वीरगंज । पाका उमेर समूहका नेताहरुले राजनीतिमा गतिलो काम गर्न सकेनन् भनी निकै आलोचना हुने गरेको थियो । अब भने गतिलो काम नभए त्यो आलोचना पाका उमेरका राजनीतिकर्मी तर्फ मात्र सोझिने छैन । स्थानीय तह निर्वाचन २०७९ को परिणामले स्थानीय सरकारको नेतृत्वमा धेरै युवाहरु पुगेको देखाएको छ । त्यसैले अब स्थानीयस्तरमा राम्रो काम नभए त्यो आलोचना सिधै युवा वर्ग तर्फ पनि सोझिने भएको हो ।
यो पटकको निर्वाचनमा २१ वर्षका युवासम्म पालिकाको नेतृत्वमा पनि पुगेका छन् । युवाको नेतृत्वमा भएका कामले त्यो गुण दोष अब सिंगो युवा वर्गमा पनि पर्ने कुरा प्रष्ट छ । त्यसैले युवा वर्गको समिक्षाको घडी पनि यो निर्वाचन पश्चात सुरु भएको छ । युवाको आगमनकै कुरा गर्ने हो भने मधेश प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही र सप्तरीलगायत पूरै मधेशका जिल्लामा युवा नेताको उदय भएको स्थानीय तहको निर्वाचन परिणामको तथ्याँकले पनि पुष्टि गरेको छ ।
पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार, जिराभवानी गाउँपालिकाका प्रमुख अनोज चौधरी, रौतहट राजपुर नगरपालिकाका नगरप्रमुख डा.राजिक आलम, कटहरिया नगरपालिकाका नगरप्रमुख अजय कुमार जयसवाल, सर्लाहीको रामनगर गाउँपालिकाका राजाबाबु यादव र सप्तरीको छिन्नमस्ता नगरपालिकाका नगरप्रमुख विद्यानन्द चौधरी पनि त्यसै मध्येका युवा नेतृत्वकर्ता हुन् ।
यी युवा नेताहरु मध्ये पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार २१ बर्षीय युवा हुन् । त्यसै गरी सर्लाही रामनगर गाउँपालिकाका अध्यक्ष यादव २२ बर्षीय युवा, सप्तरीको छिन्नमस्ता नगरपालिकाका अध्यक्ष चौधरी २५ बर्षीय युवा, रौतहट राजपुर नगरपालिकाका नगरप्रमुख डा. आलम २७ बर्षीय युवा, कटहरीया नगरपालिकाका नगरप्रमुख जयसवाल २८ बर्षीय युवा हुन् । यता पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष चौधरी ३२ बर्षीय युवा हुन् ।
भारतमा स्नातक अध्ययन गर्दै गरेका कालिकामाईका अध्यक्ष बशिष्ट, बैङ्गलोरबाट व्याचलर इन फार्मेसी मास्टरस् गरेका पर्साको जिराभवानीका अध्यक्ष चौधरी पनि यसै पटक राजनीतिमा आएका युवा हुन् । उनी आफूले पढेको पढाइसँग सम्बन्धित क्षेत्रको औषधी कम्पनीमा लामो समयदेखि कार्यरत थिए । यो पटक एकाएक त्यो जागिरमा राजीनामा दिएर उनी पनि राजनीतिमा होमिएका छन् ।
परिणाम पहिलो पटकमा नै सकारात्मक बन्यो । त्यसै गरी रौतहटको राजपुर नगरपालिकाका नगरप्रमुख डा आलम पनि डाक्टरी पेशा छोडेर राजनीतिमा आए । यी तीनै जना युवाहरु आफ्नो आमा बुबाको राजनीति रिक्ततालाई पूरा गर्न भनी अभिभावकको विरासत जोगाउन पनि राजनीतिमा आएका युवा हुन् ।
सर्लाहीको रामनगरका अध्यक्ष यादव काठमाण्डौको एपेक्स कलेजमा बीबीए पढ्दै थिए । त्यसै गरी रौतहटकै कटहरीयाका अध्यक्ष जयसवाल काठमाण्डौको इन्टिच्यूट अफ मेनेजमेन्टबाट स्नातकोत्तर गरेका र सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष चौधरी पनि पोल्टिकल साइन्समा अध्ययनरत युवा हुन् । यी शिक्षित युवाहरु लगायत देशका अन्य पालिकाहरुमा पनि उपप्रमुख सहित वडाका धेरै तहमा युवाहरुको प्रवेश भएको पालिकाको पछिल्लो निर्वाचन परिणामले देखाएको छ । यसरी युवाहरुको प्रवेशले पाका (
ज्येष्ठ ) उमेर समूहका नेता मात्र अब राजनीतिमा छन् ? र उनीहरुले मात्र काम गरेनन् भन्ने आलोचना गर्न नमिल्ने अवस्था सृजना भने भएको स्थानीयको पनि तर्क छ । राजनीतिमा युवाहरुको आकर्षण भएन ? राजनीतिलाई समाजले बहिस्कृत गरेको जस्तो अवस्थामा एकाएक युवाहरुको राजनीतिक प्रवेश र आकर्षणले हरेक नीतिको मूल नीति राजनीतिबाट मात्र सम्भव छ भन्ने कुरालाई सार्थक बनाउन बल मिल्ने भएको छ ।
केही युवा, अभिभावकहरुको राजनीतिक रिक्तता पूरा गर्न र केही अभिभावकको रवाफको प्रभावले राजनीतिमा प्रवेश गरेको प्रायः समग्रमा देखिएको छ । तथापि उनीहरु समग्रमा चाही सामाजिक चेतनास्तरको विकास, शिक्षा र स्वास्थ्यको स्तरोन्नति, विकास निर्माणमा जोड र द्वन्दरहित समाजको परिकल्पनाका लागि आमूल परिवर्तन गर्न राजनीतिमा आएको बताउँछन् ।
वीरगन्ज घुम्न आएकी काठमाण्डौकी दिपज्योति श्रेष्ठले भने युवाहरुको राजनीति आगमनलाई सकारात्मक भएको बताइन् । तर उनीहरुले पनि पाका उमेर समूहका नेताहरुको जस्तै मात्र कार्य सम्पादन गरे वा भ्रष्टाचारलाई प्रश्रय दिए आगामी दिनमा राजनीति प्रति आम सर्वसाधारणको अझ वितृष्णा बढेर जाने उनको तर्क छ । यसो भए नो भोटको आवाज बढेर जाने श्रेष्ठले बताइन् । युवा नेताहरुले राजनीतिक प्रवेशको साख जोगाउन सक्छन् सक्दैनन् ? भन्ने उनीहरुको कार्य सम्पादनले निर्दिष्ट गर्ने पनि उनको भनाइ छ ।
बुढा नेताहरुले केही राम्रो काम गरेनन् भनी आलोचना गर्ने युवाहरुको प्रतिनिधि पात्रका रुपमा यो पटक राजनीतिमा उदायका युवाको काँधमा समग्र युवाको भविष्य पनि अडेकोले उनीहरुको कामको समिक्षा गर्ने दिन कुर्नुको विकल्प नभएको पर्साकी मनिषा पन्तले बताइन् ।