चाडपर्व नजिकिदैँ जादाँ सवारी दुर्घटनाहरु समेत बढ्ने गरेको पाइन्छ । कम विकसित मुलुकहरुको मुख्य चुनौति सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनाबाट जोगिन् ट्राफिक नियम पालना गर्नु वाहेक अर्को विकल्प छैन । सवारी दुर्घटना कम गर्न र शहरी क्षेत्रमा हुने ट्राफिक जाम हटाउन के गर्न सकिएला ? भनी विगत एक वर्षदेखि वीरगंजको ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाली रहेका प्रहरी निरिक्षक सुरेश कुमार शाहसंग मध्य नेपालले गरेका ५ प्रश्न :-
१) दशैमा वीरगंजको ट्राफिक व्यवस्थापन चुस्त बनाउँन के गर्दै हुनुहुन्छ ?
दशैको बेला वीरगंजको बजार क्षेत्रमा लाग्ने प्रत्येक वर्ष झै यस वर्ष पनि वीरगंज बजार क्षेत्रमा लाग्ने मेलामा आफुसंग मौैजदात भएका प्रहरी प्रशासन परिचालन गरि ट्राफिक व्यवस्थापनलाई सहज र सुलभ तरिकाले व्यवस्थापन गरि मेलामा दर्शनार्थीहरु पुजा पाठ गर्न सजिलो होस् भन्ने उद्देश्यले कामगरिरहेका छौं । जसमा आदर्शनगर चौकदेखि वीरगंजको माईस्थान चौक माईस्थान मन्दिरसम्म हेबी गाडीहरुको अथवा ठुलो सवारी साधनलाई तीन दिनसम्म चल्न नदिने रोक लगाइएको छ ।
मोटरसाईकल, कारहरु भारतीय दूतावास चौकसम्म आउन दिइन्छ । दूतावास चौकदेखि लिएर बिर्ता मन्दिर बजारसम्म ट्राफिक सहित मेला व्यवस्थापन समिति, स्थानीय क्लबहरु, जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी कर्मचारी र ट्राफिक प्रहरी समेतले मेलामा पुजा, दर्शन गर्न आउने भक्तजनको सहजताको लागी मोटरसाईकल, साईकल, ठेलाहरुलाई तिन दिनको लागी रोक लगाएको छ । अरु दिनको लागी समान्य तरिकाले रोक लगाएका छौ ।
२) वर्षांैदेखिको ट्राफिक जामको समस्यालाई यहाँले कुन रुपमा लिनुहुन्छ ?
यहाँको सडकको संरचनाले गर्दा तपाईहरुलाई ट्राफिक जाँम जस्तो लागेको होला । तर वीरगंजमा ट्राफिक समस्या भने छैन । किनभने वीरगंजको सडक २०७० भन्दा पहिला बनेका सडकहरु छन् ।
बाटो अलि फराकिलो नभएको तथा पैदल यात्रुलाई हिड्ने सडक पेटी पनि नभएको कारण ट्राफिक जाम जस्तो लागेको होला । यदि कुनै ठाउँमा त्यस्तो जाम हुन्छ भने हामी तुरुन्तै सुधार गरी सुुचारु गराउने गरेका छौ ।
३) वीरगंजमा मात्र नभई देशभरी नै सडक दुर्घटना बढ्नुलाई यहाँले कुन रुपमा लिनुहुन्छ ?
वीरगंजमा सडक दुर्घटना एकदमै न्युन छ । कुनै पनि सवारी चालक चाहे सानो सवारी साधन होस या ठुलो एकदमै आफुले चलाउने गाडी र सडकलाई ध्यान दिएर चलायो भने सडक दुर्घटना एकदमै कम हुन्छ । सवारी चालकमा चेतनाको कमीले हो कि, दुर्घटना त भईरहेको छ । तर धेरै चाही होईन जस्तो मलाई लाग्छ ।
४) ट्राफिक कार्यालयले सडक दुर्घटना रोक्नको लागी के कस्तो पहल गरेको छ ?
हाम्रो ट्राफिक कार्यालयका होस् वा ट्राफिक पोस्ट टोली, आफ्नो एरियादेखि साईकल यात्री, पैदल यात्री लगायत गाडी चालकलाई समेत एक/दुई मिनेट समय लिएर ट्राफिक नियम सम्बन्धिका ज्ञानहरु हामी दिईराखेका छौ ।
स्कुलमा गएर क्लास लिनुको साथै बच्चाहरुलाई ट्राफिक नियम सम्बन्धि जानकारी गराउन विभिन्न ठाउँमा जनचेतना मुलक कार्यक्रम पनि गरिदैछ ।
५) ट्राफिक प्रहरी विस्तार हुन नसक्नुको मुख्य कारण के होला ?
आवश्यकता अनुसार हरेक ठाउँमा ट्राफिक प्रहरी छदैछन् । रोडमा ट्राफिक बसेर सडक दुर्घटना कम हुँदैन । ट्राफिकले त नियम कानुन सम्झाई बुझाई गरी चेतना दिने मात्र हो । त्यसको लागि चौकचौकमा ट्राफिक प्रहरी खतिरहेका छन् । अहिले पर्साको लागी जम्मा ३७/३८ जना ट्राफिक जनशक्ति छ । यसै जनशक्तिले हामी पुगाईरहेका छौ ।