उद्योग प्रतिष्ठानका लागि श्रमिक र श्रमिकका लागि उद्योग प्रतिष्ठान एक आपसका परिपुरक पक्ष हुन् । आर्थिक लगानीकर्ता उद्योग प्रतिष्ठान संचालक र श्रम लगानीकर्ता श्रमिकको सौहार्दताले मात्र उद्योग प्रतिष्ठानको लक्ष्यले पूर्णता पाउँछ । नेपालमा भने यो कुरालाई गाम्भिर्यताका साथ हेरिन अझै थालेको छैन । उद्योग प्रतिष्ठान संचालकले श्रमिकलाई हेयका दृष्टिले हेर्ने र मैले लगानी गरिदिएर यतिलाई पालेको छु भनी भन्ने उद्योग प्रतिष्ठान संचालकले श्रमिकले श्रम लगानी गरेर मलाई पनि पालिरहेको छ भन्ने नबुझे सम्म आर्थिक लगानीले मात्र सार्थकता पाउँदैन । मुलुक आर्थिक रुपमा अलि कमजोर भएको र श्रम बजार ठूलो भएकोले मात्र आर्थिक लगानी कर्ताले यति धेरै फुर्ति झार्न पाएको हो । नत्र आर्थिक लगानी एक पक्षले मात्र कहिले पनि सार्थकता पाउँदैन ।
यो कुराको ज्ञान तलदेखि माथि सम्म नुहँदा नेपालका उद्योग प्रतिष्ठानमा कार्यरत श्रम बजारका श्रमिकहरुले स्वस्थ्यमा प्रत्यक्ष असर पु¥याएर पनि श्रम बेच्न बाध्य हुनु पर्ने थिएन । सिमेन्ट उद्योग जस्ता अन्यन्त प्रदुषण फैलाउने उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकहरुलाई प्रतिष्ठानले एउटा नाक छोप्ने मास्क समेत नदिएको अवस्था यसैको उपज हो । यो सँगै औषधी उत्पादक कम्पनी जहाँ विभिन्न किसिमको केमिकलमा काम गर्नुपर्ने श्रमिकहरुले पनि आफ्नो स्वास्थ्यको ख्याल भन्दा साहुजीको आम्दानीको मात्र ख्याल गरिदिनु परेको हुन्छ । आर्थिक कालान्तर सम्म उद्योग प्रतिष्ठानका लागि चाहिने श्रमिकहरुको संरक्षण उद्योग प्रतिष्ठानले गर्न सके काममा अनुभव संहाली सकेका तिनै श्रमिकबाट उद्योग प्रतिष्ठानहरुले कालान्तर सम्म फाइदा लिन सक्ने थिए । यो कुरालाई पटक्कै ख्याल गरिएको देखिदैन । यसैको कारण अहिले वीरगन्ज पथलैया औद्योगिक कोरिडोरदेखि नेपालका हरेक उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिकहरुमा हरेक किसिमको सरुवा र नसर्ने रोगको प्रकोप देखा पर्न थालेको छ ।
उद्योग प्रतिष्ठानमा काम गरेकै कारण सुक्ष्म ढंगले बडो गहिरो गरी कुनै रोग लागेको र त्यस्ता रोगबाट श्रमिकको मृत्यु भएको कुरा सार्वजनिक हुन मात्र बाँकी रहेको अवस्था छ । यो कुरा एउटा मात्र सार्वजनिक भए श्रमिकको सामान्य स्वास्थ्यका लागि एउटा मास्क पनि उपलब्ध गराउन नचाहने उद्योगहरु बन्द गर्नुको अर्को विकल्प नहुन सक्छ । छोटो समयका लागि त एक दुई पैसा बाँच्ला । तर कालान्तरमा त त्यस्ता उद्योगहरुले कामदार पाउन छोड्ने छन् । यो कुरा प्रति पनि आर्थिक लगानी कर्ताले ख्याल पु¥याउन पछि पर्नु हुँदैन ।
विश्व बजारमा श्रमको महत्व बुझेका धेरै मुलुकहरुले नेपालबाट गएका श्रमिकहरुलाई समेत राम्रो व्यवहार गरेकोले उनीहरु मुलुक नै नफर्कने भन्न समेत थालेका उदाहरण प्रसस्ति भेटिन थालेको छ । नेपालमा श्रम बजार ठूलो भएको कारण आर्थिक लगानी कर्ताको सरकारले पनि जय जय गरिरहँदा श्रमिकप्रतिको व्यवहारमा भने एक रुपता आउन सकेको छैन । टाढा नगई वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा मात्र हेर्ने हो भने अत्याधिक प्रदुषण फैलाउने ५१ उद्योगहरु मध्ये कुनैले पनि श्रमिकको हितमा उनीहरुको स्वास्थ्यको ख्याल गर्दै काम अनुसारको काम गर्दा प्रयोग गर्न दिने सामग्रीको व्यवस्था गरेको छैन । उद्योगीहरुले पनि उद्योगमा कसैको अनुगमन हुने भए मात्र क्याप, मोजा, पन्जा र मास्कको उपलब्धता गराएको देखिन्छ ।
अम्बे सिमेन्ट, बालाजी सिमेन्ट , त्रिशक्ति सिमेन्ट जस्ता दर्जनौं सिमेन्ट र अन्य उद्योगहरुले उद्योग अवलोकनमा बिशेष मानिस पुग्दा लगाउन दिने वाहेककोे प्राविधिक कर्ममा आवश्यक पर्ने कुनै सामग्री उपलब्ध गराएका छैनन् । समग्रमा भन्न के मात्र खोजिएको हो भने हरेक उद्योग प्रतिष्ठानका संचालकले आफूलाई मालिकको दर्जामा राखे अनुसार श्रमिकहरुले तपाईंहरुको काम गर्दा उनीहरुको स्वास्थ्य नविग्रने वातावरण सृजना गरिदिनु पर्छ । तब मात्र नेपालको परिवेश अनुसार पनि तपाई आर्थिक लगानी गर्ने पक्षको पनि दिर्घकालसम्म जय हुने छ ।