाका मदन चौहानले ३ हजार ९१ मत प्राप्त गर्दा निवर्तमान अध्यक्ष सुरेश प्रसाद पटेलका दाई बशिष्टनारायण कुर्मीले ३ हजार ७१ मत पाएका छन् । गत स्थानीय निर्वाचनमा निवर्तमान अध्यक्ष सुरेश पटेलले फोरम नेपाल (हालको जसपा)का शुशिला देवी चौहानलाई २ सय ८४ मतले पराजित गरेका थिए । निवर्तमान अध्यक्ष सुरेश पटेलले पालिकाको बजेटमा मनोमानी गरि व्यापक भ्रष्टाचार गरेको भन्दै पटक पटक विवाद हुँदै आएकै कारण उनको टिकट काटेर कांग्रेसले जेठो दाई बशिष्टनारायण पटेलाई दिईएको बताईन्छ । यस्तै, गत स्थानीय निर्वाचनमा शुशिला देवी लडेको ठाउँमा उनका श्रीमान मदन चौहान लडेर विजयी भएका हुन ।
यस्तै यस गाउँपालिकाको उपाध्यक्षमा जसपाकी प्रियंका देवी यादवलाई नेपाली कांग्रेसकी मंजु देवीले ५ सय ६६ मतको अन्तरले पराजित गरि विजयी भएकी हुन् । जसपाकी प्रियंका यादवले २ हजार ५ सय ७७ मत ल्याउँदा कांग्रेसकी मंजु देवीले ३ हजार एक सय ४३ मत ल्याएकी छिन् ।
छिपहरमाई गाउँपालिका
यस्तै, पर्साको एक मात्र पालिका छिपहरमाई गाउँपालिकामा पुनः मनोज कुमार नै निर्वाचित भएका छन् । उनले आफ्ना निकटम प्रतिद्वन्द्वी इन्द्रासन साह कलवारलाई ३ सय २० मतको अन्तरले पराजित गरि विजयी भएका हुन् । नेकपा एमालेका मनोज कुमारले ४ हजार एक सय ८८ मत ल्याउँदा जसपाका इन्द्रासन साह कलवारले ३ हजार ८ सय ६८ मत ल्याएका हुन् । गत स्थानीयत निर्वाचनमा नेकपा माओवादीबाट चुनाव लडेका मनोज कुमार तत्कालिन फोरम नेपाल (हालको जसपा) इन्द्रासन साह कलवारलाई एक सय ५७ मतको अन्तरले पराजित गरेका थिए । गत निर्वाचनमा मनोज गुप्ताले २ हजार ८ सय ५१ म्त ल्याएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी कलवारले २ हजार ६ सय ९४ मत ल्याएका थिए ।
यस्तै, यस गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी लिलावती देवी कानुले नेकपा एमालेकी निवर्तमान उपाध्यक्ष मोदिना खातुनलाई एक सय ७१ मतको अन्तरले पराजित गरेकी छिन् । कांग्रेसकी लिलावतीले ३ हजार ७ सय ६१ मत ल्याउँदा एमालेकी निवर्तमान उपाध्यक्ष खातुनले ३ हजार ५ सय ९० मत ल्याएकी हुन् । गत स्थानीय निर्वाचन मोदिना खातुनले १ हजार ८ सय ३१ मत ल्याई विजयी भएकी थिईन् ।
पटेर्वा सुगौली गाउँपालिका
यस्तै, पटेर्वा सुगौली गाउँपालिकामा नेपाली कांग्रेसका दिनेश कुमार चौधरीले नेकपा एमालेका निवर्तमान मेयर हरिनारायण चौधरीलाई १२ सय मतको मतान्तरले पराजित गरेका छन् । कांग्रेसका दिनेश कुमार चौधरीले ५ हजार एक सय ४४ मत पाउँदा नेकपा एमालेका निवर्तमान अध्यक्ष हरिनारायण चौधरीले ३ हजार ९ सय ४४ मत पाएका छन् । जबकी गत स्थानीय निर्वाचन २०७४ मा निवर्तमान अध्यक्ष हरिनारायण चौधरीले नेपाली कांग्रेसका दिनेश चोधरीलाई ९० मतको अन्तरले पराजित गरि निर्वाचित भएका थिए । गत स्थानीय निर्वाचनमा एमालेका चौधरीले २ हजार ९ सय ५७ मत ल्याउँदा कांग्रेसका चौधरीले २ हजार ८ सय ६७ मत ल्याएका थिए ।
यस्तै, यस गाउँपालिकाको उपाध्यक्षमा पुनः नेपाली कांग्रेसकी ममता महतो नै निर्वाचित भएकी छिन् । कांग्रेसकी ममता महतोले एमालेकी मन्तुरा देवीलाई ४ सय १३ मतको अन्तरले पराजित गरि ४ हजार ४ सय ४४ मत ल्याएर निर्वाचित भएकी हुन् भने एमालेकी मन्तुरा देवीले ४ हजार १३ मत ल्याएकी हुन् । गत स्थानीय निर्वाचनमा कांग्रेसकी ममता महतोेले ३ हजार २ सय ६३ मत ल्याई निर्वाचित भएकी थिईन् ।
जिराभवानी गाउँपालिका
यस्तै पर्साको जिराभवानी गाउँपालिकामा नेपाली कांग्रेसका अनोज चौधरीले नेकपा एमालेका निवर्तमान अध्यक्ष रामपृत महतोलाई एक हजार २ सय ६१ मतको अन्तरले पराजित गरि निर्वाचित भएका छन् । एमालेका निवर्तमान अध्यक्ष महतोले ३ हजार २ सय ९९ मत ल्याउँदा कांग्रेसका चौधरीले ४ हजार ५ सय ६० मत ल्याई विजयी भएका हुन् । गत स्थानीय निर्वाचनमा एमालेका महतोले कांग्रेसका महादेव महतोलाई ६ सय ७२ मतको अन्तरले पराजित गरि २ हजार ९ सय ५ढ मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका महादेव महतोले २ हजार २ सय ८७ मत ल्याएका थिए ।
यस्तै, यस गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी रेखा चौधरी नेकपा एमालेकी निवर्तमान उपाध्यक्ष उषादेवी थरुनीलाई एक हजार ७ सय ४५ मतको अन्तरले पराजित गरि निर्वाचित भएकी छिन् । कांग्रेसकी रेखा चौधरीले ४ हजार ७ सय १० मत ल्याउँदा नेकपा एमालेकी निवर्तमान उपाध्यक्ष उषादेवी थरुनीले २ हजार ९ सय ६५ मत ल्याएकी थिईन् । जबकी गत स्थानीय निर्वाचनमा एमालेकी उषा चौधरी २ हजार ५ सय ३८ मत ल्याई निर्वाचित भएकी थिईन् भने कांग्रेसकी रेखा चौधरी २ हजार ३३ मत ल्याई दोस्रो भएकी थिईन् ।
ठोरी गाउँपालिका
यस्तै, ठोरी गाउँपालिकामा नेकपा एमालेका लालबहादुर श्रेष्ठले नेकपा माओवादीका निवर्तमान गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठलाई ७ सय २० मतको अन्तरले पराजित गरि निर्वाचित भएका छन । नेकपा माओवादीका निवर्तमान अध्यक्ष श्रेष्ठले ३ हजार ३ सय २९ मत ल्याउँदा एमालेका श्रेष्ठले ४ हजार ४१ मत ल्याई विजयी भएका छन । जबकी गत स्थानीय निर्वाचनमा एमालेका लालबहादुरलाई माओवादीका पदमलालले ४ सय ३९ मतको अन्तरले पराजित गरि २ हजार ८ सय २ मत ल्याई विजयी भएका थिए । भने एमालेका लालबहादुरले २ हजार ३ सय ६३ मत ल्याएका थिए ।
यस्तै, यस गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी गोकुली कुमारी रेग्मीले माओबादीकी निरु तामाङ्गलाई एक हजार २ सय ८ मतको अन्तरले पराजित गरि विजयी भएकी छिन् । एमालेकी रेग्मीले ४ हजार २ सय ५१ मत ल्याएकी छिन भने माओवादीकी तामाङ्गले ३ हजार ४३ मत ल्याएकी हुन् । जबकी गत स्थानीय निर्वाचनमा एमालेकी रेग्मीले २ सय १४ मत मात्रै पाएकी थिईन भने माओवादीकी शान्ति थिंग २ हजार ४ सय ८३ मत ल्याई विजयी भएकी थिईन ।