विगतमा वीरगंजको पहिचान बनेको ताप्के हाल लोप हुदै गएको छ । बढदो आधुनिकतासंगै नयाँ खाले भाँडाकुडाको प्रयोगले व्यापकता पाएपछि मुलुकमै प्रसिद्ध कमाएको यहाँको ताप्के लोप हुन थालेको हो । प्रेसर कुकर र नन स्टिक आदिको दिन प्रतिदिन बढ्दो प्रयोगले फलामको ताप्के वीरगंजमै ओझेलमा पर्न थालेको स्थानीयको भनाइ छ ।
हाल वीरगंजको विभिन्न स्थानमा छरिएर रहेका रैथाने लोहारहरुले आफ्नो पुख्र्यौली पेशाको रुपमा फलामको भांडा बनाउने कामलाई निरन्तरता दिइरहेका छन् । तर उनीहरु पनि फलामका अन्य भांडाहरुको तुलनामा ताप्केको निर्माण वर्षमा नगन्य मात्रमा मात्रै गरिरहेको बताउँछन् । सेल, घेवर, जेरी जस्ता मिठाई बनाउन ताई ताप्केको प्रयोग हुने गर्दछ । वीरगंज अशोक वाटिका स्थित शिवशक्ति आयरनका रमेश ठाकुर ताई ताप्के र कराहीको बिक्रीले जसोतसो लागत मात्र निस्किरहेको बताउंछन् । फलामलाई आगोमा गलाएर र त्यसलाई साँचोमा ढालेर विभिन्न आकार प्रकारका फलामका भाँडा बनाइन्छ । धेरै परिश्रम र रातदिन आगोमा बसेर गनुपर्ने काम भएकोले कतिपय फलामको भाँडा बनाउने व्यापारी यो पेशाबाटै धेरै पलायन भईसकेको उनको तर्क छ ।
स्नातक गरेर पनि कतै काम नपाएपछि पुख्र्यौली पेशालाई नै निरन्तरता दिने निर्णय लिएर दुई दशकदेखि फलामको भाँडा र अन्य औजारहरु बनाउदैं आएका राजकुमार लोहार अहिले आएर आफ्नो निर्णय गलत रहेको ठहर गर्दै छन् । विगत एक वर्ष देखी कारखाना नै बन्द गरेर अन्यत्र पेशा तर्फ उनी पलायन भएका छन् । आशातित व्यापार नभएपछि उनी आफ्नो कामबाट सन्तुष्ट नभएरै पेशा परिवर्तन गरेको बताउँछन् । फलामको भाँडाका प्रयोगकर्ताहरु धेरै न्यून रहेका छन् । उनले भने, वीरगंजको चिनोको रुपमा पहिचान बनाएको ताप्केको बिक्री बजारमा छदै छैन एकाध केही पहाडका व्यापारीहरुले अर्डर गरेर लिएर गए मात्रै हो नत्र व्यापारीहरु आउदैनन् र बजारमा पनि खपत हुदैन ।
फलाम भन्दा उतम भाडो कुनैपनि हुन सक्दैन अरु भाँडोहरुमा रसायन पदार्थ हुने गरेकाले शरीरमा साइड इफेक्ट हुने गर्दछ । तर फलमको भाँडो परम्परागत भाँडो र विभिन्न अनुसन्धानले सिद्ध भईसकेकाले यस बाहेक कुनै पनि भाँडो उतम नहुने अन्य अनुसन्धानले समेत देखाएको छ ।
अब, आधुनिक भाँडाहरुको बढ्दो चलनले नै वीरगंजको ताप्के एक जवानाको चिनो मात्रै हो भनेर भन्न मिल्छ । प्रेशर कुकरको नेपालमा प्रयोग बढ्न थालेपछि ताप्केको प्रयोग घट्दै गएको व्यवसायीहरुको भनाइ छ । हाल व्यापारीको अर्डर आएमात्र ताप्के बनाउने गरेको उनीहरु बताउछन् । ताई ताप्के मिठाई बनाउनका लागि चाहिने भएकोले वीरगंज र यस आसपासका मिठाई पसल संचालन गर्ने व्यवसयीहरुले खरिद गर्ने गरेका छन् । फलामको कराहीको बिक्री पनि ननस्टिक भाडाको चलनले गर्दा धेरै घटेको भुक्तभोगीहरुको भनाइ छ ।
अर्का व्यापारी श्याम ठाकुरले मिस्त्री नपाएर अहिलेका लागि कारखाना बन्द रहेको बताए । उनको कारखानामा समेत अर्डर अनुसार मात्र काम हुने र ती सबै अर्डरमा बनेका फलामका भाडाहरु वीरगंज बाहिरका सहरहरुमा समेत बिक्रीका लागि जाने गरेको थियो । तर अहिले मिस्त्रीहरु नै पाईरहेका छैनन् । उनले भने अहिले सबै पढेलेखेका युवाहरु फलाम गलाउने काम गर्न सक्दैनन् धेरै मेहनत र लगनले एउटा भाडा बन्ने हुदाँ यस व्यवसाय नै चैपट हुदै गएको उनले दुखेसो पोखे । केही वर्ष अगाडी हिजोको दिनमा मेरो कारखानामा मात्रै एक महिनामा तीनसय किलो फलामको भाडा बनाउन्थ्यो ति सबै भाडाहरु राजधानी र दा¨ लगायतका ठाउंहरुमा जाने गरेको थियो । तर अब फटफुट रुपमा मात्रै माग आउने गरेको छ । त्यसमा पनि मिस्त्री, कामदारको अभाव छ । आधुनिक भाडाँहरुको प्रयोग बढेपछि परम्परागत भाँडाका रुपमा रहेको ताप्के र कराहीको माग र उत्पादन दुबै घटेको छ । वीरगंजमा फलामका घरायसी प्रयोजनका लागि चाहिने सबै सामानहरु अशोक बाटिकामा रहेका यि कारखानाहरुले बताउने गर्दथ्यो । ताइ, ताप्के, कराही बाहेक खल, बाल्टिन, बञ्चरो, खुर्पी, किला, तराजु लगायत अन्य फलामे सामानहरु पनि बनाएर यी व्यापारीहरुले आफ्नो लागत निकाल्ने र जीविको टार्ने गर्दथे । तर अहिले त्यस्तो छैन माग पनि शुन्य र कामदारको पनि अभावले गर्दा व्यवसाय नै चौपट हुने अवस्थामा छ ।
कुनै बेला खल र ताई ताप्केको सबैभन्दा बढि व्यापार तिहारमा हुने गरेको वीरगंजको मीनाबजर स्थित सुमन साह ट्रेडर्सका राधेश्याम साहले बताए । त्यो बेला तिहारमा सेल पकाउनका लागि पहाडी समुदायले चामलको पिठो पिस्न खल र पकाउनका लागि ताई, ताप्के खरिद गर्ने गरेको थियो तर अहिले यि समानहरु केही नगन्य व्यक्तिहरुले मात्रै खरिद गर्ने गरेको उनी बताउँछन् । अन्य समयमा ताई ताप्केको बिक्री हुदैनन तर केही वर्ष अगाडी देखी तिहारमा मात्रै एकाध विक्रि हुने गरेको उनि बताउँछन् । तराईबाट पहाडी समुदायहरुको पलायन र विभिन्न बहानामा हुने बन्द र हडतालको कारण पनि ताई ताप्केको व्यापार लोप हुदै गएको उनीहरुको भनाई छ । विगतमा वीरगंजमा काम विशेषले आउने तथा पाहुना लाग्न आउनेहरुले पनि कोसेलीको रुपमा यहाँबाट ताप्के किनेर लाने गरेकोमा हाल उनीहरुको आवागमन घटेपछि ताप्केको बिक्रीमा कमी आएको छ । यस्तै स्थिति रहे वीरगंजको ताप्के अब सामान्य ज्ञानको पुस्तकहरुमा मात्र सिमिति भएर बस्ने दिन आउन सक्ने उनीहरु बताउछन् । वैज्ञानिकले समेत प्रमाणित गरिदिएका छन् । फलाम भन्दा उतम भाडो कुनैपनि हुन सक्दैन अरु भाँडोहरुमा रसायन पदार्थ हुने गरेकाले शरीरमा साइड इफेक्ट हुने गर्दछ । तर फलमको भाँडो परम्परागत भाँडो र विभिन्न अनुसन्धानले सिद्ध भईसकेकाले यस बाहेक कुनै पनि भाँडो उतम नहुने अन्य अनुसन्धानले समेत देखाएको छ ।