वीरगंज । जिल्ला समन्वय समिति बाराको नयाँ नेतृत्वको लागि सोमबर भएको निर्वाचनमा एमालेको सान्दार जित भएको छ । सत्तागठबन्धनलाई हराउँदै नेकपा एमाले प्रमुख र उपप्रमुख दुबै पदमा विजयी भएको हो । जिसस बाराको प्रमुखमा एमालेका नरेन्द्र साह र उपप्रमुख एमालेकै चण्डिका सापकोटा उप्रेती निर्वाचित भएका हुन ।
जिसस बाराको प्रमुखमा निर्वाचित साहले २० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फबाट नेपाली कांग्रेसका प्रमुखका साझा उम्मेदवार रामदयाल महतोले ९ मत मात्रै प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए ।
यस्तै, जिसस बाराको उपप्रमुखमा एमालेबाटै निर्वाचित चण्डिका सापकोटा उप्रेतीले १७ मत ल्याई निर्वाचित भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फबाट जसपाका उम्मेदवार पवन कुमार व्याहुतले १५ मत ल्याई २ मतको अन्तरले पराजित भएका छन् ।
जिसस बाराको सदस्यतर्फ भने जसपाका ३ जना, एमालेका २ जना र दलित वा अल्पसंख्यक सदस्यमा लोसपाका १ जना निर्वाचित भएका छन् ।
१६ वटा स्थानीय तह रहेको बारामा प्रमुख, उपप्रमुख गरि नेपाली कांग्रेसको ८, नेकपा एमालेको ११, जसपाको ६, माओवादीको १, लोसपाको ४ र साझा विवेकशिल पार्टीको २ मतदाता रहेका छन् । जिसस बाराको निर्वाचनको लागि प्रमुख, उपप्रमुख र सदस्यगरि २२ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचनमा ३२ मत खसेकोमा ३ मत भने बदर भएको थियो ।