बाराको जीतपुर सिमरा उपमहानगरपालिका ६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्नलाई सार्वजनिक गर्न माग गर्दै स्थानीयले चक्काजाम गरेका छन् ।
हत्याको २२ दिन बितीसक्दा पनि दोषी पत्ता लगाउन प्रहरी चुकेको भन्दै पीडित परिवार सडकमा उत्रिएका छन् । बाराको जीतपुर चोकमा शुक्रबार चक्काजाम गरेका हुन् । घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारवाहीको माग गर्दै चक्का जाम गरेका छन् ।
स्थानीय तह निर्वाचनको एकदिन अगडी मौन अवधीको समयमा आयोजित भोजभतेरका क्रममा २९ गते राती चित्रबहादुरको घरमा भैरहेको जमघट तथा भोजभतेरकै क्रममा पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । चित्रबहादुरले माओवादीको तर्फबाट वडा नं. ६ को सदस्य पदको लागि उम्मेदवारी दिएका थिए तर उनी चुनावमा पराजित भए । उनैलाई जिताउन लागि परेका मृतक पौडेलसहित अन्य ११ जना त्यस भोजभतेरमा सहभागी भएका बेला के कसरी घटना भएको बारे तथ्य बाहिर ल्याइएको छैन् ।
प्रहरीका अनुसार सुरुमा पौडेलको घरको छतबाट लडेर मृत्यु भएको भनिए पनि शव परीक्षण गर्दा टाउकोको पछाडि भागमा धारिलो हतियार प्रयोग भएको भेटिएपछि घटना शङ्कास्पद बनेको हो । पौडेलको टाउको पछाडिको भागमा धारिलो हतियारको प्रहारले घाउ लागेको र हात तथा शरीरका अन्य भागमा चोटपटक लागेको परिवारजनको भनाई छ । घटना भएको दिन राति भाइको मृत्यु भइसक्दा छिमेकी र परिवारलाई कुनै जानकारी नदिनु, घटना भएलगत्तै रातारात घर धोइपखाली गर्नु र प्रहरी प्रशासनले पनि घटनास्थलमा स्थलगत रूपमा कुनै अनुसन्धान नगर्नुले घटना नियोजित र शङ्कास्पद भएको मृतकका दाजु राजेशभक्त पौडेलको आरोप छ । ‘पोस्टमार्टम गर्दा नै डाक्टरले यो लडेर होइन हत्या भएको हो भनेर हामीलाई भन्नुभएको छ’ मृतकका दाजु राजेशभक्तले बताए ।
उता हत्या भएको ११ दिनपछि प्रहरीकोमा स्वयं उपस्थित भएर मृतकबाट जवरजस्तीको प्रयास भएको र आत्मरक्षाका क्रममा घटना घटेको स्विकार गर्ने नावालिगको बाचाउका लागि गरिएको अपील समाजिक सञ्जालमा भाइरल बनेको छ । मृतकका पक्षधरले यो भाइरल गराइएको अपिल साँचो नभएको र यसले अकाल मै परिबन्दमा पारी हत्या गर्ने हत्याराहरु आफ्नो बचाउ गर्न मृतक कै चरित्र हत्यामा अग्रसर बनेको दावि गर्दै आएका छन् । हत्यारा जोगाउन एक नावालिगलाई प्रयोग गरी मृतकको चरित्र हत्या गर्ने प्रयास भएको पौडेल परीवारको आरोप छ ।
घटना भएको २२ दिन बितिसक्दा पनि प्रहरी प्रशासनले वास्तविकता भने अझै सार्वजनिक गर्न सकेको छैन । पछिल्लो समय चौतर्फी रूपमा दबाब सिर्जना भएपछि इलाका प्रहरी कार्यालय सिमराले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दीपेन्द्र सिंह देउजाले सुरुमा घरको छतबाट लडेर मृत्यु भएको भनी सामान्य जाहेरी आएकोले प्रहरीले घटनालाई सोही ढङ्गले लिएको बताए । “जेठ ३ गते मृतकका परिवारका तर्फबाट एक्कासि घटना शङ्कास्पद भन्दै पुनः जाहेरी आयो त्यसपछी हामी प्रकृयामा लाग्यौं” प्रहरी उपरीक्षक देउजाले भने “फेरि ९ गते चित्रबहादुरको नाबालिग छोरीले जबरजस्तीको प्रयास गरेकाले आत्मरक्षाको क्रममा घटना म बाट भएको हो, भन्दै प्रहरीकोमा आइन्, त्यसपछी वास्तविकता के हो भन्ने विषयमा हामीले गम्भीर ढङ्गले अनुसन्धान गरिरहेको प्रतिक्रिया दिएका छन् ।
यसैविच मृतक पौडेलको पर्स घटनाको २२ दिनपछि शुक्रबार भेटिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ६ र वडा नं ३ को सीमानामा मृतकको पर्स भेटिएको प्रहरीले जनाएको छ । पर्स देखेपछि स्थानीय एक वृद्धले खोलेर हेर्दा मृतक राकेश भक्तको फोटो देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पर्स भेटिएको ठाउँ सिल गरी पर्सको मुचुल्का उठाएको छ । पर्समा केहि कागज पत्र भेटिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले बताए ।
घटनाबारे सत्यतथ्य पता लगाउन बारा प्रहरीलाई चौतर्फि दबाब परेको छ ।