वीरगंज । पर्साको बहुदरमाई नगर कार्यपालिका सदस्यको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेसंग तालमेल गरेर मनोनयन दर्ता गराएका छन् ।
सत्तारुढ दलहरुको केन्द्रिय गठबन्धनले कार्यपालिका निर्वाचनमा पनि गठबन्धनकै दलहरु बिच तालमेल गर्न दिएको निर्देशन विपरित जसपाले एमालेसंग तालमेल गरेको हो । ८ जना कार्यपालिका सदस्यको लागि हुने निर्वाचनमा गठबन्धनका सहयात्री दल नेपाली कांग्रेसलाई छाडेर जसपाले विपक्षी दल एमालेसंग तालमेल गरेको छ भने कांग्रेसले एकलै मनोनयन दर्ता गराएको छ ।
नेपाली कांग्रेसका मधेश प्रदेश सदस्य एंम बहुदरमाई नगरपालिकाका निवर्तमान मेयर नितेन्द्र साहले गठबन्धनको निर्देशन अनुसार जिल्लाका नेताहरु बिच छलफल भई कार्यपालिका सदस्यको निर्वाचनमा तालमेल गरेर जान सहमति भए पनि मेयर सिंगासन साहले एमालेसंग तालमेल गरि मनोनयन दर्ता गराएको आरोप लगाएका छन् ।
निवर्तमान मेयर साहका अनुसार नेपाली कांग्रेस पर्साका नेता एंम पूर्वमन्त्री अजय चौरसिया, जिल्ला सभापति जनार्दन क्षेत्री, जसपाका सांसद प्रदीप यादव, जिल्ला अध्यक्ष रामनरेश यादव लगायतका नेताहरुबिच छलफल भई गठबन्धनको निर्देशन अनुसार तालमेल गर्न सहमति भईसके पनि मेयर सिंगासन साहले एमालेसंग तालमेल गरि मनोनयन दर्ता गराएको बताए ।
९ वटा वडा रहेको बहुदरमाई नगरपालिकामा स्थानीय तहको निर्वाचनमा जसपाले नगरपालिकाको मेयरसहितसहित १ वडा अध्यक्ष, एमालेले उपाध्यक्ष सहित ३ वडाअध्यक्ष र कांग्रेसले ४ वडा अध्यक्ष जितेको छ भने एउटा वडाको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
तीन जना दलित वा अल्पसंख्यक सदस्य पदका लागि एमाले र जसपाबाट तीन जना र कांग्रेसबाट तीन जनाको मनोनयन दर्ता भएको हो । एमालेबाट मुखदेव प्रसाद कानु, जसपाबाट प्रदिप गुप्ता र रामरेखा सिंह राजपुतको मनोनयन दर्ता भएको छ ।
कांग्रेसबाट इमाम मियाँ, दिपेन्द्र पंडित कुम्हाल र राजेश्वर प्रसाद साह कानुले उम्मेदवारी दिएका छन् । पाच महिला सदस्यमा एमालेबाट नगिया देवी, समसा खातुन, सुनिता देवी तथा जसपाबाट कुन्ती देवी र तेतरी देवी कनुइनले उम्मेदवारी दिएकी छन् । कांग्रेसबाट भने उषा देवी, प्रमशिला देवी राम, बबिता देवी कुशवाहा, मंजु देवी साह र लालसा कुमारीले मनोनयन दर्ता गराएकी छन् ।