सबैले यो बुझेका छन् दाम, नाम र आरामका लागि काम गर्नु जरुरी छ, । काम गर्न स्वस्थ र तन्दुरुस्त शरीर चाहिन्छ । तर समयको व्यवस्थापन गरेर आवश्यकता अनुसारको पौष्टिक खाना खाने बानी विरलैको छ । जसको कारण अधिकांश मानिस ग्याष्ट्रिकको समस्याबाट ग्रसित भएका छन् । विभिन्न कारणले ग्याष्ट्रिक हुने भए पनि विशेषतः खाना समयमा नखाँदा यो समस्याले सताउँछ । ग्याष्ट्रिक भएपछि मन लागेको खाना खान र खाएको पचाउन कठिन हुने चिकित्सकहरुको भनाइ छ । नारायणी उपक्षेत्रिय अस्पतालको सर्जरी विभागको जेनरल सर्जन डा.मनोज कुमार गुप्ता पनि ग्याष्ट्रिक हुनै नदिनु उपयुक्त हुने तर्क गर्छन् । ‘ल्याबबाट रगत, दिसा, पिसाब जाँचेर ग्याष्ट्रिक भए नभएको पत्ता लाग्दैन’ उनले भने । खानपानमा ध्यान नदिँदा हुने यो समस्या सुरु भएपछि पनि खानपानमा हेलचेक्राईं गरे अझ ग्याष्ट्रिकको दीर्घकलिन असर हुने डा गुप्ताले बताए । यसै सन्दर्भमा नारायणी अस्पतालका जेनरल सर्जन डा.मनोज कुमार गुप्तासँग मध्य नेपाल सन्देशका लागि गरिएको कुराकानी :-
१) ग्याष्ट्रिक भनेको के हो ? यो कसरी हुन्छ ?
ग्यास्ट्रिक प्रायः सबैलाई लाग्ने रोग हो । कसैलाई थोरै कसैलाई धेरै हुने यति मात्र हो । ग्यास्ट्रिक हुने प्रमुख कारण भनेकै खानपिनको असावधानीले गर्दा हुन्छ । हाम्रो खानपिन स्वस्थ्यकर पनि हुँदैन । खाना खाने सही समय हुँदैन । दैनिकी खाने खाना पौष्टिक खाना हुनु पर्छ । प्राय चिल्लो पिरो र मसालेदार तारेको भुटेको खानाखाँदा अवश्य नै पाचँन शक्तिले पचाउँन नसक्दा त्यही असजिलो हुन्छ । अनि ग्याष्ट्रिकको समस्या त्यहिबाट सुरु हुन्छ । सुरुमा उति मानिसलाई थाहा नहुन पनि सक्छ । तर कालान्तरमा त्यसले विभिन्न रोगलाई अगाडी बढ्न मद्दत गरिरहेको हुन्छ ।
२) खाना खाँदा ग्याष्ट्रिक कम हुने गरी कसरी समायोजन गरी खाना खानु उपयुक्त हुन्छ ?
खाना धेरै वा थोरैभन्दा पनि खाना खाने एउटा निश्चित समय हुनु पर्छ । गाउँघरका महिलाहरु बिहानैदेखि उठेर घरधन्दा सकेर परिवारका सबै सदस्यलाई खाना खुवाएर मात्रै आफू खाने गर्छन् । यसरी लामो समयसम्म खाना नखाँदा हाम्रो पेटमा ग्यास जम्मा भएर बस्छ । त्यो अन्तमा पेटमा आमाशय भित्र कुनै पनि खाना गएको हुदँैन । त्यस्तो समयमा हाम्रो आमाशयमा खानालाई पचाउँने विभिन्न किसिमको इन्जाइम, एसिडहरु उत्पन्न भईरहेको हुन्छ । त्यसबेला हामिले कुनै पनि खानेकुरा खाएको हुदैँन भने त्यो इन्जाइमले पछि गएर विस्तारै आमाशयका जुन आन्द्रालाई नै डाइजेष्ट गर्न थाल्छ । एसिड न्यूट्रिलाइज हुन नपाएपछि आन्द्रालाई विस्तारै–विस्तारै विगारन थाल्छ । त्यो लामो समयसम्म हुँदा अल्सर भई क्यान्सरमा परिणत हुन जान्छ । हामी शुद्ध खानेकुरा खाए पनि लामो समय विचको अन्तर हुनु भएन ।
३) ग्याष्ट्रिक विग्रिएपछि सुरुको लक्षण के–के हुन सक्छ ?
सुरुमै ग्याष्ट्रिक हुँदा खेरी हामीले कुनै पनि खाना खाँदा खेरी अथवा भोको पेटमा हुँदा हामीले अलि–अलि माथिल्लो पेट दुख्छ । त्यो दुख्न लागिसकेपछि त्यही बेला डक्टरसंग चेकअप गराउनु पर्दछ । तर साधारणतया लामो समयसम्म दुख्दा पेट भित्र केही भएको छ कि छैन हेर्नको लागि इन्डोस्कोपी गर्नु पर्दछ । इन्डोस्कोपी गर्दा खेरी आमाशय भित्र के छ त्यो छर्लङ्ग देखिन्छ । तर त्यसमा हामीले इन्डोस्कोपि गरिसकेपछि एक्स पाइलोरी भन्ने ब्याक्टेरीया हुन्छ । एक्स पाइलोरी ब्याक्टेरियाले ग्याष्ट्रिक अल्सर गर्ने त्यो प्रमुख कारण पनि ब्याक्टेरीया हो । त्यो ब्याक्टेरीया पनि फोहोर खानेकुरा, दुषित पानी पिउँदा त्यसैबाट सर्छ । एक्स पाइलोरीया ब्याक्टेरीया यदि त्यसमा छ भने त्यसलाई निमूर्ल पार्नको लागि डक्टर हामीसंग उपचार छ । त्यसको उपचार गरिसकेपछि लगभग ९० प्रतिशत ठिक हुन सक्छ ।
४) ग्याष्ट्रिक कत्तिको जटिल रोग हो ?
यो खासै ठूलो रोग होइन । सामान्यतः पेटको माथिल्लो भागमा जलन हुने, मुखमा अमिलो पानी आउने, खाली पेटमा डकार आउने, खाँदा अप्ठेरो महसुस हुने, राम्रोसँग वायु नखुल्ने, दिसा नियमित रुपमा नहुने, कब्जियत हुने जस्ता समस्या ग्याष्ट्रिक हुँदा देखिन्छन् । ग्याष्ट्रिक आफैमा खासै जटिल हुदैन । तर कहिले कम र कहिले बढेर जाने हुँदा मानसिक तनाव बढ्छ । यदि आमासयमा अल्सर भएमा कहिलेकाँही मुखबाट रगत आउने र दिसा कालो हुने हुन्छ । लामो समयसम्म त्यस्तै रह्यो भने यसले क्यान्सरको रुप लिन सक्छ ।
५) ग्याष्ट्रिक रोग होइन भने के हो त ?
ग्याष्ट्रिक आफैमा रोग नभएर बिभिन्न रोगहरुको लक्षण हो । मेडिकलको भाषामा ग्याष्ट्रिकलाई ग्यास्ट्राइटिस भनिन्छ । हरेक व्यक्तिको पेटमा उत्पादन हुने हाइड्रोक्लोरीक एसीडको मात्रा १ दशमलव ५ हुन्छ । मात्रा भन्दा बढी अम्ल उत्पादन हुने समस्या नै ग्यास्ट्राइटिस अर्थात आम भाषामा ग्याष्ट्रिक हो ।
६) के कारणले हाइड्रोक्लोरीक एसिड बढ्छ र ग्याष्ट्रिक हुन्छ ?
हाम्रो अमाशयमा रहने कडा खालको यो अम्ल बिभिन्न कारणले बढ्छ र ग्याष्ट्रिक हुन्छ । प्रायःजसो खानपानमा अनियमितता भयो, अत्याधिक चिल्लो र मसलेदार खाना खाइयो, लामो समयसम्म पेट खाली राखियो, पानी कम पिइयो भने बढी अम्ल उत्पादन हुन्छ । धुम्रपान तथा मद्यपान गर्ने साथै बढी मोटो र मानसिक चिन्ता लिने व्यक्तिलाई पनि ग्याष्ट्रिक देखिन सक्छ । त्यस्तै पेट भित्र अल्सर, क्यान्सर, पित्त थैलीमा पत्थरी भएमा पनि ग्यासटाइटिस हुनसक्छ, भने केही समूहका औषधिको सेवनले पनि अत्याधिक ग्याष्ट्रिक हुने हुन्छ ।
७) ग्याष्ट्रिकबाट बँच्न के उपाय अपनाउनु पर्छ ?
ग्याष्ट्रिक हुन नदिन हरेक व्यक्तिले खाने खानामा मसला, चिल्लो, पिरो, अमिलोको मात्रा कम गर्ने, खाना खाने समयलाई नियमित गर्ने, धेरै लामो समयसम्म पेट खाली नराख्ने र ठिक्क खाने, धुम्रपान नगर्ने, चिन्ताबाट मुक्त हुने, शारिरीक व्यायाम गर्ने, अनिन्द्रा नबस्ने जस्ता बानीको विकास गर्नुपर्छ ।
८) ग्याष्ट्रिक भइ हालेमा यसको उपचार विधि के हो ?
सामान्यतः डाक्टरले बिरामीको लक्षणबाट नै ग्याष्ट्रिक भए नभएको पत्ता लगाउँछन् । त्यसैको आधारमा आवश्यक औषधी सेवन गर्न र खानपानमा ध्यान दिन सल्लाह दिन्छन् । तोकिएको समयसम्म डाक्टरको सल्लाह अनुसारको खानपान र औषधीको सेवन गर्दा पनि ग्याष्ट्रिक निको नभएमा इन्डोस्कोपी गरेर अम्लका कारण पेटमा घाउ भएको छ वा छैन जाँच गरिन्छ । साथै एच पाइलोरी (ज् एथ्ीइच्थ्) भन्ने ब्याक्टेरीयाको जाँच गरिन्छ । जाँच पछि घाउ नभएको अवस्थामा खानपानलाई व्यवस्थित गरेर ग्याष्ट्रिकको समस्याबाट राहत पाउन सकिन्छ । यदि अल्सर नै भैसकेको भए ६ हप्तासम्म ट्रिपल थेरापी गर्नुपर्छ । कहिलेकाँही पित्त थैलीमा पत्थरी भयो भने पनि ग्याष्ट्रिक जस्तो समस्या देखा पर्न सक्छ । यस्तो भएमा पित्त थैलीको पत्थरीको अप्रेसन नगरी यसको समस्या कम हुदैन ।
९) यहाँको कार्य अनुभवको आधारमा कुन उमेरमा कस्तोलाई लाग्छ ?
प्रायः जसो चाहि शहरीभन्दा ग्रामीण भेगमा बढी पाइन्छ । हाम्रो समाजमा चाहि पुूरुषमा बढी पाइएको देखिन्छ । जती पनि त्यस्ता केसहरु गरेको छु । त्यस केस यो हो भनेर यकीन गर्न सकिएको छ । धेरै केसहरुको समस्याको समाधान गरिसकेको छु । तर त्यसको डाटा एनलाइसिस गरेको छैन । उमेरको हिसावले हेर्दा ४५ देखि ५० वर्षको उमेरमा महिलाभन्दा बढी पुरुषमा नै यो रोग भएको पाइन्छ ।
१०) यसको उपचार कम खर्चिलो र सहजै उपलब्ध कति छ ?
ग्याष्ट्राइटिस एकदम सरल उपचार छ । महङ्गो छैन । कुनै सर्जरी हैन । जब आफुलाई त्यस्तो लक्षण महसुुुस भैसकेपछि समयमा नै डाक्टर या त्यस्को स्पेश्लिष्टसंग गएर देखाउने । इन्डोस्कोपी गरिसकेपछि रु.१५सय देखि २ हजार खर्च हुन्छ । हाम्रो विरगंजमा । लगभग रु.२ हजार मा त्यसको डाइग्नोसिस क्लियर हुन्छ । डाइग्नोसिस भइसकेपछि कहिलेकाहि एच. पाइलोरी ब्याक्टेरीया छैन भने कम खर्च र छ भने बढि खर्च लाग्न सकछ ।