गएको स्थानीय तहको निर्वाचनमा बाराको करैयामाई गाउँपालिकाको उपाध्यक्षमा विजयी नाम हो चित्ररेखा कुमारी चौधरी । राजनीतिमा लागेको छोटै समयमा उनी स्थानीय सरकार उपप्रमुखको पदमा पुग्न सफल व्यक्तित्व हुन् । निर्वाचनको समयमा उनले पनि अरु उमेद्वारहरुले जस्तो जनता सामु विभिन्न प्रतिबद्धता नगरेको भने होइन । निर्वाचन पूर्व जनता सामु प्रतिबद्धता जनाउन र निर्वाचित भएपछि जनताका काम गर्ने सवालमा कत्तिको सहज छ ? गएको एक बर्षको अवधिमा कस्ता कामहरु भए लगायतका बिषयमा केन्द्रित रहेर मध्य नेपाल सन्देशले यो अंकका लागि उनीसँग गरिएको बिशेष कुराकानी :-
१) करैयामाई गाउँपालिकाको पहिलेको र अहिलेको अवस्था कस्तो छ ?
जनप्रतिनीधि विहिन स्थानीय स्तरले बीस वर्ष पछि जनप्रतिनीधि पाएको छ । जनप्रतिनीधि बिहिन अवस्थामा पनि कार्यहरु नभएका भने हैनन् । तर पहिले भन्दा अहिले जनप्रतिनीधि आईसके पछि हामीले हाम्रो ठाउँ हो भन्ने अवगत गराउन थालेका छौं । आफ्नो गाउँठाउँलाई हामीले नै विकास गर्ने हो भन्ने सोचले आफ्नो सोचेर कार्य गरिरहेका छौ । यहाँ जितेर आएका सबै एकजुट भएर लागेकैले यहाँ पहिलेको भन्दा धेरै विकास भईसकेको छ ।
२) पहिले र अहिले के परिवर्तन भएको छ ?
पहिले सडक, नाला पुलहरु एकदमै जिर्ण अवस्थामा थिए । तर हामीले एक वर्षको कार्या अवधिमा धेरै नै परिवर्तन गर्न सफलभएका छौ । अहिले सडक, नाला, तथापुलपुलेसाहरुको मर्मत भएसकेको छ ।
३) तपाई उपाध्यक्ष भईसके पछि न्यायिक समितिमा के कस्ता समस्याहरु आएको छ ?
गाउँ घरका महिलाहरु अझै पनि शिक्षाको पहुँचबाट टाढा छन् । जसकाकारण पनि उनीहरु ऋाफ्नै अधिकारबाट समेत वञ्चित हुन परेको अवस्था छ । त्यस माथि पनि हाम्रो जस्तो पुरुष प्रधान देशमा महिला पछि पर्नु कुनै नौलो कुरा होइन । यहाँ पुरुषको नै हैकम चल्छ । अहिले पनि महिलाहरुले घरकै काम गर्नुपर्छ । घर भन्दा बाहिर कुनै पनि कार्यक्रममा निस्कनु हुदैन भन्ने सोचबाट समाज मुक्त हुन भने सकेको छैन । त्यसैले पनि हाम्रो गाउँपालिकामा महिला हिंसाका समस्याहरु प्रायः आउने गरेको छ ।
४) न्यायिक पदमा काम गर्दा स्थानीय समस्याहरु के के पाउँनु भएको छ ?
हाम्रो तीन जनाको न्यायिक समिति छ । कार्य गर्दा समस्या त आई नै रहन्छ । न्याय गर्दा या हामीले न्याय दिदा कसै कसैलाई चित्त नबुझेको कुरा हामी देखिरहेको छौ । कुनै कुनै केशमा हामीलाई प्रहरी प्रसाशनको पनि आवश्यकता पर्छ । तर त्यसको व्यवस्था हुन सकेको छैन । जसको कारण हामीलाई कार्य गर्न केही अप्ठ्यारो महसुुस भएको छ । हामीले आफूहरु केही कमजोर भएको महसुस गरेका छौ ।
५) महिलाको विकासको लागि तपाईको गाउँपालिकामा के कस्ता कार्यक्रम तथा तालिमहरु संचालन गर्नु भयो र त्यो कार्यक्रम कतिको प्रभावकारी भएको छ ?
हामीले महिलाहरुलाई लक्षित गरेर सिलाई कटाई, मैन बत्ती अगर बत्ती बनाउने तालिम, गाईभैसी, बाख्रा पालन , कुखुरा पालनका ट्रेनिङ्गहरु संचालन गरेका थियौ । यस्ता कार्यत्रमहरु स्थानीय सरकार आउनु भन्दा पहिला पनि संचालनमा थिए र अहिले पनि भएरहेका छन् ।
तालिम पछि आर्य आर्जनमा लागेका छन् । तर जति मात्रामा कार्यक्रमहरु भएका छन् त्यस अनुरुपको उपलब्धि भने भएको देखिदैन । तालिममा सहभागिता हुन्छ, सिप पनि सिक्छन् । तर सिपको उचित व्यवस्थापन र उत्पादन भएको समाग्रीहरुको बजारीकरण हुन नसकेकाले पनि सिकेका सिपहरु थन्काइएका समान सरहको अवस्थामा छन् । यदि सिकेका सिपहरुको प्रयोग र त्यसबाट उत्पादन हुने समाग्रीहरुको बजारीकरण हुने हो भने स्थानीय स्तरमा संचालन भएका सबै सिपहरुको औचित्य हुने थियो ।
६) यस पटकको बजेटमा कस्ता कस्ता योजनाहरुलाई प्राथमिक्ता दिनु भएको छ ?
हामीले प्रायः गरेर विकासे योजनालई बढी प्राथमिकता दिएका छौ । जस्तो कि एक ठाउँबाट अर्को ठाउँ सम्म जोड्ने सडकको योजना, रोजगारी सृजना गर्ने योजना, महिलाहरुको विकास गरीबि न्यूनिकरण गर्ने , स्थानीय स्तरको आर्थिक विकासका योजनालाई हामीले यसपालिको बजेटमा राखेका छौ ।