राज्य र मातहतका निकायको लापरबाहीका कारण भूकम्पले क्षति पु¥याएका विद्यालयका लागि आएको जस्तापाता पर्साको एक खुला चौरमा तीन वर्षदेखि अलपत्र परेको छ ।
नेपाल खाद्य संस्थानको खुला चौरमा विद्यालयका लागि भनेर आएको जस्तापाता खिया लागेर सड्न थालेकोे छ । खुला चौर र वर्षामा चुर्लुम्म पानीमा डुब्ने तथा बाँकी समयमा घामले गर्दा असरल्ल राखिएको जस्तापाता खिया लागेर सड्न थालेको हो ।
२०७२ भदौमा वीरगन्जस्थित सुक्खा बन्दरगाह हुँदै आइपुगेको जस्तापाता साल्ट ट्रेडिङ कर्पोरेसनले केही समयका लागि राख्न भनी नेपाल खाद्य संस्थान वीरगन्ज शाखाको खुला ठाउँ प्रयोग गरेको खाद्य संस्थान वीरगन्ज शाखाका निमित्त प्रमुख अम्बिकाप्रसाद घिमिरेले बताए ।
तीन वर्षभन्दा लामो समयदेखि यतिकै घामपानीले सड्ने ठाउँमा राखिएको जस्तापाता भूकम्प गएलगत्तै भूकम्पबाट क्षतविक्षत भएको विद्यालयलाई उपलब्ध गराउने भनी कर्पोरेसनले मगाएको आफूले सुनेको उनको भनाइ छ ।
भारतको कोलकातास्थित जिन्दल कम्पनीबाट साल्ट ट्रेडिङ कर्पोरेसनले २०७२ सालको भूकम्प गएलगत्तै मगाई खाद्य संस्थानको खाली जग्गामा राखिएको कर्पोरेसन क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख अमोद लामिछानेले स्विकारे ।
‘सरकारले जस्तापाता खरिद गर भनेपछि साल्ट ट्रेडिङले २५ करोडभन्दा बढीको लागतमा विभिन्न क्षतविक्षत विद्यालयका लागि भनी यो जस्तापाता मगाएको हो,’ उनले भने । जस्तापाता आइसकेपछि भने सरकारको कुनै ठोस निर्देशन नदिँदा जस्तापाता कता पठाउने भन्ने टुंगो नलागेपछि अलपत्र परेको उनको भनाइ छ ।
साल्ट ट्रेडिङले बेवास्ता गरेपछि जस्तापाता लिलाम गरी आफ्नो लागत निकाल्न १४ माघ २०७४ मा पहिलोपटक खुला टेन्डर आह्वान गरेको लिमिटेडले जनाएको छ । टेन्डर आह्वान भए पनि कुनै टेन्डर नपर्दा दोस्रोपटक हुँदै गत ९ जेठमा अन्तिमपटक पुनः टेन्डर आह्वान गरिएको थियो ।
टेन्डर परेको सम्बन्धित मन्त्रालयमा अवगत गराइएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख लामिछानेले बताए । सरकार मातहतको निकायको ठोस जवाफ आएपछि त्यसैअनुरूप आफूहरूले गर्ने उनको भनाइ छ ।