घर परिवारमा सम्पन्न भए पनि समाजका लागि केही गर्नुपर्ने इच्छा बोकेकी ४५ वर्षिय संगीता सरावगीको जन्म भारतको कोलकतामा भएको हो । बाबु जयप्रकाश गुप्ता र आमा कुसुम देवी गुप्ताको कोखबाट जन्मेकी संगिता ई.सं. १९७१ नोमेम्बर २९ मा दोश्रो सन्तानको रुपमा यस धर्तिमा पाईला टेकेकी हुन् ।
भारतको उडिसामा आर्य समाजका बाबुआमाको पहलले शिक्षा-दिक्षा प्रारम्भ भई १९९२ मा स्नातक सम्म पास गर्न सफल भएकी संगिताले माईतमा उडिसाकै रोटरी क्लबको सदस्य भई समाजिक कार्यमा लागेकी संगिताले बताइन् । नेपाल भारतको सिमा वारीपारीको कुसंस्कृतिका बारेमा खासखुस मात्रै सुनेकी थिईन् । माईतमा रोटरीले गर्ने विभिन्न समाजिक कार्यमा सरिक हुने संगिता सरावगीको वैवाहिक सम्बन्ध रोटिबेटीको सम्बन्ध भन्दै हामीले अहिले सम्म भनिदै आएको जसरी नै नेपाल स्थित वीरगन्जका मुकेश सरावगीसँग १९९२ जनवरी २६ मा विवाह भएको उनले बताइन् । तराई मधेश मात्रै होईन भारतको विहारमा समेत दाईजोले जरो गाडेको समाजमा रहे पनि उनीसँग दाम्पत्य जीवनमा बाँधिन चाहने दुलाहा पक्षबाट भने विवाहमा दाईजो भन्ने शब्द पनि उचारण नगरेको उनको भनाइ छ ।
श्रीमान् असाध्यै मिलनसार र सहयोगी भएकाले नेपाली परिवेशमा घुलमिल हुन त्यति गाह्रो नभएको संगिताले तर्क गरिन् । सरावगीको दाम्पत्य जीवनबाट ३ जना छोराको जन्म भई, बच्चाहरुको पालनपोषणमा लागेकी संगिता हाल वीरगंजको अरुणोदय क्लब, संस्कार क्लबकी महिला सदस्य र पतञ्जली योग पिठका लाईफ टाईम सदस्य हुन् । यति मात्र नभई श्रीमान् मुकेश सरावगीको सहयोगमा नव नेपाल निमार्ण पार्टीको तर्फबाट संविधानसभा सदस्यको रुपमा समानुपातिक उम्मेदवार बन्न सफल भएकी थिईन् । यिनै संगीता सरावगीसंग मध्य नेपालका लागि गरेको सार संक्षेप :–
१. अरुणोदय क्लबको स्थापना कति सालमा भएको हो ?
यो संस्था भनेको सामाजिक कार्य गर्ने संस्था हो । यसको स्थापना वि.सं.२०५३ सालमा भएको हो ।
२. तपाई कसको प्रेरणाबाट यस संस्थामा आउनु भएको हो ?
म विवाह भएर नेपाल आउँदा मलाई यहाँको त्यति ज्ञान थिएन । छोरा स्कूलमा पढ्दा उसको साथीको ममीसंग मेरो भेटघाट भयो र उनको प्रस्तावले संस्थाको स्थापना भयो । त्यसै मार्फत आवद्ध भई हामी काम गर्न थाल्यौँ ।
३. तपाईको संस्थाले के–कस्तो कार्य गर्दै आईरहेको छ ?
यो संस्था भनेको समाजिक संस्था हो । हामीले अपाङ्ग बच्चाहरुको लागि आर्टिफिसियल खुट्टा वितरण, नरायणी उप-क्षेत्रिय अस्पतालका लागि विभिन्न समाग्रिहरु वितरण, भुकम्प पिडित, असहाय र विभिन्न संघसंस्थाहरुमा सहयोग गर्ने गर्दछन् । यति मात्र नभई हाम्रो संस्था मार्फत वीरगंज विर्तामा रहेको कारागारमा शौचालय, स्नान घर, चौतारी लगायतको निर्माण गरि सहयोग गर्ने गरेका छौँ ।
४. यहाहरुको संस्थाको दिर्घकालिन योजनाहरु के–के छन् ?
हाम्रो संस्थाले धेरै किसिमको काम गर्ने गर्दछ । जस्तैः सा-सानो बच्चाहरुको लागि खेल प्रतियोगिता, राईम्स प्रतियोगिताहरु छन् । यस प्रतियोगिताले बच्चाहरुमा सकरात्मक विकास भई सुखि र खुशी भएर अगाडी बढ्न मदत पुर्याउने गर्दछन् । हाम्रो संस्थाले महिलाहरुको क्षेत्रमा समेत कार्यक्रम गर्ने गर्दछन् । ताकि उनीहरु आफै सक्षम भई अगाडी बढ्न सकुन हाम्रो संस्थाको आगामी योजना वीरगंज शहरलाई हरियाली बनाउने हो । त्यसका लागि विभिन्न एन.जि.ओ र आई.एन.जि.ओ संगको सहकार्यमा अगाडी बढिरहेका छौँ । यसैगरी वीरगंजको विभिन्न स्थानहरुमा हेर्ने हो भने अहिले चापकल निकै कम छन् यसका लागि हाम्रो आफ्नौ अरुणोदय क्लबको लगानीमा ठाउँ-ठाउँमा कल जडान गर्ने भावी योजनाहरु रहेको छ । शहरका अधिकांश हरकिसिमले सक्षम छन् । तर हाम्रो उदेश्य गाँऊबाट आएका व्यक्तिहरु सक्षम हुनु हो त्यसका लागि हामीले केही न केही गरिदिनुपर्ने कर्तव्य बन्छ, त्यसै कर्तव्य पुरा गर्नका लागि हामी लागि परेका छौँ ।
५. तपाई मारवाडी समुदायकी महिला, यसरी विभिन्न ठाउँमा काम गर्दा कस्तो अनुभव बटुल्नु भएको छ ?
म एकदमै गर्व महसुस गर्ने गर्दछु । अहिले पनि मारवाडी समुदायकी महिलाहरु घर बाहिर निस्किदैनन् । तर आजको समयमा म घरबाट वाहिर निस्केर विभिन्न समाजिक कार्य गर्दा मन प्रफुल्ल भएर आउँछ । सुरुवातमा विहे भएर नेपाल आउँदा मलाई कसैले चिन्दैनथे, तर आज यहि संस्था मार्फत धेरैसंग चिनजान भएको छ । अझै समाजिक क्षेत्रमा काम गर्न इच्छुक छु । गरिब, असाहय, दिनःदुःखी र अनाथहरुको अवस्था देख्छु, ति सबै आफ्नै जस्तो लाग्छ त्यसैले अझै सय प्रतिशत काम गर्न चाहन्छु ।
हाम्रो समुदायका अरु मारवाडी महिलाहरुलाई भन्न चाहन्छु, सबै एकजुट भएर हातमाहात र काधँमा काध मिलाएर समाजका लागि केहि गर्न सुझाव दिन्छु ।
६. महिला हिंसा हाम्रो समाजमा दिनप्रतिदिन बढ्नुको कारण यहाँले के देख्नु हुन्छ ?
सर्वप्रथम शिक्षाको कमी, बेरोजगारी, दाईजोप्रथा र बालविवाह जस्ता कार्यहरुले हाम्रो समाजमा महिला हिंसा दिन प्रतिदिन बढिरहेको छ ।
७. यहा सतसंगमा पनि जोडिनु भएको छ । तपाई जस्ता अरु महिलाहरुलाई यसमा कसरी जोड्न सकिन्छ ?
सतसंगमा जोडनको लागि म संस्कार क्लबसंग आबद्ध भएको छु । आजको समयमा कोही पनि व्यक्तिहरु फुर्सदमा छैनन् । तर सतसंगले सत्य मार्ग निर्धारण गर्दछ । हामीहरुले सतसंगमा जोडनका लागि मनोरञ्जन गराएर समेत सतसंग गराउने गर्दछौँ । आजभन्दा ९ वर्ष अगाडी हामी ७/८ जना मात्रै थियौँ । तर अहिले ३० जना भन्दा बढी भईसकेका छौँ । अझै सतसंगमा जोडिन आउने व्यक्तिहरु हामीसंग सम्पर्कमा हुनुहुन्छ ।
८. भखरै योग गुरु रामदेवको योग विज्ञान शिविर समपन्न भएको छ, शिविरबाट तपाईले कतिको उपलब्धि लिनु भएको छ ?
यो शिविरले धेरै उपलब्धि भएको छ । केही महिना देखि केही शारिरीक समस्या भएको थियो । तर अहिले ठिक भएको छ । शारिरीक, मानसिक र सामाजिक रुपले जागरुक भयो भने मात्र कुनै कार्य गर्न सकिन्छ । उहाँको शिविरले धेरैलाई राहत दिएको छ । केही वर्ष अगाडी पनि मैले रामदेव बाबाको ८(१० ओटा शिविर लिईसकेकी छु । उँहाकै आर्शिवाद, विपश्ना, मेडिटेसन र पतञ्जली औषधीबाट हाम्रो तेस्रो बच्चा समेत स्वस्थ्य जन्मेको हो ।
९. तपाईको विचारमा वीरगंजको विकासको निमित्त के-कस्तो पाईला चाल्न सकिन्छ ?
वीरगंज विकासको लागी धेरै कुराहरुमा ध्यान पु¥याउनु पर्छ । बसपार्कको काम चाडोभन्दा चाडो समपन्न गर्नु पर्दछ । वीरगंजको मुटुमै रहेको घंटाघरको जग्गामा अन्तराष्ट्रिय सभाहल बनाउन पहल गर्नुपर्दछ । यसका लागी वीरगंजका जनताले मात्रै होईन यस भेगकै जनता र सांसदहरुको दबाब चाहिन्छ । देशकै ठुलो करोडौँ नाफामा रहेको चिनी कारखाना र कृषि औजार कारखाना बन्द अवस्थामा छ । यसलाई संचालनमा ल्याई रोजगारी प्रदान गर्नुपर्दछ ।
यसैगरी कुनैपनी देशका उधोगीहरुका लागि लगानिको वातावरण मिलाईदिनुपर्दछ । त्यसका लागि सम्पुर्ण राजनितिक पार्टी विकासका लागि एकमत हुन जरुरी छ । यी कुराहरुमा ध्यान पुर्याए वीरगंजको मात्र नभई देशभित्रको हरेक सहरको विकास सम्भव छ ।
१०. तपाई आफनो जिवनकालमै विर्सनै नसक्ने अविस्मरणिय पल भन्नु पर्दा के सम्झनु हुन्छ ?
मेरो जिवन कालकै सम्झनाको पल मेरो छोरोको जन्मदिन हो । हामी बच्चाको जन्मदिन होटलमा नमनाएर अनाथ बच्चाहरुसंग घुलमिल भएर अनाथ आश्रममै गएर उनीहरुको कपडा, खाद्यान्न र विभिन्न खानपिन गरेर मनाउने गर्दछौँ । हामी जुन क्षेत्रमा पनि काम गरे पनि जो असहाय छन् त्यसका लागि केही न केही गर्नु पर्दछ । यो मेरो जिवन कालकै अविस्मरणिय पल हुने गर्दछ ।
२०१७ जनवरीमा प्रकाशित मध्य नेपाल पत्रिकाबाट अध्यावधी गरिएको !