- कमला भण्डारी, मध्य नेपाल सन्देश ।
उद्यमी निभा दास अहिले वीरगंज बासीको खासै नयाँ नाम भने होइन् । भारतको विहार राज्यमा जन्मिएकी ५ दाजुभाई र ३ दिदीबहिनी मध्ये सबै भन्दा कान्छी छोरी हुन् दास । उनले विहारको बेगुसरायमा नै बि. ए. सम्मको अध्ययन् पुरा गरेकी हुन् । उनको विवाह प्लस टु अध्ययन्को क्रममा घरपरिवारको राजीखुशीले २०४८ सालमा वीरगंजका डा. अशोक दास सँग बिना दाइजो दुबै परिवारको सहमतिमा सम्पन्न भएको उनले बताईन। नेपाल र भारतको विहारमा दाइजो प्रथाले जकडेको समयमा बिना दाइजो विवाह गरी शिक्षित, साहाशी र परिवर्तनकारी महिलाको रुपमा उदहारणीय पात्र दासका १ छोरा र १ छोरी छन् ।
वैवाहिक जीवनको एक दशक बालबच्चाको लालनपालन र घरयासी काममा अल्झेकी दासले वीरगंजमा पहिलो पटक २०५८ सालमा (किड्स क्वीन २००१) बाल सुन्दरी प्रीतयोगिताको आयोजना गराएर सबैको सामु परिचित भइन् । उनले २०७० सालमा आशाराम हस्पिटलको स्थापना गरी हाल सम्म पनि सक्रिय संचालक भएर काम गर्दै आइरहेकी छिन् । दास आशाराम हस्पिटलको संचालक मात्र नभई उनी, चिकित्सक श्रीमती संघको सदस्य नेपाल रेडक्रस सोसाइटी राधेमाई वीरगंजको महिला उपशाखा सभापति र वीरगंज वेमेन प्रोफेसनल स्किलसको कार्यकारी सदस्य पदमा रहेर विभिन्न सामाजिक कार्य सम्पादन गर्दै आएकी हुन् । उनै सक्रिय महिला उद्यमी तथा आशाराम हस्पिटलका संचालक निभा दास संग मध्य नेपाल सन्देशले गरेको कुराकानी :-
१) तपाई आफुलाई कसरी चिनाउन चाहनुहुन्छ ?
पहिला त म एउटा कुशल, सफल गृहिणी,बुहारी,आमा साथै सक्रिय महिला उद्यमी भनेर चिनाउन चाहन्छु भने म त्यो भाग्यमानी महिला हो ।जसले असल घरपरिवार, असल र फराकिलो विचार भएको श्रीमान पाएको छु । म एक संक्षम र आत्मनिर्भर महिला मेरो परिचय हो ।
२) मेडिकल लाइनमा आउने उत्प्रेरणा कसरी पाउनु भयो ?
म विवाह भएर नेपालमा आउनु अगाडी देखी नै मेरो ससुराले एउटा मेडिसिन पसल संचालन गर्दै आउनु भएको थियो । उहाँलाई सहयोग गर्नका लागि कोही पनि थिएन ।
आफु पनि बि.ए.सम्म अध्ययन गरेको एक शिक्षित महिला थिए । घरको काम सकेर मेडिकलमा गएर ससुराको काममा सहयोग गर्न थाले । निरन्तर औषधी पसलमा बसेर काम गर्दै जाँदा बालबालिकाहरु बिरामी पर्दाको दुःखद अवस्थालाई देखेर हस्पिटल खोलेर केही हद सम्म सहयोग गरांै भन्ने भावना मनमा लागेर म यस क्षेत्रमा लागेको हो ।
३) हस्पिटलको स्थापना कहिले भयो लगानी कति बाट सुरुवात गर्नुभयो ?
हस्पिटल खाल्ने परिकल्पना मेरो मनमा २०६३ सालमा नै आएको थियो ।त्यही सालमा नै मेरो सासु–ससुराको नाममा दर्ता गरे । केही समस्याका कारण हस्पिटल खोल्न सकिएन ।
२०७० सालमा हस्पिटलको स्थापना गर्न सफल भए । हस्पिटलको स्थापना कालमा ३ लगानीमा भवन, बेड,आवश्यक मेसिनहरु खरिद गरेको थिए । ४० जना कर्मचारीहरु थिए ।
४) हस्पिटल स्थापना के कस्ता चुनौतीहरु आए ?
परिवार र श्रीमान बाट मैले सधै नै साथ र सहयोग पाए । समाजका केही व्यक्तिहरुको सामना गर्नुप¥यो । घरको चार दिवार बाट बाहिर निस्केर समाजमा सेवा भावनाले काम गर्न खोज्दा पनि महिलाहरु लाई हौसल्ला बढाउनुको सट्टा महिलाको आँट, साहास र हिम्मतलाई झनै हतोत्साहित पार्न खोज्दथे ।
तपाई हस्पिटल राम्रो संग चलाउन सक्नुहुन्छ त ? तपाईको हस्पिटलको लाईसेन्स नै रद्ध हुन्छ भनेर मानसिक तनाव दिने गर्दथे । तर उहाँहरुले यस्ता प्रश्न उठाइरहदाँ मन हतोत्साहित नभइ झनै उत्साहका साथ काम गरेर देखाउ भन्ने उत्प्रेरणा जागृत हुन्थ्यो ।
म मेडिकल सम्बन्धी विषयहरु नपढी यो क्षेत्रमा आएको भएर कर्मचारीहरु मैले भनेका कुराहरुमा वादविवाद् गर्ने र अलि हेपेर बोल्ने गर्दथे ।
५) तपाईले जीवन के कस्ता अवसरहरु पाउनु भयो ?
म विहारमा जन्मे हुर्केको छोरी हुँ । जहाँ महिलालाई घरभित्र बन्द गरेर राख्थे । विवाह पछि नेपाल आएर घर बाहिर निस्केर काम गर्ने मौका पाए ।
महिला उद्यमी भएर समाजमा आफ्नो पहिचान दिन सफल भएको छु । हाल वीरगंज उद्योग वाणिज्य संघ बाट सक्रिय महिला उद्यमीको रुपमा सम्मान पाएको छु । यो नै मेरो जीवनको ठूलो अवसर हो ।
६) तपाइ आफ्नो उद्यम व्यवसाय बाट सन्तुष्ट हुनुहुन्छ ?
म आफ्नो मेहनत,लगनशिलता र अनुभवका साथ सक्रिय भएर काम गर्दै व्यवसायमा सफल हुदै गए । व्यवसायमा लगानी गरेर आम्दानी लिएर मात्र सन्तुष्ट हुदैन । आफुले गरेको व्यवसायमा समाजले हेर्ने सकारात्मक दृष्टिकोण, समाजले गर्ने माया र संघ–संस्थाले दिने सम्मान नै सबै भन्दा ठूलो हो । यी सबै कुरा मैलै व्यवसायबाट पाएको छु त्यसैलै म आफ्नो व्यवसायबाट सन्तुष्ट छु ।
७) सक्रिय उद्यमशिल महिलाहरु सरकारको सेवा सुविधा पाउन बाट वञ्चित हुुनुको कारण के हो ?
धनाढ्य पुरुषहरु सरकार बाट सेवा सुविधा लिन र थोरै कर तिर्नका लागि आफ्नो श्रीमतिको नाममा उद्योग व्यवसाय दर्ता गरेका हुन्छन् । आफु उद्योगको संचालक भएर काम गरिरहेका हुन्छन् । भने जसको नाममा उद्योग दर्ता छ उ घरमा नै बसिरहेको हुन्छन् । जो महिला उद्यमी आफ्नो नाममा उद्योग दर्ता गरी संचालक भएर सक्रिय रुपमा व्यवसाय संचालन गर्दा पनि सरकार बाट सेवा सुविधा लिन बाट वञ्चित भएका छन् ।
सरकारबाट सर्वेक्षणको आवश्यक छ । जो सक्रिय महिला उद्यमी छ उ मात्र सरकारको सेवा सुविधाको हकदार होस। उसलाई राज्य र समाजका विभिन्न संघ संस्था र तह तप्काले सम्मानित गर्नुपर्दछ । महिलाको नाममा दर्ता गरी पुरुष हावी भएका उद्योगहरुलाई महिलाको नाममा लिने अनुदान तथा सुविधामा सरकारले कटौती गर्नुपर्छ । अनि मात्र सक्रिय उद्यमी महिलाहरु सरकारको सेवा सुविधा लिन र सम्मानित हुने अवसर पाउँछन् ।
८) अन्त्यमा महिला उद्यमीहरु लाई के भन्न चाहनुहुन्छ ?
हरेक काममा चुनौती छ,सबै उद्यमी महिला दिदी बहिनीहरु लगनशिल, मेहनत र इमान्दारीका साथ आफ्नो व्यवसायमा काम गर्दै गए अवश्य सफल हुन्छौ । यो काम मैले गर्न सक्दिन कि भनेर मनोबल घटाउनु हुदैन । हिम्मतका साथ सक्रिय भएर निरन्तर आफ्नो काममा लागि रहनु पर्छ एक दिन अवश्य लक्ष्यमा पुग्न सफल हुन्छौं ।