काठमाडौँ । खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको छ । तर, यही मौकामा सीमित व्यापारीहरुले चिनीको मूल्यमा मनपरी गरेका छन् ।
नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । संघले सार्वजनिक गर्ने मासिक खुद्रा बजार मूल्य विवरणअनुसार २०७८ असारमा चिनीको मूल्य ९० रुपैयाँ किलो थियो । तर, ११ महिनाको समीक्षा अवधिमा चिनीको खुद्रा मूल्य ११० रुपैयाँ पुगेको संघकी तथ्यांक अधिकृत ज्योती थापाले बताइन् ।
संघका अनुसार सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुगेको चिनीको मूल्य भारतले चिनी निर्यातमा रोक लगाए पछि थप १० रुपैयाँले बढेको हो ।
यता नेपाल चिनी उद्योग संघले भने बजारमा उद्योगबाट चिनी ८१ रुपैयाँ किलोमा बिक्री भइरहेको दाबी गरेको छ । संघ अन्तर्गतका उद्योगबाट उत्पादीत ४० टन चिनी अहिले आफूहरुसँग मौज्दात रहेको पनि उनले बताए ।
खुद्रा बजार मूल्यमा हस्तक्षेप गर्ने सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने भर्खरै चिनी खरिदको प्रक्रिया थालेको जनाएको छ । एक सय टन चिनी खरिदका लागि केही दिनमै प्रक्रिया थाल्ने गरी काम भइरहेको कम्पनीका प्रमुख कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले जानकारी दिए ।
भन्सार विभागकाअनुसार वैशाख अन्तिमसम्म नेपालमा ४ अर्ब ८३ करोड रुपैयाँको ९ करोड ४८ लाख किलो चिनी नेपाल भित्रिएको छ । गत वर्ष यस्तो आयातको परिमाण १८ करोड ५२ लाख थियो भने कुल लागत ८ अर्ब ९१ करोड हाराहारी थियो । चिनीको महँगीमा सरकारल हस्तक्षेप नगरे मिठाइ र बिस्कुट उद्योगहरु समस्यामा पर्ने उद्योगीहरुले बताएका छन् ।