वीरगंज । स्थानीय तहको निर्वाचन २०७९ को पछिल्लो मत परिणाम अनुसार नेतृत्वमा मुलुकभर दोस्रो पार्टीमा दरिएको एमाले पर्साको सन्दर्भमा भने पहिलो बनेको छ । पर्साका १४ पालिका मध्ये एमालेको नेतृत्व यहाँका पाँच वटा पालिकामा हात परेको हो ।
निवर्तमान पालिकाका प्रमुख तथा अध्यक्षहरु मध्ये पर्साको छिपहरमाई गाउँपालिकाको अध्यक्षमा मनोज गुप्ता आएपछि नेतृत्वको जोड घटाउमा पर्सामा एमाले पहिलो पार्टी बनेको छ । तथापि मधेश प्रदेशकै एकमात्र वीरगन्ज महानगरपालिकामा भने एमालेले नेतृत्व हात पार्न सकेन । महानगरको नेतृतव हात पार्न नसके पनि एमालेले दुई नगरपालिका र तीन गाउँपालिकाको नेतृत्व हत्याउँदै जिल्लाका पालिकाहरुको नेतृत्वको तथ्याँकमा पहिलो पार्टी भएर उपस्थिति दर्विलो देखाएको छ ।
वीरगन्ज महानगरपालिकामा भने गठबन्धन दलका उमेद्वार जसपाका नेता राजेशमान सिंहले कुल खसेको मतको सदर मतमध्ये एकलौटी ६२ दशमलब ८५ प्रतिशत हात पारेपछि एमालेको यो महानगरमा भने सबै दाउ फेल भएको छ । यो पटक एमालेको तर्फबाट वीरगन्ज महानगरमा निवर्तमान नगरप्रमुख विजय कुमार सरावगी पुनः उमेद्वार बनेका थिए । निर्वाचित सिंहलाई पार्टीले आश्वासन दिएर पुनः पछाडी तान्ने संकेत गरेपछि उनी एमालेमा नगई जसपामा पार्टी प्रवेश गरेर अन्ततः महानगरमा एमालेलाई नै परास्त गर्ने लायक उमेद्वार दरिएको निर्वाचनको अन्तिम मत परिणामले पुष्टि गरेको हो ।
साविकका केही पालिकामा नेतृत्व गुमाए पनि अरु जसपाका प्रदिप जैसवालले २०७४ को निर्वाचनमा नेतृत्व गरेको पर्साको सखुवा प्रसौनी गाउँपालिका, माओवादीले नेतृत्व गरेको ठोरी र काँग्रेसले नेतृत्व गरेका पोखरिया र पर्सागढी नगरपालिका समेत आफ्नो पोल्टामा पार्दा रणनीतिक हिसाबले नेतृत्वमा भने एमाले बलियो दरिएको प्रष्टिएको छ । यो उपस्थितिले एमालेले आफ्नो अवस्थालाई थप सुधार गर्दै जानेमा आफूहरु ढुक्क भएको पर्साका एमालेजनको दावी छ ।
एमालेले नेतृत्व लिएका पालिकाहरुमा दोस्रो सदरमुकामका रुपमा रहेको पोखरिया नगरपालिका र पर्सागढी नगरपालिका साथै चर्चित गाउँपालिका ठोरी, छिपहरमाई र सखुवाप्रसौनी छन् । बहुदरमाई नगरपालिकामा पनि एमालेले जित्ने ठूलो दाउ हेरिरहेको थियो । तर मधेश आन्दोलनको इपिसेन्टर पर्साको वीरगन्ज महानगरमा झै त्यहाँ पनि एमाले दोस्रो स्थानमा नै चित्त बुझाउनु प¥यो ।
यता जसपाले पनि वीरगन्ज महानगरपालिका सहित अरु ३ पालिकाको नेतृत्वमा पुग्दै एमाले पछिको काँग्रेसको स्थान अनुसार नै पालिकाको नेतृत्वको हिसाबले जिल्लाको दोस्रो पार्टी हुने अवसर बनाएको छ । लोसपाले भने पर्साको विन्दवासीनी गाउँपालिकाको नेतृत्व हात पार्दै आफ्नो दलगत उपस्थितिमा कान्छो पार्टी बनेको निर्वाचन परिणामले देखाएको छ ।
नेपाली काँग्रेसले साविक माओवादी केन्द्र हालको एमालेका जालिम मियाले नेतृत्व गरेको जगरनाथपुर गाउँपालिका, एमालेले नै नेतृत्व गरेको जिराभवानी, पटेर्वा सुगौली र जसपाले नेतृत्व गरेको पकाहामैनपुरमा आफ्नो नेतृत्व लिएको छ । त्यसैगरी जसपाले कालिकामाई, धोविनी, बहुदरमाई नगरपालिका सहित वीरगन्ज महानगरको नेतृत्व नै आफ्नो कब्जामा पार्न सफल भएको छ ।