वीरगंज । जिल्ला समन्वय समिति पर्साको नयाँ नेतृत्वको लागि मंगलबार भएको उम्मेदवारी दर्तामा सत्ता गठबन्धनबाट बाहिरिए जसपाले एमालेसंग तालमेल गरि मनोनयन दर्ता गराएको छ ।
वीरगंज महानगरपालिकाको मेयर, उपमेयर र बोर्ड सदस्यको निर्वाचनमा कांग्रेससंग गठबन्धन गरेको जसपाले जिल्ला समन्वय समिति पर्साको नयाँ नेतृत्वको लागि आउदो जेठ २७ गते हुने निर्वाचनमा गठबन्धनलाई लत्याएर एमालेसंग तालमेल गरी मनोनयन दर्ता गराएको हो ।
जिससको नेतृत्वका लागि गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र नगर प्रमुख/उपप्रमुखले मतदान गर्न पाउने छन् । १४ वटा स्थानीय तह रहेको पर्सामा नेपाली कांग्रेसका प्रमुख र उपप्रमुख गरी १२ जना रहेका छन् । त्यसैगरि नेकपा एमालेका प्रमुख र उपप्रमुख १० जना रहेका छन् भने जसपाका प्रमुख र उपप्रमुख गरी ५ जना र लोसपाका १ जना प्रमुख रहेका छन् । यी मध्ये सबैभन्दा बढि नेपााली काग्रेसको बहुमत रहेको छ । बढि मत आफूसंग भएकोले जिससका प्रमुख आफूले पाउनु पर्ने सत्तागठबन्धनमा कांग्रेसले दाबी गरेपछि गठबन्धनलाई लत्याउँदै जसपाले एमालेसंग छलफल अगाडी बढाएको थियो । पछि सहमति भएर जसपाले जिसस सभापति सहित ३ सदस्य लिएको छ भने एमालेले उपसभापतिसहित ४ सदस्य लिएको छ ।
जसपाले वीरगंज महानगगरपालिका कार्यपालिका सदस्य निरञ्जन साह सोनार (अजय सर्राफ) लाई सभापति पदको उम्मेदवार बनाएको छ । त्यसतै एमालेले उपसभापतिका लागि बहुदरमाई नगरपालिका वडा नं. १ बाट निर्वाचित वडा सदस्य पुरन पटेललाई उम्मेदवार बनाएको छ ।
यस्तै, गठबन्धनमा कुरा नमिलेपछि नेपाली कांग्रेसले जिराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सरोज चौरसियालाई सभापतिको उम्मेदवार बनाएको छ भने वीरगंज महानगरको वडा नं. ९ बाट निर्वाचित वडा सदस्य कुमारी सोनीलाई उपसभापतिको उम्मेदवार बनाएको छ भने अल्पसंख्यकमा लोसपाबाट प्रेम मुखिया बिनलाई बनाएको छ ।
नेकपा एमाले र जसपाबिच गठबन्धन हुँदा उनीहरुको मतसंख्या १५ पुगिरहेको छ भने कांग्रेसको एक्लै १२ र लोसपाको १ गरि मतसंख्या १३ पुगिरहेको छ । २ मतान्तरले भईरहेको यस जिससको निर्वाचनमा एमाले र जसपाको मत क्रस भयो भने कांग्रेस पनि जित्ने प्रवल सम्भावना द्ेखिन्छ । नत्र जित एमाले जसपा गठबन्धनको जित हुने देखिन्छ । यदि गठबन्धनलाई नै मान्यता दिई मतसंख्या बढि भएको कांग्रेसलाई जसपाले सघाउने तालमेल गरेको भए जिससको सभापतिमा कांग्रेस जित्ने निश्चित थियो ।
गठबन्धनलाई मान्यता दिदै वीरगंज महानगरको मेयर पद छोडेको कांग्रसले पर्सामा बढि प्रमुख, उपप्रमुख जितेकाले आफूले नै जिससको सभापति पद पाउनु पर्ने पटक पटक छलफल गरेपनि मोकामा चौका हान्ने नियत देखाउँदै जसपाले गठबन्धनलाई बेवास्ता गर्दै एमालेसंग तालमेल गरेको प्रति कांग्रेसका नेताहरुले आपती जनाएका छन् । वीरगंज महानगरको मेयर जित्न कांग्रेस बलियो हुुँदा हुँदै पनि गठबन्धनलाई मान्यता दिदै जसपालाई सघाएको थियो ।