काठमाडौं । सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रकाश चन्द्र गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ती गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिएका छन्।
यस्ता छन् २२ निर्णय :
१। थाइल्याण्डमा आयोजना हुने ‘गभन्र्नेन्स एन्ड एन्टी करप्सन द मेथड एन्ड टुल्स बिहाइन्ड करप्सन इराडिकेसन स्ट्राटेजी’ विषयक तालिम कार्यक्रमको अनुगमन र समापन कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तद्वय किशोर कुमार सिलवाल र जयबहादुर चन्दलाई सहभागि हुन स्विकृती दिने।
२। विश्व बैंकबाट हरित उत्थानशिल समावेशी विकासका लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर ९करिब रु १२ अर्ब० सहूलियतपूर्ण ऋण सहायता लिन वार्ता टोली गठन गर्ने ।
३। व्यापार तथा निकासी प्रवर्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरद विक्रम राणलाई नियुक्त गर्ने।
४। सामाजिक सुरक्षा ऐन–२०७५ लाई संसोधन गर्न बनेको विधेयकलाई संघीय संसद समक्ष पेस गर्न स्विकृति दिने।
५। तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसद समक्ष पेस गर्न स्विकृति दिने।
६। हातहतियार खरखजाना ११ औं संसोधन नियमावली– २०७९ स्विकृत गर्नेर
७। सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रकाश चन्द्र गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ती गर्ने।
८। नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चाल, सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेस गर्न स्विकृति दिने।
९। अस्ट्रेलियाको ब्रिजवेनमा आयोजना हुने ‘एसिया प्यासिफिक मिनिस्ट्रिअल कन्फरेन्स अन डिजास्टर रिस्क रिडक्सन’ कार्यक्रममा गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई सहभागी हुन स्वीकृति दिने।
१०। भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १२ औं बैठकमा नेपालको तर्फबाट गृहमन्त्रालयको सहसचिवको नेतृृत्वमा प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिने।
११। प्रहरी नायब महानिरीक्षकहरु उत्तमराज जोशी, अरुण कुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ती गर्ने।
१२। लुम्बिनी सांस्कृति नगरपालिकालाई अस्पताल भवन निर्माणार्थ सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने।
१३। गरिबी निवारण कोष सञ्चालन समितिका उपाध्यक्षको राजीनामा स्वीकृत गर्ने।
१४। रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने।
१५। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्ष पदमा सुवास बी शाही र सदस्य पदमा कल्पना दियाकोटीलाई मनोनयन गर्ने।
१६। नेपाल वायु सेवा निगमका महाप्रवन्धन तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने।
१७। औषधी ऐन–२०३५ लाई संसोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने।
१८। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन–२०६६ लाई संसोधन गर्न बनेको विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिने।
१९। मानव अंग प्रत्यारोपण विकास समिति गठन ९तेस्रो संसोधन० अध्यादेश २०७९ लाई स्वीकृति गर्ने।
२०। राजपत्रांकित प्रथम श्रेणीका अधिकृत सुरजकुमार वैद्यलाई नेपाल इन्जिनियरिङ सेवा सामूहिकिकरण तर्फको राजपत्रांकित विशेष श्रेणीमा बढुवा नियुक्ती गर्ने।
२१। लोकसेवा आयोगको सिफारिस बमोजिम निजामती सेवाको नेपाल वन तथा नेपाल शिक्षा सेवाका राजपत्रांकित प्रथम श्रेणी वा सोसरहेको पदमा नियुक्ति गरी पदस्थापन गर्ने।
२२। हाल परीक्षणको रुपमा लागु गरिएको एक हप्ताको दुइ दिन सार्वजनिक बिदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ गतेदेखि लागु हुनेगरी खारेज गर्ने।