अहिले पर्सा जिल्लामा शिक्षाका कर्मचारीहरु एकपछि अर्काे गरी घुसको रकम सहित समातिन थालेका छन् । शिक्षामा कति सम्मको भ्रष्टाचारी, बेतिथि छ भन्ने कुरा प्रमाण सहित बाहिर आउन थालेको छ । पर्सा जिल्ला शिक्षामा किन पछाडी परेको थियो वा परेको छ ? भन्ने कुरा प्रष्ट भएको छ ।
निजि विद्यालयका संचालनका लागि स्वीकृति होस् वा सामुदायिक विद्यालयको रकम निकासा । सबैमा शिक्षाका कर्मचारीहरुले रकम लिने गरेको कुरा प्रष्ट भएको छ । देश नयाँ संरचनामा गए पनि यी भ्रष्टकर्मचारीहरुले गर्दा शिक्षा क्षेत्रमा सुधार नभएको बुझन सकिन्छ । सामुदायिक विद्यालयमा सवथोक भएर पनि केही नभएको जस्तो, कुनै न कुनै बहानामा सामुदायिक विद्यालयमा समस्या देखाएर भ्रष्टाचारको अखडा बनाउनेहरुको अहिले पोल खुल्दै गएको छ ।
पहिलादेखि नै सामुदायिक विद्यालयहरु कमजोर थिए । अहिले झन कमजोर भएका छन् । लगानी अनुसार प्रतिफल दिन सकेका छैनन् सामुदायिक विद्यालयहरुले । तर पनि सरकारले सामुदायिक विद्यालयमा निरन्तर लगानी गर्दै आएको छ । राज्यले गरेको लगानीका आधारमा हेर्ने हो भने सामुदायिक विद्यालयहरुको रिजल्ट निकै राम्रो हुनुपर्ने हो । उत्पादन पनि निकै धेरै हुनुपर्ने हो । तर, लगानीको तुलनामा उत्पादन निकै कमजोर रहेको अभिभावकहरु नै बताउँछन् । भौतिक संरचनाका हिसाबले हेर्दा पनि सामुदायिक विद्यालयकै राम्रो छ । ठूला खेल मैदान तथा जग्गा सहितका आफ्नै भवन सामुदायिक विद्यालयसँग छन् । सामुदायिक विद्यालयसँग भएको जति जग्गा, भवन र खेल मैदान छन् त्यति ठूलो मात्रामा संस्थागत विद्यालयसँग छैनन् । अधिकांश सामुदायिक विद्यालयका आफ्नै नाममा विघौ विघा जमिन रहेको छ । त्यसबाट कतिपयले राम्रो आम्दानी पनि गरिरहेका छन् । त्यस्तै निजी विद्यालयमा काम गर्ने शिक्षककोभन्दा सरकारी विद्यालयमा काम गर्ने शिक्षकको तलब र अन्य सुविधा समेत निकै बढी छ । सामुदायिक विद्यालयका शिक्षकहरुलाई सरकारले बेलाबेलामा तालिमहरु पनि संचालन गर्दै आएको छ । राज्यले गरेको लगानी र भौतिक संरचनाका हिसाबले हेर्ने हो भने निजी विद्यालयको अवस्था कमजोर छ । निजी शिक्षामा सरकारको लगानी शुन्य छ ।
सामुदायिकका तुलनामा संस्थागत विद्यालयको संरचना पनि कमजोर छ । केही अपवाद वाहेक संस्थागत विद्यालयहरु एउटा सामान्य घर भाडामा लिएर चलाइएका छन् । त्यसैगरी संस्थागत विद्यालयमा पढाउने शिक्षकहरु निकै कम तलबमा काम गरिरहेको पाइन्छ । कम तलबमा पनि संस्थागत विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्नु र सामुदायिक विद्यालयहरुले त्यति नसक्नु यसको जवाफदेहि को ?
सामुदायिक विद्यालयको रिजल्ट कमजोर बन्दै जानुको पछाडि अनेक कारणहरु छन् । जस मध्ये विद्यालय व्यवस्थापन समिति वा अभिभावकको पनि केही कमजोरी देखिन्छ । उनीहरु विद्यालयको सिकाई प्रक्रियालाई राम्रो बनाउने कुरामा कहिले पनि सचेत भएको पाइदैन । जे गर्छ, शिक्षकले गर्छ भन्ने बुझाई छ । अथवा कक्षाकोठा भित्र शिक्षकले के गरिरहेको छ ? भन्ने कुरा कहिले पनि हेरिदैन । अझ साहस गरेर शिक्षकको आलोचना गर्ने विद्यार्थीलाई राजनीति गरेको आरोपमा दबाइने गरिन्छ । व्यवस्थापन समिति विद्यालयका स्रोत साधन खर्च गर्ने र शिक्षक नियुक्तिका बेला मात्र आफ्नो भूमिका खोज्छन । यसले शिक्षा प्रणालीमा समाजको सहभागिता नहुने भएकोले समाज प्रतिको कर्तव्य वोध भएको देखिदैन ।
अहिले जुन किसिमले शिक्षामा भ्रष्टाचारको घटना बाहिर आईरहेको छ यसले के प्रमाणित भईरहेको छ पर्सा जिल्ला शिक्षामा पछाडी पर्नुको अरु कुनै कारण होईन भ्रष्टाचार नै रहेको छ । बाहिरबाट अरु समस्या देखिए वा देखाइए पनि भित्री रुपमा भ्रष्टाचार नै रहेको खुलेको छ । त्यसैले शिक्षामा सुधार ल्याउनका लागि शिक्षामा अभियान चलाउनु पर्ने आवश्यकता छ । होइन भने एक दुई जना भ्रष्टाचारी समातेर केही हुनेवाला छैन ।