सिमरा । बाराको जितपुरसिमरा उपमहानगर प्रमुख राजन पौडेलले समस्या पर्दा मात्रै सहकार्यका लागि स्थानिय निकाय सम्झीने पुरानो बानी लाई त्याग्न उद्योग वाणिज्य क्षेत्रलाई आग्रह गरेका छन् । बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको बुधबार उद्घाटन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
मेयर पौडेलले साना व्यवसायीलाई समेट्न तथा उनीहरुको समुचित व्यवस्थापनमा विशेष जोड दिनुपर्ने बताए । उनले उद्योगका लागि विरगञ्जबाट भइरहेको विद्युत वितरणलाई सहज बनाउन विरगञ्ज उद्योग वाणिज्य संघ समेतले आवस्यक सहकार्यमा कन्जुस्याईं गर्न नहुने भन्दै यसका लागि आफु सहकार्य गर्न पछी नहट्ने प्रतीवद्धता जनाए ।
कार्यक्रममा संविधान सभा सदस्य शोभाकर पराजुलीले करदातालाई राज्यको पाचौेँ अंगको रुपमा सम्मान गरेर प्रोत्साहन गर्नुपर्ने धारणा राखे । साथै उनले प्राविधिक शिक्षालय खोलेर दक्ष कामदार उत्पादन गर्नु आजको आवस्यकता भएको औंल्याए । उद्योगले दक्ष कामदार नपाउने र स्थानियले रोजगार नपाउने समस्या दिगो रुपमा समाधान गर्नेतर्फ उद्योग वाणिज्य संघका साथै स्थानिय निकाय जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा महिला नेतृ नारायणी रायमाझीले व्यवसाय, उद्यम तथा रोजगारका क्षेत्रमा महिलालाई प्राथमिकता नदिएकोले नेतृत्व तहमा महिलाको सहभागिता न्युन रहेको बताइन् । उनले यस तर्फ सचेत बन्न सम्बन्धित पक्षलाई आग्रह गरिन् ।
कार्यक्रममा कलैया उपमहानगरका नगर प्रमुख विनोद साह, जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारी, उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासँघका केन्द्रीय सदस्य डा. सुबोध गुप्ता, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्मा, सल्लाहकारहरु देवेन्द्र चौधरी, कृष्णव्रत सिंह, गणेशजी साह, युवराज पौडेल, छविलाल शर्मालगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष सञ्जयकुमार साहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई संस्थाले सम्मान समेत गरेको थियो । कार्यक्रमको संचालन सँघका महासचिव शिवजी सोनारले गरेका थिए ।