आत्माको परमात्मासंगको जोडलाई योग भनिन्छ । शाब्दिक अर्थमा सम्बन्ध अर्थात योग जोड हो । पतञ्जलीको सिद्धान्तनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । वास्तवमा हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उत्पत्ति र लय भइरहेको हुन्छ । योगले मानिसमा आफू भित्र रहेको रोगलाई निरोध गर्न सक्छ । रोगीका लागि योग चिकित्सा पद्धति हो भने निरोगीका लागि जीवन पद्दति हो । योग भनेको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रह्मतर्फ, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असिमित तर्फको आध्यात्मिक यात्रा हो भनी पतञ्जली योग यूवा समिति पर्साका अध्यक्ष नितेश कुमार गुप्ता बताउँछन् । आफ्नो इच्छाशक्तिलाई परआत्माको ईच्छा शक्तिमा संयोग गर्नु पनि योग रहेको उनको भनाइ छ । नेपालमा पनि विभिन्न तवरबाट योगका कार्यक्रम सञ्चालन भइरहेका छन् । योग केन्द्रहरू प्रत्येक टोलटोलमा देख्न पाइन्छ । पछिल्लो समयमा पूर्वीय दर्शनका माध्यमबाट उत्पत्ति भएको योग दर्शनलाई नेपाल र भारतमा सीमित नभई संसारभरी नै महत्व दिइरहेको पाइन्छ । बिभिन्न विद्यालय रिह््याब सेन्टर र कोरोनाको समयमा पर्सा जिल्लाको विभिन्न क्वारेन्टाईनमा पनि योग सिकाइएको थियो । अहिले नेपालमा योग शिक्षक तालिमका लागि पर्यटक समेत आकर्षित हुँदैछन् । विद्यार्थीका रूपमा भर्ना भएर अध्ययन र अभ्यास गरी योग गुरु बनेको पनि उदाहरण भेटिन्छ । योगको यो प्रभाव बढिरहेको समयमा योग सिकाएर जीविकोपार्जन गर्न सक्ने तर्क पतञ्जली योग युवा समितिका अध्यक्ष नितेश कुमार गुप्तासंग यसै सन्दर्भमा गरिएको बिशेष कुराकानी :-
१) वर्तमानमा योगको महत्व कतिको छ ?
योगले मानव स्वास्थ्यमा ठूलो महत्व राख्दछ । योग विना जीवन अधुरो छ । मानिस मात्र यस्तो प्राणी हो । जसले योगको महत्व जान्दा पनि सबैले योग गरेको पाइदैन । योग त्यो प्रक्रिया हो जसद्वारा हाम्रो शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एक साथ समावेश गर्न सकिन्छ । अध्यात्मको प्राप्तिका लागि पनि योग सकारात्मक छ । ठूला ठूला माहात्मा बनेका व्यक्ति पनि सवै योगको माध्यमबाट कुशल भएका उदाहरण पनि छन् । ईश्वरको आराधनादेखि शरीरलाई स्वस्थ तथा स्फूर्ति राख्न र कतिपय रोगहरुको समाधान र आत्मादेखि शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउँमा योगको आवश्यकता पर्दछ । प्राचीन कालमा कलात्मक रुपमा साधाना गर्न तथा ईश्वरको तपस्या गर्न साधु सन्तहरु योगको सहारा लिने गर्दथे । हिन्दु संस्कृति तथा धार्मिक मान्यता अनुसार योगमा अजेय शक्ति छ । अहिलेका मानिसलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कला गर्न सबैले अपरिहार्य छ । योगलाई जीवन पद्धति बनाउनुपर्छ । दैनिक कम्तीमा ३० मिनेट योग गर्नु उपयुक्त छ । १० मिनेट शारीरिक, १० मिनेट स्वास प्रस्वास र १० मिनेट मनलाई आनन्द बनाउने ध्यान ( योग ) खासमा तीन प्रकारका हुन्छ्न् । ज्ञानयोग, कर्मयोग र भक्तियोग ।
ज्ञान योग : गीतामा शिक्षाद्वारा ज्ञानको प्रकाश फैलाएर कामरूपी बन्धनबाट बचाउनु योग भनिएको पाइन्छ । ज्ञानभन्दा शुद्ध चिज संसारमा केही छैन । आत्मज्ञानले ब्यक्तिलाई समाधिसम्मको यात्रा गराउँछ । एक जीवन पद्दति योग भनेको रोगी व्यक्तिहरुका लागि चिकित्सा पद्दति हो । योगको माध्यमबाट रोगी व्यक्तिले आफुलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन् । योगमा जम्मा ८ आसन हुन्छ । याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधी, त्याग । योगा त्यस मध्यको एउटा आसन हो
कर्म योग : भागवत गीतामा कसैले भक्ति पूर्वक गरेको कर्मलाई कर्मयोग भनिएको छ । कर्मयोगमा सर्वप्रथम काम त्याग्नु भनिएको पाइन्छ । कर्म नै पूजा हो । आराधना हो ।
भक्ति योग : भक्तियोगको विषयमा भगवानको सान्निद्य चाहिन्छ भने उसले भगवानको भक्ति गर्नु पर्दछ । यदि कोही योगी मध्ये जसले आफ्नो अन्तःस्करणमा निरन्तर भगवानको चिन्तन गर्छन् उही योगी परमसिद्ध हुन्छ्न् । भगवानसंगको साक्षात्कारको लागि भक्ति योगको मार्ग अवलम्बन गर्नुपर्छ । ऋषि, महर्षि, योगीहरुले यहि मार्ग अवलम्बन गरेको पाइन्छ ।
२) किन आवश्यक छ योग ?
परापूर्वकालमा ऋषिमुनि तथा योगीहरु अदृश्य शक्तिसित आफूलाई जोड्नका लागि योग गर्थे । अहिले बद्लिदो जीवनशैली तथा खानपानका कारण मानिसहरुलाई स्वस्थ रहन पनि योग आवश्यक छ । जब मानिस व्यक्तिगत रुपमा शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुन्छ । त्यसपछि मात्र उसलाई अन्य कुराको चेत आउँछ ।
३) युवा पुस्तामा योग अवस्था कस्तो छ ?
हाम्रो युवा पुस्तालाई अझै योगका बारेमा थाहा छैन । उनीहरु योग भन्ने बित्तिकै बुढेसकालमा गर्ने साधना भनेर ठान्छन् । यसलाई अझै निरन्तरता दिन सकिएको छैन । यसलाई अझ भन्नु पर्दा नेतृत्व तहमा बस्ने र सरकारले पनि प्राथमिता दिने गर्नु पर्छ । योगको नेपाली क्रेजलाई भन्नु पर्दा युवा वर्गमा ज्यादै न्यून आकर्षण छ । सबैभन्दा बढि अर्थात ७५ प्रतिशत गृहिणी छन् । २० प्रतिशत बालबालिका र ५ प्रतिशत युवा रहेका छन् । नेपाली समाज अझै योग शिक्षाका दृष्टिकोणले शिक्षित भएको देखिँदैन । जब रोग लाग्छ अनि योग गर्न थाल्छन् । परिणाम तुरुन्त पाउन सकिँदैन । युवा अवस्थामा योग गर्न थालियो भने योगको प्रभाव पनि राम्रो हुन्छ ।
४) पाठ्यपुस्तकमा योगलाई समावेश गर्न किन सकिन्न ?
विद्यार्थीको शैक्षिक प्रगतिमा बल पुग्ने योगलाई पाठ्यपुस्तकमा राखिनु पर्छ । विद्यालयले संगीत, खेलकुद, साहित्य जस्ता विधालाई जसरी प्राथमिकता दिन्छन् त्यसैगरी योगलाई पनि समेट्नु पर्छ । विद्यार्थीले स्वस्थ्य रहन योग गर्नु पर्दछ । योगलाई आठ अंगमा विभाजन गर्न सकिन्छ । यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउन सकिन्छ । योगलाई पाठ्यपुस्तकमा समावेश गराउदा एकदमै फलदायी हुन्छ र गराउनु अपरिहार्य छ ।
५) कस्ता मान्छेले योग गर्नु हुदैन ?
दीर्घरोग भएकाहरूले योग गर्दा ध्यान दिनुपर्ने हुन्छ । यस्ता मानिसहरूले धेरै परिश्रम लगाएर गरिने योग, शरीर तात्ने खालका योग अभ्यासहरू गर्नु हुँदैन । यसले गर्दा मुटुमा प्रेसर पर्न जान्छ । तनाव लिएर योग गर्नु हँुदैन, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ रोगीहरुले तनावपूर्ण अवस्थामा योग अभ्यास गर्दा मासंपेशी दुख्ने, टाउको दुख्ने जस्ता समस्या पनि देखा पर्न सक्छन् । अहिले योग गर्नेमा धेरै जसो रोगीहरु छन् । उच्च रक्तचाप, मधुमेह, ढाडका रोगी तथा ग्याँष्टिकका विरामीहरु बढी योग तर्फ आकषिर्त छन् । तर, जो कसैले योग गर्दा सुरुमा प्रशिक्षक सित सिकेर मात्र योग गर्न ठिक हुन्छ ।
जटिल समस्या भएमा प्राणायाम, कपालभाती, अनुलोम विलोम गर्न सकिन्छ । तर, शल्यक्रिया गरेको, गर्भवती, पेटमा घाउ वा अल्सर भएका कपालभाती गर्न मिल्दैन । विकारलाई क्षय गर्ने कपालभाती तथा शक्तिलाई सञ्चित गर्न अनुलोम विलोप हो । त्यस बाहेक, सूर्य नमस्कार सबैले गर्न मिल्ने आसन हो । सूर्य नमस्कारमा जम्मा १२ वटा आसन हुन्छ । सबै आसन गर्न भ्याइएन भने पनि सूर्य नमस्कारका १२ वटा आसन र केही बेर प्राणायम गरेमा मात्र पनि शरीर स्वस्थ्य रहन्छ ।
६) योगले शरीरमा अक्सिजनको मात्रा बढाउँछ ?
आजकालको जीवनशैली, गलत खानपानका साथमा शरीरमा अक्सिजनको कमीका कारण अहिले मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् । योगले शरीरमा अक्सिजनको कमीलाई समेत पूरा गर्छ । योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुन्छ । यसले शरीरमा व्यायामको काम गर्छ । जहाँ जहाँ व्यायाम हुन्छ, । त्यहाँ रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढ्छ । जब शरीरमा अक्सिजनको मात्रा बढ्छ, शरीरका सवै अवयवहरु स्वस्थ्य हुन्छन् । यसले रोग प्रतिरोधात्मक क्षमता त बढाउँछ नै, रोगको समेत निदान गर्छ ।
७) पहिलो ध्यान कि योग ?
कम्तिमा मानिसले योगलाई अंगाल्नु पर्छ । त्यसपछि ध्यान पनि बढ्दै जान्छ । बच्चालाई प्रभावित गर्न चकलेट दिनु जस्तै योग गर्दै जाने हो भने ध्यान पनि जोडिदै जान्छ । सुरुमा जगिङ्ग जरुरी छ । जगिङ्ग तथा सूर्य नमस्कारले शरीरलाई तन्काउने काम गर्छ ।
८) योगको नेपाली अवस्थालाई कसरी हेर्ने ?
विभिन्न रोगबाट ग्रसित मानिस रासायनिक मलको कारण पनि बढि पीडित छन् । पहिले खानामा विषादीको प्रयोग थिएन । जसले गर्दा खाना स्वस्थ्य थियो । अर्को कुरा त्यतिबेला यातायातको सुविधा थिएन । मानिसहरु श्रम गर्थे । खानपान राम्रो थियो । पहिलेका मानिसलाई उति रोग लाग्दैनथ्यो । तर, अहिले मानिसहरुसित सुविधा छ, पैसा छ । तर श्रम छैन । अहिलेको खाना स्वस्थ्यकर छैन । खाना विशाक्तले भरिपूर्ण छ । मानिसहरुको शरीरमा भएको विशाक्तता फाल्नका लागि पनि अहिले योग आवश्यक्ता छ । पहिलेका मानिसभन्दा पनि योग अहिलेका मानिसमा बढि आवश्यक छ । तर गर्ने बानी छैन ।