तारा एयरको दुर्घटनाग्रस्त जहाजमा सवार यात्रुमध्ये १४ जनाको शव भेटिएको दुर्घटनास्थलमा पुगेका स्थानीय ईन्द्रसिंह शेरचनले जानकारी दिएका छन् ।
अन्य यात्रुको खोजी भइरहेको शेरचनले बताए । अहिले घटनास्थलमा सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरीको टोली पुगेर शव खोजी तथा संकलन गरिरहेको शेरचनले जानकारी दिए । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज बिहान १०:१० मिनेटमा सम्पर्कविहीन भएको थियो ।
जहाज थासाङको मानापाथी हिमालस्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको हो।
जहाजमा ३ चालक दलका सदस्य र १९ यात्रु सवार थिए ।
आइतबार बिहान १०:१० बाट सम्पर्क विच्छेद भइ मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एन एईटी जहाज सोमबार दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाज थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा भेटिएको हो । जहाजमा चालक दलका ३ सदस्य र अन्य १९ जना यात्रु गरी जम्मा २२ जना सवार थिए। यात्रुहरु दुई जर्मन नागरिक, चार भारतीय र १३ नेपाली रहेका छन् ।
जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो। जहाजमा पाइलट प्रभाकर घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा थिए। जहाजमा दुई जर्मन नागरिक वी विलनर र मेइक ग्रिटग्राफ थिए। साथै भारतीय नागरिक बान्देकर वैसवी,अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी र ऋतिका त्रिपाठीसमेत सोही जहाजमा थिए ।
यस्तै,जहाजमा नेपाली नागरिक इन्द्रबहादुर गोले, पुर्षोत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ सवार रहेका नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ । - अन्नपुर्णा पोस्टबाट साभार गरिएको